बेलायतका स्कुले विद्यार्थीभाथि के के छन् सुविधा र बन्देज ?

बेलायतका स्कुले विद्यार्थीभाथि के के छन् सुविधा र बन्देज ?

बेलायत लोककल्याणकारी राज्यको अग्रणी देशमध्ये एक हुनुका साथै लामो इतिहास बोकेको पुरानो राज्य पनि हो । यहाँको सामाजिक सुरक्षाका विविध माध्यम बलिया र भरपर्दा छन् । बेलायतमा सबै बालबालिकालाई शिक्षा निःशुल्क र अनिवार्य छ र बिनाकुनै महत्वपूर्ण कारण (जस्तै बिरामी) बाहेक विद्यालयमा उपस्थित भएन भने आमाबाबुले नै जरिवाना तिर्नुपर्ने हुन्छ । प्रत्येक दिन दुई पटक हाजिर गर्ने चलन छ । स्वीकृति र जानकारीबिना कुनै विद्यार्थी अनधिकृत रूपमा उपस्थित रहेमा जरिवाना तिर्नुपर्ने, अदालत जानुपर्ने हुँदा छोरा छोरी ठीक समयमा स्कूल पुगे नपुगेको हेर्ने जिम्मा अभिभावकको हुन्छ ।

एक शैक्षिक सत्रमा ९० प्रतिशतभन्दा कम हाजिर भएमा, बिना स्वीकृति विदा बसेमा, दश पटकभन्दा बढी ढिलो स्कूल पुगेमा, विशेष कारण देखाएर छुट्टी लिने तर बजार घुमेको देखिएमा त्यस्ता अभिभावकलाई स्कूलले जनही ६० पाउण्डको दरले जरिवाना तिराउन सक्छ । त्यस्तो जरिवाना २१ दिनभित्र भुक्तानी गरिएन भने २८ दिनसम्म १२० पाउण्ड तिर्नुपर्ने हुन्छ । समयमा जरिवाना तिर्न आएन भने अदालत जानुपर्ने हुन्छ । त्यस्तोमा पहिलो पटक एक हजार र दोश्रो पटकदेखि २५ सय जरिवाना वा तीन महिनासम्म कैद सजायँ पनि हुन सक्छ ।

बेलायतमा पहिलो बच्चा जन्मेपछि प्रत्येक चार हप्तामा २१.८० पाउण्डका दरले बैंक खातामा जम्मा हुन्छ । त्यसपछि भने १४. ४५ पाउण्डका दरले पाइन्छ । बाबु, आमा वा हेरचाह गर्ने व्यक्तिमार्फत यो सुविधा पाइन्छ । श्रीमान्श्री/मतीको छुट्टाछुट्टै कमाइ साठी हजार पाउण्डभन्दा बढी भयो भनेचाहिँ यो सुविधा पाइँदैन । पचासदेखि साठी हजार कमाउनेले भने यसरी पाउने रकममा पनि ट्याक्स तिर्नुपर्ने हुन्छ । यो सुविधा २० वर्षसम्म हुन्छ तर सोह्र वर्षपछि औपचारिक शिक्षा लिन छाड्यो भनेचाहिँ रोकिन्छ ।

नेपालमा हुँदा रेड बुक भनेपछि माओको कम्युनिष्ट सिद्धान्तले भरिएको किताब बुझिन्थ्यो । कान्छी छोरी जन्मिने बेला भन्दा केही समयअगाडि स्थानीय जिपीमा महिला स्वास्थ्य कार्यकर्ताले यो रेडबुक अर्थात् व्यक्तिगत बाल स्वास्थ्य रेकर्ड ९एऋज्च्० हो यसमा बच्चाको तौल र उचाइ, खोपहरू र अन्य महत्वपूर्ण जानकारीसहित रेकर्ड राखिने बतायो । हरेक पटक बेबी क्लिनिक वा न्ए मा जाँदा आफ्नो बच्चाको रातो किताब पनि साथमा लैजानुपर्ने हुँदोरहेछ । यसमा आफ्नो बच्चालाई भएको कुनै पनि रोग वा दुर्घटना वा तिनीहरूले प्रयोग गरेको कुनै पनि औषधि उपचार सम्बन्धित जानकारी लेखिने हुँदा बाल विकासमा देखिएका सबै उतारचढावबारे जानकारी लिन र आवश्यक कदम चाल्न सहज हुने रहेछ ।

