नम्बर प्लेट नभएका सवारी साधन निर्वाध हुईंकिँदा….

नम्बर प्लेट नभएका सवारी साधन निर्वाध हुईंकिँदा….

सवारी साधनमा नम्बर प्लेट राख्नुको मुख्य उद्देश्य दुर्घटना हुँदा सम्बन्धित सवारी साधनको पहिचान गर्न सहज होस् भन्ने उदेश्यले नम्बर प्लेट राख्ने गरिन्छ । तर, पछिल्लो समय सडकमा नम्बर प्लेट सबै मेटिएका, छोपिएका र फालिएका सवारी साधन पनि निर्वाध गुडेको पाइन्छ ।

मुलुकभर यस्ता सवारी साधन कति गुडिरहेका छन् भन्नेबारे यकिन तथ्याङ्क ट्राफिक प्रहरी महाशाखासँग पनि छैन । हाल उपत्यकामा १० प्रतिशत र तराईमा २२ प्रतिशत त्यस्ता सवारी साधन रहेको अनुमान गरिएको छ । फितलो अनुगमनका कारण नम्बर प्लेट नै नराखी गाडी चलाउनेको संख्या पनि उत्तिकै छ ।

नियम र कानुनको उल्लंघन गर्नेलाई कारबाही गर्न नसक्दा यसले अपराधिक घटना निम्त्याएको छ । त्यस्ता नम्बर प्लेट नभएका सवारी साधनले सडकमा हिँडिरहेका व्यक्तिलाई ठक्कर दिएर ठहरै पारेर भागेमा कसलाई समात्ने ? ट्राफिक नियमको गम्भीर उल्लंघन गर्ने, दुर्घटनापछि फरार हुने, चोरी लुटपाट, हत्याहिंसा तथा आपराधिक क्रियाकलापमा संलग्न भएकालाई पक्राउ गर्न झन असम्भव हुने देखिन्छ ।

ट्राफिक नियमको ज्ञान हुँदाहुदै पनि लापरवाही गर्ने काम समेत सवारी चालकहरुले गरिरहेका छन् । मेटिएको वा छोपिएको नम्बर प्लेट लगाएर सवारी साधन चलाउन पाईंदैन भन्ने थाहा पाउँदा पाउँदै पनि कडा कारवाहीको अभावमा उनीहरुले गम्भीर लापरवाही गरेको प्रष्ट भएको छ ।सडकमा नम्बर प्लेट नभएका सवारी साधन देख्दादेख्दै पनि उनीहरुलाई कारवाही नगर्ने र गरे पनि एक छिनमा छाडिदिने सरोकारावाला निकायप्रति सर्वसाधारणले औंला ठड्याएका छन् । तर, सर्वसाधारणको आरोप गलत भएको यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाले दाबी गरेका छन् ।

महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले त्यस्ता सवारी साधनलाई दैनिक कारबाही गरिरहेको जानकारी दिए । ‘पर्याप्त ट्राफिक लाइट त नभएको मुलुकमा यी सबै कुरा स्वाभाविक नै हो,’ प्रवक्ता दासको प्रतिक्रिया हो यो । ‘पढेलेखेका, यातायात ऐन र ट्राफिक नियमको बारेमा ज्ञान भएकाहरुबाटै यस्तो काम बढी हुने गरेको,’ उनको भनाइ छ ।

साथै, यसमा यातायात व्यवस्था विभाग पनि जिम्मेवार हुनुपर्नेमा दासले जोड दिएका छन् । दैनिक २५ वटासम्म नम्बर प्लेट छोपिएका, मेटिएका सवारी साधनलाई कारबाही गर्ने गरेको तथ्याङ्का महाशाखासँग रहेका बताइन्छ ।

त्यसैगरी, यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले त्यस्ता सवारी साधनलाई नियन्त्रण गर्न सक्दो कोशिस गरिरहेको बताए । ‘कानुनमा मेटिएका, छोपिएका र नम्बर प्लेट नभएका सवारी साधन चलाउन नपाइने व्यवस्था भए पनि त्यस्तो गरेको पाइएमा एकदेखि पाँच हजार रुपैयाँ जरिवाना हुने,‘ उनको भनाइ छ । त्यस्ता गतिविधि कम गर्न विभागबाट दैनिक पाँच जनाको टोली खटाउने गरिएको दाबी भुसालको छ ।

सवारी साधन सम्बन्धी नियमको उल्लङ्घन गर्नेलाई सामान्य कारबाही गरेर छाड्ने प्रवृत्तिले यस्ता गतिविधिमा कमी नआएको बताइन्छ । नियमकानुनसँग खेलबाड गर्नेहरुलाई छुट दिँदा यसबाट यदाकदा ठूलो क्षति हुने गरेको तीतो यथार्थ विगतमा पटक पटक देखिएको छ ।

यसतर्फ चालकहरुले आफ्नो दायित्व र जिम्मेवारीको परिपालना नगरेकाले त्यस्ता कार्यले प्रश्रय पाएको कतिपयको बुझाइ छ । त्यस्ता सवारी साधनलाई कारबाही गरेर तत्काल नयाँ नम्बर प्लेट राख्न लगाउने अभियान नै चलाउनुपर्ने विज्ञहरुले बताएका छन् । यसबाट राज्यलाई पनि फाइदा हुने, अपराधिक गतिविधिमा सवारी साधनको प्रयोग हुने सम्भावनामा पनि कमी आउने उनीहरुको भनाइ छ ।

टिप्पणीहरू