बालिका ‘बलात्कारी’ हजुरबा छुटे,अब पल शाहको के हुन्छ ?

बालिका ‘बलात्कारी’ हजुरबा छुटे,अब पल शाहको के हुन्छ ?

एकातिर नाबालिकामाथि करणीको किटानी जाहेरीमा यौटा अदालतले अभिनेता पल शाहलाई जेल पठाएको छ भने ९ वर्षीया बालिकामाथि ८२ वर्षका बृद्धले राजधानी छेवैमा बलात्कार गरेको यस्तै प्रकृतिको मुद्दामा आरोपितलाई सफाइ मिलेको छ । जबरजस्ती करणी एक आपराधिक घटना हो । कुनै पनि पुरुषलाई महिलाको शरीरमाथि सहमति या असहमतिका नाममा खेलबाड गर्ने हक छैन । तर, अदालतको तह उही हो, श्रीमानकाे पदीय मर्यादा क्रम पनि एउटै । तैपनि ठाउँ र परिस्थितिअनुसार किन आउँछन् फरक आदेश ?

नाबालिगले हालेको भन्दैमा सबै मुद्दा सत्य हुँदैनन् भन्ने तथ्य ०७४ पछि बनेका कानुनहरू कार्यान्वयनको तहमा जाँदा सामाजिक विकृतिसँगै अहिले बलियो बन्न थालेको पाइएको छ । जिल्ला अदालत, ललितपुरमा ०७८ साउन १ देखि चैत २० गतेसम्म ३७ वटा बलात्कारका मुद्दा दर्ता भए । तीमध्ये १३ वटा वारपार भइसकेका छन् भने २४ वटाको फैसला हुन बाँकी छ । दर्ता भएका घटनामध्ये कतिपय आरोपितले जिल्ला अदालत, ललितपुरबाट सफाइसमेत पाएका छन् । प्रमाण र आधार नपुगेको भन्दै उनीहरूलाई सफाइ दिइएको हो ।

घटना एक

साउन १९ गते ललितपुर मनपा वडा नं ३ बस्ने नौ वर्षीया सुस्त मनस्थितिकी (परिवर्तित नाम जावलाखेल १) बालिकामाथि जबरजस्ती करणी भयो । हजुरबुवा समानको पुरुषले छोरीलाई करणी गरेको भन्दै बालिकाकी आमा, ‘बाह्रबिसे क’ ले जिल्ला अदालत, ललितपुरमा जाहेरी दिइन् । प्रतिवादी ८२ वर्षीय हरिविक्रम केसीले घरमा कोही नभएको बेला छोरीलाई ललाईफकाई करणी गरेको जाहेरवालाको दाबी थियो ।

मुद्दा नं –०७८–सीएल–००१९ अन्तर्गत दर्ता भएको सो घटनामा न्यायाधीश देवकुमार गिरीको इजलाशले सफाइ दिएको हो । प्रतिवादीले कसुर पुष्टि गर्न नसकेको भन्दै गत मंसिरमा उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३१ बमोजिम सफाइ दिइएको बताइन्छ ।

घटना दुई

मुद्दा नं –०७८–सीएल–००६१ भएको जबरजस्ती करणीको घटनाले मायाप्रेम भन्ने शब्दबाटै अधिकांशको विश्वास उठाइदिन सक्छ । साउन २८ गते दर्ता भएको उक्त घटना फेसबुकबाट शुरु भएको हो । यसरी शुरु भएको मायापिरतीलाई अन्ततः जबरजस्ती करणीको नाम दिइयो ।

पीडितकी आमा ‘बौद्ध ३१’ ले नाबालिका छोरीलाई विभिन्न प्रलोभनमा पारेको भन्दै जाहेरी दिएकी थिइन् । आफ्नी छोरीलाई विवाह गर्ने भनेर बौद्धमा बोलाई प्रतिवादीकी दिदीको कोठा खुमलटार पु¥याई करणी गरेको जाहेरवालाको बयानमा उल्लेख छ ।साथी अनितामार्फत प्रतिवादी आर्यन तामाङलाई चिनेको र उनले आफूलाई माया गर्छु, श्रीमती बनाउँछु भनेर करणी गरेको, पीडित ‘बौद्ध ३२’ ले बयान दिएकी थिइन् ।

यता, प्रतिवादीले आफूले बौद्ध ३२ लाई जबरजस्ती करणी नगरेको र उनको उमेर थाहा नभएको बताएका थिए । पीडित ब्राह्मण भएको र आफू तामाङ भएकाले फसाउन खोजिएको उनले बताएका हुन् । सोही बयान र प्रयोगशालाको प्रमाणलाई आधार मान्दै न्यायाधीश किरणप्रसाद शिवाकोटीको बन्द इजलाशले प्रतिवादीलाई गत फागुनमा सफाइ दिएको हो ।

घटना तीन

श्रीमान्को आँखामा धुलो हाल्न कसैले सहमतिमै भएको शारीरिक सम्बन्धलाई पनि जबरजस्ती करणीको नाम दिन सक्छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । जिल्ला अदालत, ललितपुरको मुद्दा नं ०७८–सीएल–००२३ मा दर्ता भएको घटना पनि उही प्रकृतिको छ । गत वर्ष भदौ २० गते एकजना महिलाले आफूमाथि जबरजस्ती करणी गरिएको भन्दै जाहेरी दिएकी थिइन् ।

