साउनमा बार्ने, अरुबेला मार्ने–डकार्ने अनि कसरी शिवले सकार्ने ? « Jana Aastha News Online
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022

साउनमा बार्ने, अरुबेला मार्ने–डकार्ने अनि कसरी शिवले सकार्ने ?

प्रकाशित मिति :  १९ श्रावण २०७९, बिहीबार १८:००


साउन महिना चलिरहेछ अहिले । यो महिना मान्छेहरुले प्रायः माछामासु खाँदैनन् । अरु दिन खाएपनि साउनको सोमबार थुप्रैले बार्छन् । पार्वतीले कठोर निराहार व्रत बसेर महादेवको पूजा–आराधना गरी शिवलाई स्वामी पाएको कथन छ । साउन महिना शिव भगवानको सबैभन्दा प्रिय महिना मानिन्छ । त्यसैले अविवाहित महिलाहरु आफूले चाहेको तथा राम्रो योग्य वर पाउँ भन्दै र विवाहिताहरु पनि पतिको दीर्घायु एवम् सुखद् जीवनको कामना गर्दै साउनमा व्रत बस्ने चलन छ । पुरुषहरु पनि मंगल–कल्याणका निम्ति साउनलाई पवित्र रुपमा मनाउँछन् । खासगरी साउनको सोमबार शिवको विशेष पूजाआजा गर्ने गरिन्छ । शिवको भक्ति बिटुलो नहोस् भनेर मान्छेहरुले यो महिना माछामासु नखाएका हुन् । किनकि माछामासु भनेको हत्या–काटमार गरेर, अरुको आत्मा र शरीर मारेर खाने चीज हो । यो अपवित्र कार्य हो ।

तर साउनको सोमबार वा साउन महिना मात्र माछामासु बारेर शुभ फल प्राप्त हुँदैन । वास्तवमा बाहै्र महिना वा कुनै पनि दिन अरुलाई मारेर खानु ठिक होइन । जहिले मारेपनि, जहिले खाएपनि ती निहत्था प्राणीको क्रन्दनले सरापिरहेको हुन्छ । मान्छेमा दया–करुणा, बुद्धि–विवेक भरेर सबैभन्दा सर्वश्रेष्ठ प्राणीको रुपमा सृष्टि गर्ने ईश्वरीय शक्तिले पनि हामीलाई धिक्कार्छ ।

साँच्चै शिव भगवान छन् भने साउन र सोमबारको मात्र होइन, हरदिन, हरमहिना, हरवर्ष अर्थात् हाम्रा हरेक कर्मको लेखाजोखा हुन्छ उनीसँग । त्यही अनुसार मानिसलाई कर्मको फल भोगाउँछन् । वर्षभरि वा अरु सबैदिन पापकर्म गर्ने अनि हप्ताको एकदिन वा महिना दिन धर्म गर्न खोज्दैमा शुभ फल कसरी मिल्छ ? अपराध त एकदिन वा एकछिन गरेपनि अपराध नै हो । अन्जानमा भएको गल्तीलाई ईश्वरले पनि माफ गर्छन् तर जानीजानी, बुझीबुझी बारम्बार गरिने दुष्कर्म ईश्वरलाई कदापि स्वीकार्य हुँदैन ।

सबै प्राणीको भलो गर्न र यस संसारलाई सुन्दर, प्रेममय बनाउन ईश्वरले हाम्रो मगजमा बुद्धिविवेक भन्ने चीज घुसाइदिएका हुन् । तर हामी आफ्नो स्वार्थका निम्ति यति बाठो भइदियौं कि लाटोसोझोको त जीवन नै होइन जस्तो गरिरा’छौं । मै हुँ सर्वेसर्वा, मैले जे गरेपनि हुन्छ भन्ने भ्रममा परेर मानिसले सीधा, निर्धा प्राणीमाथि निर्दयी ढंगले शासन चलाइरहेको छ । तर उनीहरुको आँसु त हामीलाई लाग्छ, लाग्छ । रोएको आत्माले दिएको श्रापले एकदिन अवश्य पिरोल्छ ।

