राष्ट्रपति आज “छोरी” को कार्यक्रममा जान वैकल्पिक मार्ग तोकियो

राष्ट्रपति आज “छोरी” को कार्यक्रममा जान वैकल्पिक मार्ग तोकियो

प्रहरी प्रधान कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि विशेष सुरक्षा व्यवस्था मिलाएको छ । आज साँझ ५ बजे सिस्नुपानी नेपालद्वारा आयोजित ‘छोरी’ नामक हास्यव्यङ्गात्मक कार्यक्रममा सरिक हुने भएपछि उहाँको आउजाउका लागि विशेष सुरक्षा प्रबन्ध मिलाइएको हो ।

राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको अनौपचारिक कार्यक्रममा जाने क्रममा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन खबर संकलन तथा निगरानीका लागि प्रहरी जवानहरुलाई सादा पोशाकमा खटाउन लागिएको कार्यालयले जनाएको छ ।

शीतल निवासबाट बालुवाटार–भाटभटेनी–छातागणेश–नक्साल भगवती–ल्होत्सेचोक–कमलपोखरी–कृष्ण पाउरोटी–कमलादी मोड हुँदै राष्ट्रपति भण्डारी समारोहस्थल जाने रुट तय भएको छ । सोही रुट भएर शीतल निवास फर्किनेसमेत जनाइएको छ ।

वैकल्पिक सवारी मार्गका रुपमा शीतलनिवास –सांग्रिला होटल–लैनचौर–केशरमहल–महेन्द्रशालिक–घण्टाघर–कमलादी गणेशथान तोकिएको छ ।

साथै,खटाइएका प्रहरीलाई ती स्थानमा आफ्नो ड्युटी गर्न र अवाञ्छित गतिविधि हुने सूचना पाए वा भएमा यथाशीघ्र नजिक तैनाथ युनिफर्मवाला सुरक्षाकर्मीलाई खबर गर्न निर्देशन दिइएको छ ।
महानगरीय प्रहरी कन्ट्रोल रुम र कार्यालयको परिचालन कक्षका साथै शाखा प्रमुखसमेतलाई सम्पर्क समन्वयमा रहन सुझाइएको छ ।

टिप्पणीहरू