पीडित ‘सातदोबाटो १४४’ ले प्रतिवादी मदनकुमार सिंहले घरमा कोही नभएको बेला आर्थिक प्रलोभन देखाई करणी गरेको बयान दिएकी हुन् । तर, कृष्णबहादुर महरा प्रकरणमा रोशनी शाहीलेझैँ पछि पीडितले आफू र प्रतिवादीबीच पहिल्यै चिनजान भएको र फोनमा समेत शारीरिक सम्बन्धको कुराकानी हुने भन्दै बयान फेरिन् ।

सोही दिन पनि सम्बन्ध राख्दा अचानक श्रीमान् आइपुगेको र घरपरिवारको दबाबमा आएर आफूले जाहेरी दिएको निजले बकपत्रमा स्विकारेकी छन् । जाहेरवाली र प्रतिवादीको बयानलाई आधार र प्रमाण मान्दै न्यायाधीश रामप्रसाद बस्यालको इजलाशले यही भदौ २१ गते प्रतिवादी मदनकुमार सिंहलाई सफाइ दिएको हो ।

साथै, ‘झुटा जाहेरी दिने’ ती महिलालाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३१ बमोजिम एक महिनाको कैद सजायँ सुनाइएको थियो ।

घटना चार

भदौ २ गते जिल्ला अदालत, ललितपुरमा जबरजस्ती करणी उद्योगको मुद्दा दायर भयो । पीडित ‘सातदोबाटो क्ष’ ले श्रीमान् घरमा नभएको बेला प्रतिवादी छत्रबहादुर कार्कीले जबरजस्ती करणी गर्न खोजेको भन्दै जाहेरी दिइन् । मुद्दा नं ०७८–सीएल–००३३ मा दर्ता भएको उक्त घटनामा न्यायाधीश सूर्यप्रसाद पराजुलीको इजलाशले आरोपितलाई सफाइ दिनु उपयुक्त ठह¥यायो । स्वास्थ्य परीक्षण प्रतिवेदन र अभियोग दाबी पुग्न नसक्ने बताउँदै माघ ३ गते फैसला सुनाइएको हो ।

मुलुकी अपराध संहिता २०७४, दफा २१९ को उपदफा १ मा जबरजस्ती करणी गर्नु हुँदैन भनिएको छ । यदि कसैले मञ्जुरी नलिई शारीरिक सम्बन्ध राख्छ भने उमेर हदअनुसार कारबाही गरिने व्यवस्था छ । तर, नेपालका अदालतहरूले यस्ता जटिल विषयमा पनि फैसला सुनाउँदा ठावँैपिच्छे फरक आधार लिएको पाइन्छ । एकातिर नाबालिका करणीको किटानी जाहेरीमा पल शाह जेलमा छन्, अर्कोतिर अरुले धमाधम सफाइ पाउँदै आएका छन् ।

मुलुकमा जबरजस्ती करणीका घटना दिनानुदिन बढ्दै गएको छ । तर, करणीका घटना र आरोपहरू सबै सही हुँदैनन् भन्ने उदाहरण माथिका घटनाहरूले दिएका छन् । रिसईबी, अपेक्षा पूरा नहुने स्थिति र घरपरिवारको दबाबमा आएर करणीको आरोप लगाउनेको संख्या धेरै छ । पीडितले आवेगमा आएर निरपराधलाई नियोजित ढंगबाट फसाउने कार्यले समाजमा विकृति मौलाएको पनि भनिन्छ तर एउटा के कुराचाहिँ प्रष्ट छ भने हामीले संविधानजस्तै कानुनहरू पनि हतारमा बनायौँ । लोकप्रियता हे¥यौँ, व्यवहारिकता हेरेनौँ ।

पल शाहलाई टालाटुली बटुली महँगो पर्ने ?

चर्चित सेलिब्रिटी पल शाहलाई सहमतिमै भएको टालाटुली बटुली खेल निकै महँगो पर्ने देखिएको छ । कानुनविद्हरूका अनुसार पल शाहको मुद्दामा अन्य कुनै कारणले भन्दा उमेर हद र राति १२ बजे भेटेको स्वीकारोक्तिले गर्दा निकै अप्ठ्यारो पर्ने देखिन्छ । १८ वर्षभन्दा कम उमेरको महिलासँग सहमतिमै भए पनि सहवास गरेको ठहरिए बलात्कार मानिने कानुनी व्यवस्थाले गर्दा उनी फन्दामा परेका हुन् किनभने नेपालमा १८ वर्षसम्मलाई नाबालिक मान्ने कानुन छ । सर्सती हेर्दा शाहले मन पराएकै युवतीलाई बिहे गर्ने भन्दै प्रयोग गरेको तर उनको विश्वासमा ठेस पु¥याउँदा मुद्दा बल्झिएको देखिन्छ ।

अर्कोतर्फ जनयुद्धकालमा भएको यौन शोषण र बलात्कारका घटनाविरुद्ध उजुरी दिन पनि हदम्यादले पीडितलाई नछेक्ने कुरा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको आदेशमा छ । त्यसपछि मात्रै बलात्कारका घटनाविरुद्ध उजुरी दिने यस्तो प्रचलनले व्यापकता पाएको दाबी गर्नेहरू थुप्रै छन् । यस्ता सबै घटनाको पृष्ठभूमिमा कतै न कनै नाबालकको उमेर हद बढाइएकाले धेरै समस्या सिर्जित भएको दाबी कानुनवेत्ताले गर्न थालेका छन् । यस्तो प्रचलनले धेरैलाई फसाउन र छवि धुमिल बनाउन सक्ने देखिएको छ ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/04/नयाँ-आर्थिक-वर्षको.pdf” title=”नयाँ आर्थिक वर्षको”] [pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/04/0061.pdf”] [pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/04/0033.pdf”] [pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/04/0023.pdf”] [pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/04/0019.pdf”]

टिप्पणीहरू