राष्ट्रसंघीय महासचिवको भनाइप्रति उत्तर कोरिया बेखुशी

राष्ट्रसंघीय महासचिवको भनाइप्रति उत्तर कोरिया बेखुशी

दक्षिण कोरियाको औपचारिक भ्रमणमा जानुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको राजनीतिक टिप्पणीप्रति उत्तर कोरियाले चर्को प्रतिक्रिया जनाएको छ । महासचिवले हालै सिउलमा व्यक्त गरेको एकपक्षीय राजनीतिक धारणाको उत्तर कोरियाका उप विदेशमन्त्रीले कडा शब्दमा आलोचना गरेका हुन् ।

महासचिव एन्टोनियोले उत्तर कोरियाको पूर्ण, प्रमाणित र अपरिवर्तनीय निशस्त्रीकरणमा पूर्ण समर्थन गर्दै उक्त कार्य क्षेत्रीय शान्ति हासिलको निम्ति महत्वपूर्ण रहेको बताउनुभएको थियो । तर उत्तर कोरियाको बुझाइमा कोरियाली प्रायद्विपको शान्ति र सुरक्षा अन्य देश र समूहको गतिविधिसँग जोडिएको छ । यस्तो अवस्थामा राष्ट्रसंघको बडापत्र विपरित महासचिवले एकतर्फी र विभेदपूर्ण ढंगले राखेको धारणाप्रति उसले दुःख व्यक्त गरेको छ ।

अन्तर्राष्ट्रिय समाजमा पनपच्छे हुनेगरी व्यक्त धारणाको उत्तर कोरियाले विरोध गर्दै आफूले राष्ट्रसंघीय बडापत्रको अक्षरश: पालना गर्दै आएको स्मरण गराएको छ । महासचिवको धारणाले कोरिया प्रायद्विपको राजनीतिक इतिहास र वास्तविकतालाई तोडमरोड गरेको उसको ठहर छ ।

उसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिका विश्वमा सबैभन्दा धेरै परमाणु हतियार बनाउने मुलुक हो । अमेरिका नै त्यस्तो हतियार दुरुपयोग गर्ने एक मात्र मुलुक हो । त्यसैले राष्ट्रसंघीय महासचिवलाई अन्तर्राष्ट्रिय न्यायको सम्मान गर्न, सबै मुलुकको स्वाधिनताको रक्षा गर्न आग्रह गर्दछौं । आगामी दिनमा यस्ता अमानवीय र भेदभावपूर्ण शब्द प्रयोग नगर्न आग्रह गर्दछौं ।’

टिप्पणीहरू