यी हुन् एम.अधिकारी,तर गरे इन्कारी

यी हुन् एम.अधिकारी,तर गरे इन्कारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको कुरो बाहिर आएपछि विराटनगरमा रहेका एक जना चार्टर्ड एकाउण्टेण्ट एकाएक चर्चामा आएका छन् । एम. अधिकारी भनिएका व्यक्ति गभर्नर महाप्रसाद नभएर अरु नै भएको एमालेले बताउँदै आएको छ ।

अहिले सोही प्रकरणमा विराटनगरका चार्टर्ड एकाउण्टेण्ट मनोज अधिकारी चर्चामा आएका छन् । एकाएक एम. अधिकारीमा नाम जोडिएपछि उनी केही दिन मोबाइल बन्द गरेर ‘बेपत्ता’ नै भएका थिए । मोरङको बूढीगंगा गाउँपालिका निवासी मनोजले आफू एमालेको केन्द्रीय अर्थ तथा योजना विभागको सदस्य नभएको र पार्टीमा आस्था राख्ने साधारण सदस्य र पेशाकर्मी मात्र भएको बताएका छन् ।

उनीसँग सोधिएको केही जिज्ञासामा अधिकारीले आफू र आफ्नो पेशाबारे यसरी प्रष्टिकरण दिएका छन् :

तपाईं एम. अधिकारीका नाममा एकाएक चर्चामा आउनुभयो,के तपाईं नै एमाले अर्थ तथा योजना विभागको सदस्य भनिएका एम. अधिकारी हो ?

-हैन । म विराटनगर निवासी चार्टर्ड एकाउन्टेन्ट मनोज अधिकारी हँु । म चार्टड एकाउन्टेन्ट संघ (एक्यान) को प्रदेश १ को अध्यक्ष हुँ । हाल मोरङको बूढीगंगा गाउँपालिका १ मा सपरिवार बस्छु । मेरो मूल पेशा लेखापरीक्षण हो । म एमाले पार्टीको अर्थ तथा योजना समितिको सदस्य होइन ।

नाम चर्चामा आएपछि एकाएक मोबाइल नै बन्द गरेर किन ‘बेपत्ता’ हुनुभएको ?

-होइन म ‘हाइड’ भएको छैन । आर्थिक वर्षको अन्तिम समयमा कामको चाप धेरै हुन्छ । यसैले कामका लागि हरेक वर्ष झैँ यसपालि पनि मोबाइल बन्द गरेर काममा मग्न भएर लागेको हुँ ।

तर तपाईं त पार्टीको दबाबले तनावमा परेर ‘हाइड’ हुनुभएको भन्ने समाचार पनि आएको थियो नि ?

-मैले पछि थाहा पाएँ । तर मलाई कसैले दबाब र तनाव दिएको छैन । मेरा सम्बन्धमा आएका समाचारबारे मैले सामाजिक सञ्जालमा प्रष्टसँग भनिसकेको छु ।

के प्रष्टिकरण दिनुभएको छ ?

-म कुनै पार्टीको विज्ञ होइन । मेरो पुख्र्यौली घर धनकुटाको मूर्तिढुंगा हो । २०७० देखि विराटनगरमा बसेर पेशा धानिरहेको छु । पहिले कलेज पनि पढाउँथे । अहिले पढाउँदिन । सबै समय आफनो पेशामै खर्चिएको छु । म एमालेको अर्थ तथा योजना समितिको सदस्य होइन भनेर भनेको छु ।

तपाईंले एमालेको सदस्यता लिनुभएको छ कि छैन ? अहिले कुन पदमा हुनुहुन्छ ?

-मैले एमालेको सदस्यता लिएको धेरै पहिले हो । तर आफू पेशाकर्मी भएकाले सक्रिय रुपले राजनीतिमा कहिल्यै देखा परेको छैन । हाल जिल्ला तहको पेशाकर्मी संगठनमा आबद्ध छु ।

पार्टीले अर्थ तथा योजना विभागको सदस्य तपाईं नै हो भनेर भन्यो भने नि ?

-म हालसम्म पार्टीको विज्ञको हैसियतमा छैन । मलाई कसैले तपाईंलाई अर्थ तथा योजना विभागको केन्द्रीय तहमा नियुक्त गर्दैछन् भन्ने मौखिक जानकारीसम्म दिएका थिए । तर मैले कुनै आधिकारिकता प्राप्त गरेको छैन ।

गर्भनर महाप्रसाद अधिकारीसँग मेरो नाम मिल्दोजुल्दो भए पनि उक्त समितिमा म नै नियुक्त भएको हो भन्ने कुनै यकिन छैन । अब पार्टीले एम. अधिकारी भनेको मै हो भनेर भने पनि हालको विषम परिस्थितिमा आफ्नो पेशा र पारिवारिक अवस्थाले गर्दा म उक्त पदमा बस्न असमर्थ छु ।

पार्टीबाट तपाईंले चाहेको अपेक्षा चाहिँ के हो ?

-मेरो कुनै अपेक्षा छैन । म हाल आफ्नो पेशामा रमाउन चाहन्छु ।

मिडियाबाट के अपेक्षा गर्नुहुन्छ ?

-आफू एमाले पार्टीको अर्थ तथा योजना विभागको सदस्य एम. अधिकारी होइन । र, नियुक्त भए पनि उक्त पदमा बस्दिन भनेर सार्वजनिक गरेको धारणा मिडियाले पनि बाहिर ल्याइदिए अभारी हुनेछु ।

टिप्पणीहरू