प्रायः विकसित देशमा घरजम गर्ने, विवाह गर्ने, परिवार बनाउने, काम तथा उमेरले सेवानिवृत्त भएपछिको जीवन कसरी बिताउने भन्नेबारे धेरैले योजना बनाएका हुन्छन् । यसमध्ये पनि विशेषतः नयाँ प्रकारको जीवनशैली वा अति नै दायित्वपूर्ण जीवन हुने भएर होला बच्चा बनाउने विषयमा भने निकै सतर्क रहन्छन् । त्यसो त अहिले प्रायःजसो युवाहरू विवाह नै नगर्ने, सँगै बसे पनि सन्तान नजन्माउनेतर्फ उन्मुख भएका देखिन्छन् । त्यसमाथि पनि समलिंगीय जीवन पद्धतिमा देखिएको बढावाले गर्दा सबैले बच्चा बनाउनुपर्छ भन्ने मान्यतामा ह्रास आएको देखिन्छ ।

तर, जो जसले दाम्पत्य जीवनपछि सन्तान बनाउने योजना बनाउँछ उनीहरूले यसबारे निकै छलफल तथा तयारी गरेका हुन्छन् । यो सधँै आफूले चाहेजस्तो त हुँदैन तर सामान्यतः जोडीहरूले सेप्टेम्बर वा अक्टोबरको सुरुवाततिर आफू आमा बुबा बन्न रुचाउँछन् । यतिबेला धेरै गर्मी वा जाडो नहुनु त एउटा कारण रह्यो नै मुख्यतः विद्यालय शुरुवात गर्नको लागि यो समय अति उत्तम मानिन्छ । त्यसमा पनि केही महिनापछि नै क्रिसमससहित नयाँ वर्षको चाडबाड र छुट्टी हुने हुँदा यो समय धेरैले रुचाउँछन् ।

विकसित देशमा बाल हेरचाहको लागि हाम्रोजस्तो अवस्था हुँदैन । सबै जिम्मेवारी आफैँले व्यहोर्नुपर्ने हुँदा सरकारले नै हुनेवाला आमाबुबालाई आफँै तयार हुन विविध सेवा प्रदान गरेको हुन्छ । सबै गाउँ–शहरमा गर्भावस्थाको शुरुमै बच्चा हेरचाहसम्बन्धी परिचयात्मक कक्षा सञ्चालन गरिन्छ । प्रायः सबै ठाउँमा बाल केन्द्रको पनि व्यवस्था गरिएको हुन्छ । यहाँ ५ वर्षसम्मका बाल बालिकालाई आधिकारिक शिक्षा प्रदान गर्नुअगाडि तयारी कक्षा सञ्चालन गरिन्छ । युकेमा विभिन्न प्रकारका बाल हेरचाह केन्द्र उपलब्ध छन् । सन् २०२० को एक तथ्यांकअनुसार इङ्ल्याण्डमा मात्र ७२०४४ बाल हेरचाह केन्द्र थिए । प्रायः यस्ता केन्द्र भने निजी हुने गर्छन् । जुन सामान्यतया महँगा हुन्छन् । सामान्यतः पाँच वर्ष उमेर लागेपछि मात्रै विद्यालयमा अनिवार्य औपचारिक शिक्षा शुरु हुन्छ ।

उमेरको आधारमा विद्यालय शिक्षालाई पाँचदेखि ११ वर्षसम्म प्राइमरी, ११ देखि १६ वर्षसम्म सेकेण्डरी र अन्तिम दुई वर्ष सिक्स्थ फर्म स्कूल वा कलेजमा पढाइन्छ । निजी र सरकारी वा सामुदायिक दुई प्रकारका विद्यालय हुन्छन् । यसबाहेक बेलायतमा आफ्ना बालबालिकालाई घरमै पूर्ण शिक्षा दिन सक्ने व्यवस्था पनि गरिएको छ । यसको अनुगमन भने सरकारी निकायबाट हुने र तोकिएका परीक्षा उत्तीर्ण हुनुपर्ने हुन्छ । सन् २०१९ मा इंगल्याण्डमा मात्र ६०,५०० विद्यार्थीले घरमै पढेका थिए । अहिले यो संख्यामा झण्डै ४० प्रतिशत वृद्धि भएको देखिन्छ । विश्वमै सबैभन्दा पहिला सन् १७१४ मा बेलायतको क्रोएड्नमा सहशिक्षा शुरु भएको थियो । बेलायतमा २३० भन्दा बढी केटीका लागि पढाउने र दुई सय हाराहारीमा केटाहरूलाई मात्र पढाउने विद्यालय छन् । बेलायतभरि नै आफू १६ वर्ष उमेर पुगेपछि पढाइ छाड्न सक्छन् ।

