राजमार्गको दुर्गति, खाल्डाखुल्डी अनगिन्ती

राजमार्गको दुर्गति, खाल्डाखुल्डी अनगिन्ती

नेपालमा सडकको दुरावस्थामा सुधार ल्याउने विषयलाई खासै प्राथमिकतामा राखेको पाईंदैन । विकासको प्रमुख पूर्वाधार मानिने सडकको स्थिति सर्वत्र दयनीय छ । गुणस्तरहीन निर्माण सामग्रीको प्रयोगले प्रायः सबै जिल्लाका सडकहरु जीर्ण बन्दै गएका छन् ।

गाउँमा मात्रै होइन, उपत्यकाका सडकहरु पनि त्यति भरपर्दा छैनन् । राति कालोपत्रे गरिएको सडक भोलिपल्ट घाम झुल्किँदा उप्किने दृश्य नेपालीका लागि कुनै नौलो विषय होइन । कार्पेट बिच्छाएझैं कालोपत्रे बिच्याउने प्रवृत्तिले सडक निर्माणमा राखिएको बजेट बालुवामा पानी मिसाएसरह बनेको छ ।

मुख्य रोडदेखि भित्री गल्लीसम्मका सडक खाल्डाखुल्डीले भरिएका हुन्छन् । तीमध्ये एक हो, बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित पिलुवा १६ वनगढीको पुल र वरिपरिका सडक । त्यहाँको अवस्था निकै कहालीलाग्दो देखिन्छ । पाइलैपिच्छे खाल्डाखुल्डीबाहेक अरु केही भेटिँदैन । दैनिक सयौं सवारी साधन गुड्ने सडकको अवस्थाले ठूलो दुर्घटनाको सम्भावना ननिम्त्याउला भन्न सकिन्न ।

यता, पैदल यात्रीलाई हिँड्न पनि सकस छ । घामलाग्दा धुलम्मे हुने उक्त सडकमा एउटा सवारी साधन पनि गुड्न मुश्किल पर्छ । सडकभरि ठूला भ्वाङ परेकाले सवारी साधन बेलाबेलामा सडकमै पल्टिने गरेका छन् ।

निश्चित मापदण्ड र गुणतस्तरहीन तरिकाले सडक कालोपत्रे गर्ने प्रवृत्तिले पिच गरेको छोटो समयमा नै कालोपत्र उप्किन थालेको हो । तर, यसतर्फ सरोकारवाला निकायको ध्यान नगएको अन्यत्रका झैँ पिलुवाका स्थानीयवासीहरुको पनि आरोप छ । सडक भत्किएको महिनौं बितिसक्दा पनि स्थानीय वडा कार्यालयले ध्यान दिएको देखिँदैन । उपमहानगरपालिका र जिल्ला प्रशासन भने चाल नपाएझैं अवस्थामा बसिरहेको उनीहरुको गुनासो छ । जनप्रतिनिधिहरुले लापरवाहीमा मुकदर्शक भइदिँदा सडकको दुर्गति भएको भन्दै स्थानीयले औंला ठड्याएका छन् ।

मुलुकको व्यस्त सडकमा पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्गसँगै जोडिएको सडकको अवस्था त यस्तो छ भने अरु ठाउँको कस्तो होला ? ठूला ओहोदाको जिम्मेवारी सम्हालिरहेका मन्त्रीदेखि जनप्रतिनिधिहरु सवार हुने सडकको अवस्था यति दुरावस्था हुनु आफैँमा अकल्पनीय विषय हो । सडक छेउमा फुटपाथ नहुँदा पैदलयात्री बीच सडकबाट हिँड्नुपर्ने बाध्यता छ । चौबिसै घण्टा मालवाहक सवारी गुड्ने व्यस्त सडकमा जोखिम मोलेर पैदलयात्रीहरु हिँडिरहेका छन् ।

सडकको दुरावस्था र जनप्रतिनिधिको लाचारी कारण सवारी दुर्घटना हुने क्रम बढ्दो रहेको भन्दै स्थानीयले विरोध गरेका छन् । उक्त सडक वरिपरी सशस्त्र प्रहरी बल नेपालको ४० नम्बर गणका साथै विभिन्न सरकारी कार्यालयहरु छन् । तर पनि सडक मर्मतका लागि पहल गर्ने कोही देखिएका छैनन् । यता, जनप्रतिनिधिहरु भने एकले अर्कोलाई देखाएर आफू पन्छिने काम मात्र गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले आफूलाई यस विषयमा केही जानकारी नभएको बताएर पन्छिए ।

उपमहानगरलाई पटक पटकभन्दा पनि केही लागेन : वडाध्यक्ष

उपमहानगरपालिकालाई पटक पटक सडक मर्मतका लागि ताकेता गरे पनि सुनुवाइ नभएको पिलुवा वडा नम्बर १६ का वडाध्यक्ष केदार बजागाईंले आरोप लगाएका छन् । ‘उपमहानगरले लिखित रुपमा सडक डिभिजन कार्यालयलाई जानकारी नगराउँदा सडक निर्माणमा ढिलासुस्ती भएको हो,’ उनले भने ।

सडक जतिसक्दो छिटो निर्माण होओस् भनेर बारम्बार पहल गरिरहेको पनि उनले बताए । वडासँग खबरदारी गर्नेबाहेक अरु कुनै हक र अधिकार नरहेकाले हात बाँधेर बस्न बाध्य भएको वडाध्यक्ष बजागाईंको भनाइ छ । ‘पिलुवाको मात्र नभई अन्य धेरै ठाउँको सडक जीर्ण छ । तर, उपमहानगरले जीर्ण पुल मर्मत गर्नमा चासो देखाएको छैन ।

हाम्रो पनि अधीनमा छैन : उपप्रमुख

जीतपुरसिमराकी उपप्रमुख सरस्वतीदेवी चौधरीले सडक बनाउने काम उपमहानगरको नभएको बताइन् । सडक निर्माणको काम केन्द्रको भएको र आफूले सडक डिभिजन कार्यालयलाई तारन्तार जानकारी गराएको उनको दाबी छ ।

सडक छिटै मर्मत हुन्छ : सडक कार्यालय

सडक डिभिजन कार्यालय, हेटौंडाले भने उक्त सडक छिटै मर्मत गर्ने प्रतिबद्धता जनाएको छ । सडक मर्मतका लागि ठेक्का दिइसकेको सडक डिभिजन कार्यालय इञ्जिनियर सिंह बहादुर विष्टले बताए । प्रक्रिया पुर्याएर छिटै नै मर्मत सुरु गर्ने योजना बनाइएको उनको भनाइ छ । हाल उक्त सडक खण्डमा ढलान गर्ने कार्यविधि बनाइएको छ ।

किन बारम्बार भत्किन्छ सडक ?

मर्मत गरेको महिना दिन पनि नबित्दै नेपालका सडक जीर्ण हुन्छन् । सडक मर्मतकै लागि वर्षेनी करोडौं बजेट खन्याए पनि खासै स्तोन्नती भएको देखिदैन । ठेकेदार जिम्मेवार नबन्दा र गुणस्तरहीन सामानको प्रयोग गर्दा कालोपत्र गरेको केही महिनामै सडक ध्वस्त बन्न पुग्ने गरेको छ ।

यता, इञ्जिनियर विष्ट भने सडकले थेग्न नसक्ने गरी भारवहन क्षमताभन्दा बढी सामान बोकेका ट्रयाक्टर÷ट्रिपर र हेभी इक्विपमेन्टका कारण सडक बिग्रिएको बताउँछन् । साथै, सडकको गुणस्तरमा ध्यान नदिँदा पनि केही महिनामै सडकको कालोपत्रे काम नलाग्ने हुने गरेको उनको भनाइ छ ।

टिप्पणीहरू