नेपालको प्रदूषण बढ्दो, सबैलाई महंगो

नेपालको प्रदूषण बढ्दो, सबैलाई महंगो

विश्वभर वायुप्रदूषण बढिरहेको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार ४० लाख बढी मानिसले बाहिरी वायुप्रदूषणका कारण वर्षेनी ज्यान गुमाउने गरेका छन् । नेपालमा भने हरेक वर्ष वायुप्रदुषणका कारण ३७ हजारभन्दा बढीले ज्यान गुमाउने गरेको पाइएको छ ।

लगभग सम्पूर्ण विश्वका ९९ प्रतिशत जनसंख्याले डब्ल्यूएचओले निर्धारण गरेको वायु गुणस्तर सीमा नाघेको हावामा सास फेर्ने गरेका छन् । जसका कारण उनीहरूको स्वास्थ्य सँधै जोखिममा हुने गरेको छ । एक सय १७ देशको छ हजारभन्दा बढी सहरमा वायुको गुणस्तर अनुगमन गरिरहेको भए पनि त्यहाँ बस्ने अधिकांश मानिसले अझै पनि सूक्ष्म कण र नाइट्रोजन डाइअक्साइडको अस्वस्थ स्तरको सास फेरिरहेको संगठनले जनाएको छ ।

त्यसमा पनि निम्न र मध्यम आय भएका देशका नागरिक उच्च जोखिममा छन् । स्वीस वायु गुणस्तर प्रविधि कम्पनी आइक्युका अनुसार नेपाल विश्व वायुप्रदूषण भएका देशमा दशौं नम्बरमा छ । काठमाडौंलगायत विभिन्न ठाउँमा अहिले प्रदूषण उच्च अवस्थामा देखिन्छ ।

नेपालको हावामा पाइएको पीएम २ दशमलव ५ कन्सन्ट्रेसन हाल विश्व स्वास्थ्य संगठनको वार्षिक वायु गुणस्तर निर्देशिकामा उल्लेख गरिएको मानकभन्दा ९ दशमलव २ गुणा बढी हो । प्रदूषित हावाका कारण सर्वसाधारणमा फोक्सोदेखि आखाको समस्या देखिन थालेको छ ।

काठमाडौंमा प्रदूषणको मुख्य कारण पुराना सवारी साधनको प्रयोग र डिजेलबाट चल्ने यातायातका साधन रहेको बताइन्छ । तर, सरकारले २० वर्ष पुराना सवारी चलाउन नपाइने भने पनि सहरमा यातायात व्यवसायीले त्योभन्दा बढी वर्ष पुराना सवारी साधन चलाउने गरेको पाइएको छ । यसले वातावरणमा नराम्रो असर गर्ने भए पनि यातायात व्यवस्था विभागले यसबारे अनुगमन नगर्दा पुराना सवारी साधन सञ्चालनको क्रम रोकिएको छैन ।

वायुप्रदूषण न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गर्दै आएको स्वच्छ ऊर्जा नेपालले प्रदूषणको मुख्य कारण पुराना सवारी साधनबाट निस्कने धुँवा रहेको बताएको छ । ऊर्जा नेपालले प्लास्टिकजन्य वस्तु तथा फोहोरहरु जलाइने हुँदा पनि प्रदूषण बढेको जनाएको छ ।

ऊर्जा नेपालकी कार्यक्रम संयोजक वर्षा पराजुलीले वायुप्रदूषण तत्कालको कुरा नभएर भविश्यसँग जोडिएको बताउनुभयो । उहाँका अनुसार एक जनाले मात्र यसमा सुधार नहुने भएकाले सरकारको बाटो नहेरी नागरिक आफैँ सचेत हुनुपर्ने उल्लेख गर्नुभएको छ ।

संयोजक पराजुली भन्नु हुन्छ, ‘अहिलेको मौसममा पनि हरेक वर्ष प्रदूषण उच्च विन्दुमा पुग्दै आएको छ । प्रदूषणको मुख्य कारण पुराना सवारी साधनबाट निस्कने धुँवा हो भने प्लाास्टिकहरु जलाइनु अर्को कारण हो । यसलाई रोक्न सके र सवारी साधन राम्रो अवस्थामा राख्न सके प्रदूषण कम गर्न सकिन्छ ।’

अहिले ऊर्जा नेपालले यसैलाई केन्द्रित गरेर अमेरिकी दूतावासको सहयोगमा ‘सेफ एण्ड क्लिन एयर फर अल’ अभियान चलाएको छ । काठमाडौंलगायत विभिन्न आठ ठाउँमा भइरहेको उक्त अभियानको समग्र उद्देश्य अमेरिकी स्पेस कार्यक्रम मार्फत् स्वच्छ हावाको लागि जागरूकता र त्यसका लागि युवाहरूलाई जानकारी गराउँदै थप प्रेरित गर्नु र संलग्न गराउनु रहेको छ ।

सामान्यतयाः हामीले नजिकैको पसल वा स्थानमा जाँदा पनि सवारी साधन प्रयोग गर्ने बानीमा सुधार गर्नुपर्ने देखिएको छ । पराजुलीले उच्च विन्दुमा रहेको बेला वायुप्रदूषण कम गर्नेतर्फ लाग्नुभन्दा पनि कार्ययोजना बनाएर भविश्यको निम्ति तयार हुनु पर्ने सुझाव दिनुभएको छ ।

यता सरकारको वातावरण विभागले भने यस विषयमा जागरुकताका विभिन्न कार्यक्रम भइरहेको बताएको छ । तर, पुराना सवारी साधनबाट प्रदूषण उत्पन्न हुने भएकाले उक्त विषय आफ्नो कार्य क्षेत्रभित्र नपर्ने हँुदा यसमा विभागले केही गर्न नमिल्ने जनाएको छ ।

विभागकी सूचना अधिकारी सरोजा अधिकारी, ‘यसलाई लिएर जागरुकताका कार्यक्रम भैरहेको छ । विद्युतीय सवारी साधनहरुलाई प्रवद्र्धन गर्ने, कलकारखाना परिष्कृत गर्नेतर्फ पनि विभागको जोड छ । तर, पुराना सवारी साधनको हकमा भने विभागले केही गर्न सक्ने अवस्था छैन ।’

डब्लुएचओले भने सरकारले वायुको गुणस्तर अनुगमन र वायु प्रदूषणका स्रोतहरू पहिचान गर्ने, सुरक्षित र किफायती सार्वजनिक यातायात प्रणाली तथा पैदल यात्री र साइकल–मैत्री नेटवर्कहरू निर्माण गर्नुपर्नेमा जोड दिएको छ । उसले सवारी साधनको गुणस्तर र हावाको गुणस्तरको निम्ति कडा मापदण्ड तोकेर कडाइका साथ लागु गर्नुको विकल्प नभएको बताउँदै आएको छ ।

टिप्पणीहरू