विद्यालय शिक्षापछि धेरै विद्यार्थी सीपमूलक कलेजमा गई जीवन गुजारा गर्ने चलन छ । सन् २०२० को एक तथ्यांकअनुसार यहाँ १८ वर्ष उमेर पुगेका ३७.००% युवाले मात्र उच्च शिक्षा (स्नातक तह) अध्ययन गर्न तयार भएको पाइन्छ । जुन अहिलेसम्मकै अधिक हो । त्यसमा पनि स्नातकोत्तर गर्नेको संख्या २५ प्रतिशत मात्रै छ । कन्जरभेटि प्रधानमन्त्री हेरोल्ड म्याकमिलनको पालामा नयाँ शिक्षा ऐन १९६२ पारित भएपछि यो देशमा उच्च शिक्षा हासिल गर्न बेलायती र युरोपियनले कुनै शुल्क तिर्नु परेन । तर, यो सुविधा ३६ वर्षपछि लेबोर प्रम टोनी ब्लेयरको पालामा आएर कटौती गरिएसँगै सन् १९९८ देखि फेरि शुल्क लिन थालियो । शुरुमा प्रतिवर्ष १ हजार तिर्नुपर्ने थियो । तर पटक पटकको परिवर्तन पछि सन् २०१७ देखि भने इंग्ल्याण्डमा ग्य्राजुयट विद्यार्थीले प्रतिवर्ष ९२५० पाउण्ड तिर्नु पर्ने भयो ।

हुने खानेहरूको हकमा त्यस्तो हुन पनि सक्छ तर बहुसंख्यकका निम्ति नेपालमा जस्तो यहाँ पढाइ खर्च घरबाट व्यहोर्ने सम्भावना हुँदैन । पैसाकै कारण उच्च शिक्षाबाट वञ्चित हुनु नपरोस् भनेर सरकारले नै छुट्टै स्टुडेन्ट फाइनान्स कम्पनीमार्फत ऋण उपलब्ध गराउँदै आएको छ । ऋण न्यून ब्याजसहित काम गरेपछि फर्काउनुपर्ने हुन्छ । यो वर्षसम्म वार्षिक २७,२९५ कमाइ भएपछि सोको ९% कटाएर मात्रै तलब पाइने, ३० वर्षसम्म तिर्नुपर्ने र त्यसपछि बाँकी भए पनि तिर्नु नपर्ने व्यवस्था छ जुन नियम अर्को वर्षबाट भर्ना हुनेहरूका लागि अलि फरक हुनेछ । त्यसअनुसार कमाइ २५ हजार पुगेपछि फिर्ता गर्नुपर्ने र ४० वर्षसम्म तिर्नुपर्ने हुन्छ । अहिलेसम्मको व्यावहारिक पक्ष हेर्दा यसरी लिएको ऋण धेरैले तिर्न सकेका छैनन् ।

इङ्ल्याण्डमा मात्र प्रत्येक वर्ष लगभग १५ लाख विद्यार्थीलाई २० बिलियन पाउण्ड (नेपाली झण्डै तीन खर्ब ६० अर्ब) ऋण दिइन्छ । मार्च २०२२ को अन्त्यसम्म बिद्यार्थीलाई कूल ऋण १८२ बिलियन पुगेको छ । एक जना विद्यार्थीले कलेज सकेर बाहिर आउँदा प्रमाणपत्रसहित झण्डै ४६ हजार पाउण्ड (झण्डै ७० लाख)बराबरको ऋण बोकेर आएको हुन्छ । कुनै पनि देशको भविष्य भनेको त्यहाँको बालबालिका हुन् । तिनैको भविष्यसँग कुनै पनि देशको भविष्य जोडिएको हुन्छ । त्यसैले कुनै पनि राज्यले व्यावहारिक शिक्षामा के कसरी लगानी गरेको हुन्छ त्यो अति नै महत्वपूर्ण विषय हुन जान्छ । बालबालिका र शिक्षामा गरिएको लगानीको आधारमै बेलायतले संसारमा आफूलाई अति विकसित देशमध्ये अग्रस्थानमा उभ्याउन सफल भएको प्रमाणित हो ।

(लामो समयदेखि बेलायतमा बसोवास गर्दै आएका लेखक सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन्।)

टिप्पणीहरू