जीप दुर्घटनामा दुई डिएसपीसहित छ घाइते

जीप दुर्घटनामा दुई डिएसपीसहित छ घाइते

रुकुम पूर्वमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु चढेको जीप दुर्घटना भएको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ११, सेरामाथिको मोडमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको जीप दुर्घटना भएको बताइन्छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख नायव उपरीक्षक प्रकाश डाँगीसहित चार जना घाइते भएका छन् । उनीसँगै सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायव उपरीक्षक रविन श्रेष्ठ पनि घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये गम्भीर घाइते प्रहरी जवानलाई थप उपचारार्थ अस्पताल पुर्याउन नेपाली सेनाको हेलिकोप्टर आउन लागेको जनाइएको छ । गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकोप्टर उद्धारका लागि घटनास्थलमा पुग्न लागेको बताइन्छ ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु. १ झ ६६० नम्बरको जीप सडकबाट ८० मिटर तल खस्दा प्रहरीका डिएसपी डाँगीको टाउकोमा गहिरो चोट लागेको छ । प्रहरी लक्ष्मण बुढा गम्भीर घाइते भएका छन् । जीपमा दुई प्रहरी संगठनका जिल्ला प्रमुखसहित छ जना सुरक्षाकर्मी सवार रहेकोे बताइएको छ ।

टिप्पणीहरू