एमालेले चोलेन्द्रलाई जोगाउन खोजेको माओवादी नेताको आरोप

एमालेले चोलेन्द्रलाई जोगाउन खोजेको माओवादी नेताको आरोप

नेकपा माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले नेकपा एमालेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई जोगाउन खोजेको आरोप लगाएका छन् । आज प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश राणाबिरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

महाअभियोग पारित हुन दुई तिहाई चाहिने भन्दै त्यसको निम्ति प्रतिपक्षको सहयोग आवश्यक पर्ने उल्लेख गरे । साथै, सांसद गजुरेलले प्रतिपक्ष दल एमाले महाअभियोग पारित गराउनेतर्फ नलागेको आरोप समेत लगाएका छन् । एमालेले जबरालाई जोगाउने गरी बोल्दा जनताको नजरबाट गिर्ने डरले जिब्रो चपाएर कुरा गरेको उनको दाबी छ ।

सत्तापक्ष, प्रतिपक्ष सबै एक ठाउँमा आएर यसमा छिटोभन्दा छिटो सहमति हुनुपर्ने भन्दै उनले भने, ‘महाअभियोग प्रतिपक्षले सहयोग नगरी पारित हुँदैन । तर, आज प्रतिपक्ष जिब्रो चपाएर कुरा गरिराखेको छ । यहाँ सोझै बोल्न गाह्रो छ । प्रतिपक्ष जोगाउन चाहिराखेको छ । सोझै बोल्दा जनताको नजरमा आफ्नो पार्टीको छबि, व्यक्तिको छबि गिर्छ, यस्तो गर्नुहुन्न । ‘

टिप्पणीहरू