चितवन मेडिकल कलेजमाथि गम्भीर आरोप, छानबिन गर्दै स्वास्थ्य मन्त्रालय

चितवन मेडिकल कलेजमाथि गम्भीर आरोप, छानबिन गर्दै स्वास्थ्य मन्त्रालय

सरकारले कोरोना संक्रमितलाई निःशुल्क उपचार गर्ने भने पनि चितवन मेडिकल कलेज (सीएमसी) ले बिरामीसँग रकम असुलेको आरोप लाग्दै आएको छ । सबैले कोरोनाको उपचार पाउन् भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको निर्णयलाई चितवन मेडिकल कलेजले आफ्नो कमाइ खाने भाँडो बनाएको त्यहाँबाट डिस्चार्ज भएका कतिपय बिरामीले बताएका छन् ।

मन्त्रालयले तोकेका अस्पतालमा कोरोनाको निःशुल्क उपचार बिरामीमा कोभिड पुष्टि भएको हुनुपर्दछ । संक्रमण पुष्टि भएकाहरु उपचारका निमित्त तोकेको अस्पताल गएमा उनीहरुले बिरामीको निःशुल्क चेकजाँच गर्नुपर्ने व्यवस्था सरकारले गरेको हो । तर, सिएमसीले कोभिड पुष्टि भएकाहरुसँग पनि रकम असुलेर सरकारसँग समेत शोधभर्ना गरेको स्थानीयले आरोप लगाएका हुन् ।

सिएमसीले कोभिडका बिरामीसँग मनलाग्दी रकम असुल गरे पनि सरकार मुकदर्शक बनेको स्थानीयको भनाइ छ । उपचार शुल्क तिर्न नसकेर एकाध बिरामीको ज्यान समेत गएको चितवनवासीले नै जनाएका छन् । अस्पतालले भनेको जति शुल्क तिर्न सक्नेले मात्र उपचार पाएको उनीहरुको ठहर छ ।

सिएमसीले बिरामीसँग कोभिड उपचारको शुल्क उठाएपछि स्वास्थ्य मन्त्रालयमा फर्जी बिल बनाएर पठाएको विवरण जनआस्थाले प्राप्त गरेको हो । सिएमसीले पछिल्लो समयमा गरिएको उपचारको निम्ति झण्डै १५ करोड रुपैयाँको फर्जी बिल बनाएर मन्त्रालय पठाएको दाबी छ । बिरामीले आफ्नै खर्चमा कोभिडको उपचार गराए पनि विभिन्न बहाना बनाएर सिएमसीले मन्त्रालयबाट रकम निकासा गर्न खोजिरहेको स्रोतको दाबी हो ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी र सिएमसीको मिलोमतोमा फर्जी बिल बनाएर स्वास्थ्य मन्त्रालय पठाइएको आरोप लागेको छ । उनीहरुले यस विषयमा सम्बन्धित निकायले छानबिन अघि बढाउनुपर्ने मागसमेत राखेका छन् । स्थानीयले आरोप लगाइरहँदा अस्पतालले भने उक्त आरोपमा कुनै सत्यता नभएको जनाएको हो ।

थाहा नहुनुञ्जेल पैसा लिएका हौः अस्पताल

चितवन मेडिकल कलेजका निर्देशक हरिशचन्द्र न्यौपानेले यी सब कुरा झुठो भएको दाबी गरेका छन् । निर्देशक न्यौपानेले सुरुमा कोरोनाको उपचारवापत खर्च लिएको बताए । तर, स्वास्थ्य मन्त्रालयको निर्णय र निर्देशनपछि अस्पतालले कोभिड पुष्टि भएका बिरामीसँग एक रुपैंया पनि नलिएको बताए ।

कोभिड पुष्टि भएको बिरामीको विवरण राख्न आइएमयु एप बनाइएको र उक्त एपमा सम्पूर्ण बिरामीको विवरण यथावत् राखिएको निर्देशक न्यौपानेको दाबी छ । ‘कसैले फर्जी बिल बनाएको पुष्टि गरोस्, म सबै रकम फिर्ता गरिदिन्छु,’ उनले झोक्किएर भने ।

मसँग सरोकार नभएको विषय होः प्रशासन

जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले उक्त विषयले आफूसँग सरोकार नराख्ने बताए । साथै, उनले आफ्नो र अस्पतालको मिलोमतो भएको कुरोलाई झुठो दाबी भनेका छन् । स्थानीय बचाउन कोभिडको समयमा घरघरमा खटेको व्यक्तिमाथि यसरी आरोप लगाउनु अन्याय भएको उनी बताँछन् ।

साथै, प्रमुख जिल्ला अधिकारीले सिएमसीले शुल्क लिएको भन्ने विषय पहिले पनि उठान भइसकेको र छानबिनका लागि डीसीएमसीको निर्णयसहित राष्ट्रिय पत्रिकामा आह्वान गरिएको जानकारी दिए । राष्ट्रको सम्पत्ति बचाउनु सबैको दायित्व भएको र कुनै पनि हालतमा यसको दुरुपयोग हुन नदिने प्रजिअ तामाङको दाबी छ ।

छानबिन अघि बढाइन्छः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयका सहायक सूचना अधिकारी समीर अधिकारीले सिएमसी अस्पतालमाथि छानबिन अघि बढाइने जानकारी दिएका छन् । अस्पतालले पठाएको हरेक बिलको पुष्टि हुनुपर्ने उनको भनाइ छ । ‘यदि अस्पतालले फर्जी बिल बनाएर पठाएको रहेछ भने त्यसलाई कानुनअनुसार कारबाही गरिने छ,’ उनले भने । साथै, अस्पतालले कुनै पनि हालतमा दोहोरो रकम नपाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू