विकासको नाममा विनाश निम्त्याउँदै जगदम्बा

विकासको नाममा विनाश निम्त्याउँदै जगदम्बा

जगदम्बा पछिल्लो समय बजारमा नाम चलेको स्टिल कम्पनी हो । देशको मेरुदण्ड भन्दै जगदम्बा स्टिल कम्पनीले वर्षौंदेखि प्रचारप्रसार गर्दै आएको छ । तर, नाम चलेकै उद्योगले स्थानीय वातावरणलाई हानी नोक्सानी पुग्ने गरि प्रदुषण गर्दै आएको छ ।

मधेश प्रदेशको बारास्थित सिमरामा रहेको जगदम्बा स्टिलको सबैभन्दा ठूलो कारखानाले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गरि हानिकारक धुवाँको मुस्लो फ्याँकिरहेको छ । सरकारको मापदण्डभित्र नरही जगदम्बा स्टिलले आफ्नो उद्योग सञ्चालन गर्दै आएको पाइएको छ ।

मानवबस्तीको बीचमा यसरी उद्योग सञ्चालन गर्न नपाउने भनिए पनि स्टिल कम्पनीले अटेर गरिरहेको बताइन्छ । सरकारले दाउरा, कोइलाको प्रयोग हुने उद्योगहरु बस्तीबाट टाढा स्थापना गर्न भने पनि सम्बन्धित निकायको फितलो अनुगमनको कारण कार्यान्वयनमा जान नसकेको हो ।

यता, सम्बन्धित निकाय पनि चाल नपाएझैं बसिरहेको छ । उद्योग सञ्चालन गर्ने तर मापदण्ड पूरा नगर्नेलाई मातहतका निकायले कारबाही गर्न सकेको छैन । उद्योगले प्रदुषण गरेको भनी पटक पटक उद्योग हटाउन माग गरे पनि सुनुवाइ नभएको सो क्षेत्रका स्थानीयवासीको आरोप छ ।

‘हामीले धेरै पटक उद्योग यहाँबाट हटाउन माग गरे पनि जिल्ला प्रशासन कार्यालय नसुनेझैं गर्छ,’ एक स्थानीयवासीले अगाडि भने, ‘दिउँसो श्वासप्रश्वासमा निकै समस्या हुन्छ, बेलुकी कारखानाको आवाजले सुत्न सकिँदैन,’ उनी भन्छन् । बुझेर पनि बेवास्ता गर्नेहरुले समाजको बारेमा सोचिदिए यस्तो समस्या नआउने उनको भनाइ छ ।

कारखानाबाट निस्किएको धुवाँले बोटविरुवा, वायुमण्डल र पशुपंक्षीलाई पनि हानी पुग्न थालेको छ । कवाडी फलाम गाल्न निस्किएको धुवाँ एक हिसाबले विष पिएझैं हुन्छ । यस्तो धुवाँले अप्रत्यक्ष रुपमा मानव शरीरमा हानी पुर्याएकाले सो क्षेत्रका स्थानीयको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ । फलाम पेलेर निस्किएको धुँवाले अहिले केही प्रभाव नपरे पनि भविष्यमा निकै संकट पर्ने वातावरणविद्हरु बताउँछन् ।

पटक पटक भन्दा पनि टेरेको छैन : प्रशासन

जिल्ला प्रशासन कार्यालय, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जगदम्बा स्टिल उद्योगले विकासको नाममा विनाश निम्त्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वातावरणसँग समन्वय गरेर मात्र विकास गर्नुपर्छ । वातावरणलाई नै हानी पुर्याएर विकास गर्नुको कुनै औचित्य नभएको,’ उहाँको भनाइ छ ।

आफूहरुले त्यहाँबाट जगदम्बा स्टिल हटाउन पटक पटक आग्रह गर्दा पनि उनीहरुले अटेर गरेको उहाँ बताउनुहुन्छ । साथै, प्रजिअ कटुवालले राज्यको नीति योजना नै प्रभावकारी नभएको कारण यस्तो कार्य दोहोरिरहेको जनाउनुभएको छ ।

कानुन बन्ने बित्तिकै कारबाही हुन्छ : उद्योग मन्त्रालय

मधेश प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालयका सूचना अधिकारी बेचनकुमार महतोका अनुसार आजसम्म उद्योग नियमावली नभएकाले मापदण्डविपरीत सञ्चालन भएको कारखानालाई कारबाही गर्न नसकिएको हो । महतो भन्नुहुन्छ, ‘हाम्रो प्रदेशमा अझै पनि उद्योग नियमावली बनेको छैन ।’

त्यसैले पनि प्रावधान नपुगेको कारखानालाई कारबाही गर्न असहज भएको उहाँको भनाइ छ । कानुन बन्नेबित्तिकै अनुगमन गरेर मापदण्ड पूरा नगर्ने उद्योगलाई कारबाही गरिने सूचना अधिकारीको दाबी छ । मधेश प्रदेश उद्योग नियमावली बनाउने तरखरमा लागेको छ ।

यता, जगदम्बा स्टिल बाराका हेड अफिसर अनुराग शर्माले ती सबै आरोप झुठो भएको बताउनु भएको छ । स्टिल कम्पनीले वातावरण र मानव शरीरलाई हानी नोक्सानी पुग्ने कुनै पनि कार्य नगरेको उहाँको दाबी छ । जगदम्बा स्टिलले कुनै प्रदुषण नफैलाएको उहाँ बताउनुहुन्छ ।

टिप्पणीहरू