हामीले आफ्नो जिब्रोको स्वादका निम्ति मारेर खाने कुखुरा, बाख्रा, गाईभैंसी लगायतका पशुपक्षीको पनि त आत्मा हुन्छ । उनीहरुलाई पनि त चोट लाग्दा दुख्छ, मन रुन्छ । हामीलाई जस्तै उनीहरुलाई पनि स्वतन्त्र भएर हिँडडुल गर्ने रहर नहोला ? वनको चरी वनमै रमाउने होइन र ? वनपाखामा डुल्दै आफ्नै समुदायमा रमाउन चाहने ती प्राणीलाई हामीले आफ्नो फाइदाका निम्ति बन्धक बनाएर राखेका छौं । गोठखोरमा बाँधेर हुर्काई काट्छौं, बेच्छौं, राक्षसले झैं तिनको हाडछाला, मासु लुछ्छौं । हामीलाई अलिकति काट्दा वा कतै ठोक्किँदा पीडा हुन्छ भने तिनको पनि त हाम्रो जस्तै शरीर हो । तिनले पनि त एकअर्कालाई माया गर्छन्, बच्चा जन्माउँछन् । जसरी हामी आफ्नो परिवार वा बालबच्चालाई माया गर्छौं, तिनले पनि त गर्छन् । अरुबाट जोगाउन एउटा कुखुराको माउले समेत कसरी आफ्ना चल्लालाई ढाक्छे ? हामी सबैले देखेकै कुरा हो । तर अपसोच हामी मान्छे बच्चै हुन नदिएर उसको अण्डासमेत खाइदिन्छौं ।

आफ्नो बालबच्चा र परिवारका मान्छेलाई केही नराम्रो नभए हुन्थ्यो, आफू पनि मर्नै नपरे हुन्थ्यो, कुनै चोट वा दुःखले कहिल्यै नघेरे हुन्थ्यो भन्ने छ हामीलाई । कतै थुनिएर बस्नुपर्दाको कल्पना मात्र पनि हाम्रा लागि भयावह हुन्छ । यस्तै अरुको दर्द पनि मान्छेले बुझ्नुपर्ने होइन ? तर हामी त आफ्नो सोख र स्वार्थका लागि गाईवस्तु र कुखुराभाउलाई खोरगोठमा बाँधेर पाल्छौं । चरा र कुकुरहरुलाई पिँजडामा थुनेर राख्छौं । पशुपन्छीका बालबच्चालाई सानैमा माउबाट छुटाएर बेचिदिन्छौं पनि । हाम्रा लागि पारिवारिक बिछोड अत्यन्त पीडादायी हुन्छ भने अरुलाई हुँदैन ? गाईभैंसीको दूध पनि तिनका बच्चालाई अघाउञ्जेल खान नदिएर दुहुन्छौं हामी ।

हाम्रो जस्तै तिनको पनि त एकबारको जीवन हो । मरेपछि सकिन्छ, जति हाम्रो लागि आफ्नो जीवन अमूल्य छ, तिनको पनि जीवन अमूल्य नै हो । तर हामीले तिनको मूल्य तोकिदियौं, व्यापारको साधन बनायौं । थुनेर, मारेर मूल्यहीन नै बनाइदियौं उनीहरुको जीवन । यसरी मान्छेले यस धर्तीका अरु प्राणीको जीवनमा खेलबाड गर्छ भने मान्छेको जीवनमा पनि प्रकृतिले खेलबाड गर्नु स्वभाविक हो । त्यसैले दुःख–कष्ट अर्थात् रोग, भोक, शोकमा जेलिएको छ मानिस । पलपल मर्दै बाँच्नुपरेको छ हामीलाई ।

यो दुनियाँमा खानेकुरा कति छन् कति । एकसेएक स्वादिष्ट, स्वास्थ्यवद्र्धक खाद्यान्न, तरकारी, फलफूल थरीथरी दिएको छ प्रकृतिले हामीलाई । तरपनि अरु प्राणीलाई मारेर खानुपर्ने अघोर पापमा चुर्लुम्म भयौं हामी । अरे, दुई दिनको जीवन सबैलाई आ–आफ्नै ढंगले बाँच्न दिउँ । आफू पनि बाचौं, अरुलाई पनि बचाऔं । केही खानेकुरा नभएर भोकै मर्नुपर्ने अवस्थामा माछामासु खानु पाप नहोला तर खानेकुराहरु प्रशस्त हुँदाहुँदै जीब्रोको स्वादका लागि अरुको ज्यान लुछ्नमै जो रमाउँछ, उसको खुशी पनि भगवानले कुनै न कुनै दिन, कुनै न कुनै रुपमा अवश्य छिन्छन् । शिवले त उनैलाई प्रेम गर्छन्, जसले संसारका सबै प्राणीमाथि करुणा राख्छ, सबैको भलो हुने काम गर्छ, कसैलाई दुःख दिँदैन । तर हामी यसरी आफ्नो लाभका निम्ति अरुको कुभलो गर्छाैं भने शिवकृपा कसरी मिल्ला ? महिना दिनको नौटंकीले पाप पखालिने र धर्म कमाउने सोच्नु मूर्खता सिवाय केही होइन ।

