पूर्वसेनापतिको तुहिएको सपना

पूर्वसेनापतिको तुहिएको सपना

निवर्तमान प्रधानसेनापति पूर्वचिफ पूर्णचन्द्र थापाको फिल्डमार्शल हुने सपना तुहिएको दाबी गरिएको छ । उनी भारतीय समकक्षी विपिन राउतकै जस्तो प्रधानमन्त्री कार्यालयमा चिफ अफ जनरल स्टाफ अफिस खडा गरी त्यसको प्रमुख हुने दाउमा थिए । यसको निम्ति राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाहसमेत भइसकेको थियो ।

तर, नेपालको संविधानले फिल्डमार्शलको पद हटाएकाले गर्दा प्रधानसेनापति भन्दा माथिको पदमा ल्याउन संवैधानिक बाधा तेर्सियो भने यहीबीच ओली सरकारको समेत अवसान भइदियो । ०४६ सालअघि नेपाली सेनामा एक मात्र फिल्डमार्शलको रूपमा नीरसमशेर जबरा थिए । अन्तरिम संविधान लागू भएसँगै उक्त पद खारेजीमा परेको थियो ।

सैन्य संरचनामा फेरबदलपछिको सकस

नयाँ नेपालको नयाँ संरचनाअन्तर्गत रहेका सात पृतनालाई खारेज गरेर भारतीय सेनाको मोडेलमा सैन्य संरचना फेरबदल गरिएको छ । ‘थ्री प्लस वान’ कमाण्डको अवधारणाअनुरूप सैन्य संरचना तलमाथि पारिएको हो ।

नयाँ कमाण्डको अवधारणाले सेनालाई पहाडी भूगोलमा खुम्च्यायो । यसले गर्दा प्रदेश संरचनाअनुसार सेना परिचालन गर्न कठिनाइ हुनुका साथै स्थानीय निकाय, प्रशासनसँग सन्तुलन कायम हुन सकेको छैन । जनसम्पर्कमा कठिनाइ उत्पन्न भएको छ । आगामी दिनमा कुनै अप्ठ्यारो आइलागे सेनाले कोसँग, कसरी समन्वय र सहकार्य गर्ने भन्ने प्रश्न उब्जिएको छ ।

जबकि अन्य सुरक्षा निकायको सातै प्रदेशमा प्रदेशस्तरीय संरचना छन् । आउँदो चुनावताका पनि सेनाले कोसँग कसरी समन्वय गर्ने भन्ने प्रश्न खडा भएको छ । सातै प्रदेशमा सात सरकार, सात प्रहरी इकाइ, सात गुप्तचर र सातै सशस्त्र प्रहरीले छुट्टाछुट्टै कमाण्ड बनाएका बेला सेनाको भने चार कमाण्ड छ । कुन कमाण्डले कुन–कुन प्रदेश, कुन–कुन निर्वाचन क्षेत्रको सुरक्षा व्यवस्था मिलाउने भन्ने प्रश्न पनि उभिएको छ ।

भूगोलअनुसारको सैन्य रणनीति निर्माण, आन्तरिक विद्रोह, प्राकृतिक विपद् सरुवा र घातक रोग नियन्त्रण, चुनावलगायत महत्वपूर्ण अवसरमा स्थानीय प्रशासन र जनप्रतिनिधिसँग काँधमा काँध मिलाउन सेना खट्ने गथ्र्यो । तर, अहिलेको संरचनाले व्यवस्थित बनिसकेको सैन्य थिति र संरचनालाई खल्बल्याएको छ ।

नयाँ संरचना नर्थ, वेष्ट, इष्ट कमाण्ड भनेझैँ भारतको नक्कल रहेको बुझाइ सैनिक विज्ञहरूको छ । थ्री प्लस वानको अवधारणाले इटहरीको पृतनालाई धनकुटा हिले पु¥याएको छ भने तराईको अधिकांश क्षेत्रमा रहेका बाहिनीलाई पहाडतिर छ । कमाण्डको अवधारणाअनुसार अहिले मधेसका अधिकांश स्थानमा गुल्म र गणहरू मात्रै छन् ।

