पोखराका मेयर खुसुक्क हेटौँडामा !

पोखराका मेयर खुसुक्क हेटौँडामा !

अघिल्लो साता पोखरा उपमहानगरपालिकाका मेयर धनराज आचार्य खुसुक्क हेटौँडा आइपुगे । लाग्दो हो, हेटौँडा उपमहानगरमा पनि नेकपा एकीकृत समाजवादीकी मेयर विजयी भएकाले बधाई दिन र राजनीतिक भेटघाट गर्न आएका होलान् ।

गठबन्धनबाटै जितेका आचार्य पनि समाजवादीकै हुन् । तर, कुरो त्यसो होइन । पोखराको फोहोर व्यवस्थापनको समस्या के कसरी हल गर्न सकिन्छ भन्ने हिसाबले बुझ्न आचार्य हेटौँडा आएको बताइएको छ ।

हेटौँडा ८ कमानेस्थित फोहोरबाट इन्धन निकाल्ने मेसिनको अवलोकन र त्यसको उपयोगिताबारे छलफल गरेर उनी पोखरा फर्केका थिए । यद्यपि, बागमती प्रदेशका मन्त्री वसन्त मानन्धर, हेटौँडाकी मेयर मीना लामा र युवा विद्यार्थी नेतालाई उनले भेटेको बुझिएको छ ।

फोहोरको वर्गीकरण नगरिकन सोलोडोलो मेसिनमा हालेपछि बिजुली, क्लिंकर र सिमेन्टजस्तो वस्तु उत्पादन गर्न सकिने जापानी प्रविधिको कारखाना हेटौँडामा स्थापित छ । तर, यसको उपयोगिता नेपालमा हुन सकेको छैन । नेपालको कर्मचारी संयन्त्र तथा नीतिगत समस्याका कारण स्वदेशमै यो मेसिन चलाउन सक्ने अवस्था नरहेको पाइएको छ ।

‘निकै महत्वपूर्ण र प्रभावकारी मेसिन रहेछ’, आचार्यको भनाइ उधृत गर्दै समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुका नेता आकाश अधिकारीले भने । अधिकारीका अनुसार मेसिन उत्पादन, बिक्री बितरण तथा यसको प्रभावकारिताबारे सरकारी दृष्टिकोण र नीतिगत निर्णय नै बाधक रहेकाले उद्योग पलायनको डर छ । यद्यपि, फोहोरलाई इन्धन बनाउने मेसिन देशभरका ठूला सहरहरूमा जडान गर्न सकिए नमूना काम हुने अधिकारीले बताए ।

टिप्पणीहरू