लैंगिक समानताका कुराहरु नारी दिवसमा मात्र किन ?

लैंगिक समानताका कुराहरु नारी दिवसमा मात्र किन ?

आज मार्च ८ अर्थात् अन्तराष्ट्रिय नारी दिवस । विश्वभर आज ११२ औं नारी दिवस मनाईंदै छ । ‘सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमसहित यो दिवस मनाईंदैछ ।

हाम्रो समाजले वर्षैपिच्छे नारी दिवस मनाए पनि यही भएका विभेद र शोषण अन्त्य हुन सकेको छैन । लैंगिकता समानता हुनुपर्छ भनेर पटकपटक आवाज उठाइए पनि त्यो व्यवहारमा भने लागू हुन सकेको छैन । नेपालमा संविधानले लैंगिक आधारमा कुनै पनि महिलामा कुनै किसिमका असमान व्यवहार हुन नदिने प्रष्ट उल्लेख गरेको छ ।

तर, यहाँ महिला र पुरुषबीचको खाडल बढ्दो छ । दैनिक महिलामाथि हुने यौनहिंसा, विभेदका घटनाहरु बाहिर आइरहेका छन् । रगतको नाता भएकाहरुबाट समेत महिला पीडित हुँदै आएका छन् । २१ औं युगसम्म आइपुग्दा पनि महिलालाई हेरिने नजरमा फरक आउनसकेको छैन । पितृसत्तात्मक सोच, गरिबी र अशिक्षाका कारण महिलाहरुलाई माथि उठ्न र आफ्नो आवाज बुलन्द बनाउन निकै हम्मेहम्मे छ ।

जबसम्म महिलाहरु समाज र आफ्नै नातागोताबाट शोषित भइरहन्छन् तबसम्म महिला दिवसको लक्ष्य पूरा भएको मान्न सकिँदैन । हकअधिकारको लागि आफ्नो घरपरिवारसँग लड्नुपर्ने दिनको अन्त्य भएमा मात्र नारी दिवसको औचित्य पूरा भएको मान्न सकिन्छ । नारी दिवसलाई महिला जागरुकताको दिवस पनि भन्ने गरिन्छ । यो दिवसलाई सफल पार्नको लागि हरेक नारी उजागर हुनुपर्दछ ।

राष्ट्रिय महिला आयोगको उजुरी तथा मुद्दा व्यवस्थापन शाखा प्रमुख चमेला भट्टराईले नारीहरु आफै सशक्तिकरण भएमा महिला हिंसामा कमी आउने बताउनुभयो । हिंसाको विरोधमा महिलाहरुले नै आवाज उठाउनुपर्ने उहाँको भनाइ छ । साथै, उहाँले महिला हिंसामा पहिलेभन्दा केही कमी आएको जानकारी दिनुभएको छ ।

पढेलेखेका र बुझेका व्यक्तिले छोराछोरीबीच भेदभाव नगर्ने उहाँको बुझाइ छ । आर्थिक कमजोरी, अशिक्षित र नबुझेकाले लैंगिक भेदभाव बढी गर्छन्, भट्टराई भन्नुहुन्छ । राजनीतिक तवरबाट शुरु भएको महिलाअधिकार, महिला सशक्तिकरण र लैंगिक समानता आदि सवालहरू अहिले नारी दिवसका विषय बनेका छन् ।

कहिलेदेखि मनाउन थालियो नारी दिवस ?

नारी दिवस सर्वप्रथम् सन् १९०९ को फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको थियो ।

संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले २८ फेब्रुअरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो । सोसलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरी १९०९ को दिन महिला दिवस मनाएको हो ।

यसपछि यो फेब्रुअरीको अन्तिम आइतबारको दिन मनाउन थालियो । १९१० मा सोसलिस्ट इन्टरनेशनलको कोपेनहेगन सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दर्जा प्राप्त भयो । त्यो यसको प्रमुख ध्येय महिलाहरूलाई मतअधिकार दिनु थियो, त्यो समय कतिपय देशमा महिलाहरूलाई मताधिकार थिएन ।

सन् १९१७ मा रुसका महिलाले महिला दिवसमा गाँस र कपासको लागि हड्ताल गर्ने निर्णय गरे । यो हड्ताल पनि ऐतिहासिक थियो । त्यतिबेला रुसमा जुलियन क्यालेन्डरको प्रचलन थियो र बाँकी धेरैजसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो ।

जुलियन क्यालेन्डर अनुसार सन् १९१७ को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरीमा पथ्र्यो जबकी ग्रेगेरियन क्यालेन्डरअनुसार त्यस दिन ८ मार्च थियो । त्यतिबेला धेरैजसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलनमा थियो । त्यसैले ८ मार्चलाई महिला दिवसको रूपमा मनाउन थालिएको हो ।

टिप्पणीहरू