कथंकदाचित भारतसँग लडाइँ गर्नुप¥यो भने यो सैन्य संरचना अलिक भरपर्दो हुन सक्छ । उताको आर्टिलरी र एयर डिफेन्सले तराई कब्जा गर्न धेरै समय लाग्दैन । तर, पहाडको जमिन र जंगलमा भने नेपाली सेनाले भियतनामी फौजजस्तै मोर्चाबन्दी कसेर गुरिल्ला युद्ध गर्दै हाराबारा खेलाउन सक्छ । किनभने अहिले पनि जमिन कब्जा नगरी युद्ध जितिएको मानिँदैन ।

रुसले युक्रेनलाई हवाई र तोप आक्रमणले ध्वस्त बनाए पनि युद्धमा रुस विजयी भएको मानिएको छैन । लामो दूरीको हतियार पड्काउँदैमा हुँदैन, जमिन कब्जा गरेर झण्डा गाड्नुपर्ने अवस्था हुन्छ । त्यसैले थ्री प्लस वान कमाण्ड अवधारणा नेपालको लागि सुरक्षाको दृष्टिकोणले उपयुक्त हुने राय पनि केही सैन्य विज्ञले प्रकट गरेका छन् ।

भारतीय ट्यांकहरू चुरेको ठाडो डाँडो काट्ेर जान निकै मुश्किल पर्छ । किनभने त्यसबेलासम्म नेपाली सेनाले युद्धमा पछाडि सर्दै गएर चुरेका जंगलमा ट्रेञ्च खनी जवाफी आक्रमणको लागि उपयुक्त मोर्चा खोल्न सक्छ । यो सैन्य रणनीति सत्चितसमशेर राणा प्रधानसेनापति भएको बखत तयार गरिएको हो जसलाई ‘ड्रिलिङ ब्याटल एक्सन’ को नाम दिइएको थियो ।

यस रणनीतिको अर्को पाटो भनेको भारतले कब्जा गरेको नेपाली भूमिमा ‘प्रतिविद्रोह’ गर्ने र गराउने नै हो । यही नीति गोरखाली सेनाले अंग्रेजविरुद्ध अपनाएको दाबी एकथरी सैन्यविद्को छ । मकवानपुरगढी, सिन्धुलीगढी र हरिहरपुरगढीको लडाइँमा गोरखाली सेनाहरूले ‘ड्रिलिङ ब्याटल एक्सन’लाई व्यवहारमा लागू गरेर स्थितिलाई आफ्नो पक्षमा ल्याएको दाबी सैन्यविद्हरूले गरेका छन् ।

पूर्वीकमाण्डअन्तर्गत धनकुटा ब्यारेकले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्नुपर्ने हुन्छ । प्रमुख जिल्ला अधिकारी सहसचिव हुन्छ । यस्तोमा एउटै दर्जा भए पनि ब्रिगेडियरलाई जुनियर मान्ने चलन छ । यसले गर्दा कतिपय अवस्थामा सुरक्षा निकायको बैठकमा प्रोटोकल मिल्दैन । प्रदेशमा प्रमुख सचिवको पदानुक्रम मेजर जनरलभन्दा पनि माथिल्लो हुन्छ ।

तर, संघमा भने त्यही प्रमुख सचिवको मान्यता सचिवबराबरको मात्रै हो । त्यसैले समन्वयका लागि मर्यादाक्रमको समस्या देखिएको छ । यस अवधारणाले प्रदेशका अन्य सुरक्षा संरचनामा कठिनाइ उत्पन्न भएपछि चमुलाई यथावत् राखेर पृतना ब्युँझाउने हल्ला पनि सेनाभित्र चलेको छ ।

महाभारतकै पनि व्यूह रचनामा पृतनामाथि चमु(कमाण्ड) बनाइएको देखिन्छ । यसअघि रुक्मांगद कटवाल प्रधानसेनापति भएको बेला दुईटा चमु(कमाण्ड) बनाउने, प्रत्येक चमुअन्तर्गत तीन वटा पृतना राख्ने र त्यसको नेतृत्व लेफ्टिनेन्ट जनरल (तीन तारे)ले गर्ने अवधारणा ल्याइएको थियो ।