घरमा कोही पाहुना आउँदा प्रायः माछामासु नै ल्याएर खाने–ख्वाउने चलन छ हामीकहाँ । विवाह, बर्थडे जस्ता उत्सव मनाउन पनि हामीलाई मासुकै भतेर चाहिन्छ । यसरी आफ्नो खुशीयालीमा अरुको गला रेट्ने प्रवृत्तिले मानिसलाई दिनप्रतिदिन स्वार्थको खाल्टोमा जाक्दै लगेको छ । आफ्नो सुखको खातिर पशुपन्छी होस् या मान्छेलाई पनि दुःख दिने बानी भइसक्यो हाम्रो ।

भनिन्छ, पापकर्मको चर्काे मूल्य चुकाउनुपर्छ, त्यसैले होला माछामासु अन्य सागसब्जी भन्दा महँगो ¤ महिनाभरि दालचामल खान पुग्ने पैसा ५÷७ छाक मासु खाँदा सकिन्छ । फेरि ईश्वरले हामीमा यो पनि जाँचिरहेका छन् कि भोगविलास र जीब्रोको स्वादमा वशीभूत भएर मानिसहरु के–कस्तासम्म पाप गर्न अग्रसर हुँदा रहेछन् भनेर । त्यसैले अरु परिकार भन्दा हामीलाई मासुको परिकार स्वादिलो लाग्ने भएको हो । खासमा हरिया सागसब्जी जस्तो स्वादिलो, तागतिलो मासु हुँदै हुन्न । यो त सिनो हो । हरियो सागसब्जी, फलफूल, दालभात जस्ता सात्विक खानाले शरीरलाई स्वस्थ र मजबुत बनाउँछ भने माछामासुले त शरीरलाई रोगी नै हो बनाउने । डाक्टरले पनि बिरामी हुँदा माछामासु नखानू भन्छन् किनकि यसले फाइदा होइन बेफाइदा गर्छ ।

मासुप्रतिको रुचि पनि एउटा बानी हो, कुलत हो । सानैदेखि आफ्नो बालबच्चालाई माछामासु नखुवाउने हो भने ठूलो भएपछि पनि उसलाई त्यो रुच्दैन । अरुलाई मारेर खान मन लाग्दैन, घिन लाग्छ । तर हामीले बालबच्चालाई सानैदेखि हत्या गरेर खान सिकाइरहेका छौं । मीठो र बलियो हुने भ्रममा माछामासु खाँदै बालबच्चालाई पनि खुवाइरहेका छौं । केटाकेटीलाई सानैदेखि माछामासु खान हुँदैन, अरु प्राणीको पनि जीवन हो, कसैलाई चोट पु¥याउनु हुँदैन, हत्या गर्नु पाप हो भनेर सिकाउने र त्यही परिवेशमा हुर्काउने हो भने त्यो बच्चा भोलि हिंस्रक हुँदैन, सबै प्राणीप्रति दयालु हुनेछ । त्यस्ताले अन्य दुव्र्यवहार र पापाचार पनि नगर्लान् भन्ने आशा गर्न सकिन्छ । तब नै प्रेमिल संसारको कल्पना साकार हुन सक्ला ।

देवाधिदेव शिवलाई साउन र सोमबार मात्र होइन हरेक दिन सम्झेको राम्रो । ईश्वरको भक्तिले जीवनमा आशा, भरोसा, आत्मविश्वास जगाउँछ । गलत कार्य गर्नबाट पछाडि धकेल्छ । यदि शिवलाई खुशी बनाउनु छ भने यही साउनबाट सदाका निम्ति माछामासु त्यागौं । कुनैपनि प्राणीलाई आफ्नो फाइदाका निम्ति नबाधौं, नमारौं । हत्या–हिंसालाई कसैले पनि प्रश्रय नदिऔं । व्यापारीहरुले पनि माछामासु नै बेचेर पैसा कमाउनुपर्छ भन्ने छैन, अरु व्यापार गरेर पनि पैसा कमाउन सकिन्छ, पवित्र ढंगले जीवन चलाउन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !