खडेरीकै कारण किसानको ज्यान गयो

खडेरीकै कारण किसानको ज्यान गयो

कपिलवस्तुलगायत तराईमा परेको खडेरीले आर्थिक,खाद्यान्न समस्या मात्र होइन सामाजिक समस्या पनि बढाएको छ । सिन्चाइ अभावले खेतमै धान सुक्दा अत्तालिएका किसान पानीको जोहोमा छिमेकी र आफन्त संग जुध्न थालेका छन् । २ सातावीच खेतमा सिन्चाइ गर्ने विषयमा मात्र कपिलवस्तुमा १७ वटा झैझगडाका घटनाहरु दर्ता भए । केही मिलापत्रमै सकिए,केही सार्वजनिक मुद्धा दर्ता भए ।

तर आइतबार भने खेतमा सिन्चाइ गर्ने विषयमा किसानहरुवीच विवाद हुँदा एक जना किसानको ज्यान गएको छ । महाराजगन्ज नगरपालिका २ पडरियामा सुक्न लागेको धानमा सिन्चाइ गर्न गएका ६० बर्षीय जब्बार अलि धुनियामाथि छिमेकी किसानको समूहले आक्रमण गर्दा मृत्यु भएको हो । सरकारी ट्युबवेलबाट धुनियाले पाइप लगाएर खेतमा सिन्चाइ गर्दा अर्को पक्षले आफूले पहिले सिन्चाइ गर्नुपर्ने भन्दै अवरोध गरेपछि विवाद सिर्जना भएको थियो । विवादले झडपको रुप लिएपछि धुनियाले घट्नास्थलमै मृत्युवरण गरे भने कुटपिटमा संलग्न अरु ६ जना हत्या अभियोगमा पक्राउ परे ।

जिल्ला प्रहरी कार्यालयका उपरिक्षक प्रेमबहादुर बस्नेतले दुबै पक्षवीच विवाद भएको र मृतकलाई दोश्रो पक्षले फलामको रड वा त्यस्तै कुनै वस्तुले टाउकोमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । घटनामा संलग्न स्थानीय ६८ बर्षका अब्दुल हक र उनका छोराहरु अब्दुल मुकिम, अरबाज खानसहित ६ जना रहेका छन् भने १ जना अब्दुल हकिम फरार रहेको प्रहरीले जनाएको छ । शव कपिलवस्तु जिल्ला अस्पताल पुर्याएको र समातिएकामाथि कर्तव्य ज्यानसम्बन्धी मुद्धा दर्ता गर्ने तयारी रहेको प्रहरीको भनाई छ ।

जिल्लाको धान रोपाई गरिएको ७० प्रतिशत भू–भागमा सिन्चाइ अभावले धान खेत सुक्दै गएका छन् । थोरधेर भएका पानीका मुहानमाथि किसानले कब्जा गर्ने विषयमै सबैभन्दा बढि विवाद भइरहेको छ । जसका कारण दैनिक झै झगडा र सामाजिक सदभाव समेत बिग्रदै गएको प्रहरीको भनाई छ । पानीको विवादले पालिकाहरुका न्यायिक समिति,प्रहरी कार्यालयहरु,जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी तथा जाहेरी पर्न थालेका छन् । सिन्चाइको पर्याप्त सुविधा नहुनु,भएका जलश्रोतमा पनि स्थानीय ठूलाबडाले कब्जा गर्नु,सिन्चाइ गर्न आवश्यक इन्धन महंगो हुनुले पनि किसानको समस्या बढाएको सामाजिक अभियन्ताहरु बताउँछन् । स्थानीय तथा प्रदेश सरकारले सिन्चाइलाई प्राथमिकतामा नराखेकै कारण यस्ता समस्या बर्षेनी आउने गरेको उनीहरुको भनाई छ ।

टिप्पणीहरू