तर, यो कुरा कार्यान्वयनमा आउन भने सकेन । त्यसैबेला चार जना रथी राख्ने, तीमध्ये दुई जना हेडक्वार्टरमा राख्ने र दुई जनालाई ‘चमुपति’ बनाउने योजना बन्यो । त्यसबेला माओवादी विद्रोहीको व्यवस्थापन र बजेट अभाव देखाएर सरकारले यो संरचनालाई थान्को लगाएको थियो । तर, अहिले संरचना सक्रिय भएपछि प्रोटोकललगायत समस्या देखिएको छ ।

पूर्व चिफ थापाले ३६ महिनाको सुरुवाती अवधिमा कुनै प्रकारको अनियमितता गरेनन् र गर्न पनि दिएनन् । पैसाभन्दा पनि पावर र प्रोपोगण्डाको भोको देखिए । तर, संवैधानिक अड्चनका कारण अर्काे विपिन रावत बन्न सम्भव नहुने भएपछि दु्रत मार्गको सुरुङ, कोरियन हतियार खरिद र जग्गा खरिदमा वैधानिक तवरले हात साफ गर्न अघि सरेको दाबी गर्नेहरू थुप्रै छन् ।

चिफहरूमाथि यसरी चल्दो छ छुरा

अहिलेका सेनापति प्रभुराम शर्मा भने पैसाप्रेमी राजेन्द्र क्षेत्री र प्रोपोगाण्डाका सोखिन पूर्णचन्द्र थापाभन्दा अलिक ढिला देखिन्छन् । अध्ययन र अनुसन्धानमा अघि भए पनि उनमा निर्णय गर्ने क्षमताको अभाव रहेको एक जना पूर्वसेनापतिको दाबी छ । शर्माले पृतनासम्म जगाउन सक्ने तर आकर्षक काम गरेर बहुआयामिक परिवर्तन ल्याउन नसक्ने ठोकुवा ती विश्लेषकले गरेका छन् ।

पूर्व चिफ राजेन्द्र क्षेत्रीले आफ्नो पालामा दलाल र नेतालाई खुवाएरै भए पनि हेडक्वार्टर र शशीभवन पुनर्निर्माण गरे भने पटके बजेट ल्याई ८ वटा जहाजको जोगाड गर्न सफल भए । तर, पूर्णचन्द्रले चाहिँ ‘संस्थाभन्दा आफूलाई माथि’ राखेर काम गरे । यी दुवैको तुलनामा निकै नरम मानिएका शर्मा एकदम लो प्रोफाइलमा बसेर पपुलर हुने प्रयासमा देखिएका छन् ।

उनले कसैलाई कारबाही नगर्ने तर सामान्यतवरले संस्थालाई डो¥याउने प्रयास गरेको पाइन्छ । थापाको पालामा नियम कानुनले गर्दा जवानहरू ठीक थिए भने अधिकृतहरू बेखुशी देखिन्थे । थापाले मेसमा पाहुनालाई डाकेर भोजभतेर गर्ने चलनलाई अंकुश लगाउन खोजेका थिए भने अहिले यसमा हल्का छुट दिइएको छ । सेनाले बेला बेला प्रहरी, प्रशासन र नागरिक अगुवासँग सामान्य उठबस गर्न वा एक कप चिया ख्वाउन पनि नसक्ने अवस्था थापाको पालामा सिर्जना गरिएको थियो ।

पूर्णचन्द्र थापाले अहिलेका ट्वाइसी बालकृष्ण कार्कीलाई पाखा लगाएका थिए । प्रभुरामलाई समेत प्रधानसेनापति हुन्छु कि हुन्न भन्ने द्विविधा र डर थियो । ‘चिफ अफ जनरल स्टाफ’ हुँदा थापाले झन् पेल्लान् भन्ने त्रास त झन् चर्काे हुने नै भयो । थापाले प्रधानसेनापति भएको ६ महिना नबित्दै आफ्नो कार्यकालमा यो–यो काम गर्छु भनी नीति र कार्ययोजना तयार गरेका थिए । तर, अहिलेकाले त्यस्तो योजना बनाउन सकेका छैनन्, सेनालाई परम्परागत र व्यावसायिक बनाउने भन्ने सोच मात्रै रहेको देखिन्छ ।

टिप्पणीहरू