जहाँ उडान परीहरु दिनहुुँ बढ्दैछन्

जहाँ उडान परीहरु दिनहुुँ बढ्दैछन्

नेपालका हरेक क्षेत्रमा महिलाको सहभागिता बढ्दो छ । आर्थिक, सामाजिक,शैक्षिक,स्वास्थ्य लगायतका क्षेत्रमा महिला पनि पुरुष जत्तिकै सक्रिय छन् । अहिले घरदेखि वनसम्म महिला र पुरुषको बराबरी सहभागिता छ । महिलाहरुले पनि आफ्नो कामको दायरालाई फराकिलो बनाउँदै लगेका छन् ।

विगतमा घर र चुल्हो चौकामा सीमित महिलाहरु अहिले आफ्नो सपनाको उडान भरिरहेका छन् । जति नै दुःख कष्ट भए पनि चुनौतीलाई टकराव दिँदै उनीहरु अघि बढिरहेका हुन् । इञ्जिनियर,डाक्टर,नर्समा पछिल्लो समय महिलाहरुको सहभागिता बढ्दो छ । त्यसमा पनि महिला पाइलटको संख्यामा उल्लेख्य बृध्दि भएको हो ।

पाइलट आफैँमा एक चुनौतीपूर्ण पेशा हो । जसमा सानो गल्तीले पनि ठूलो क्षति पुग्न सक्छ । उक्त पेशामा आँट, सीप,जागरुकता,आत्मबल सबै गुण आवश्यक पर्छ । गर्न चाहेमा के हुँदैन भन्ने उदाहरण महिला पाइलटहरुले दिइरहेका छन् । पाइलट गौरवमय पेशा हो भने महिला पाइलटको शान र मान छुट्टै देखिन्छ ।

नेपालमा महिला पाइलटको आगमन कसरी भयो ?
नेपालको आकाशमा उडान भर्ने पहिलो महिला पाइलटको रुपमा सोनी राणालाई चिनिन्छ । बिक्रम संवत २०२२ सालमा जन्मिएकी राणा नेपाली महिलाहरुको निम्ति प्रेरणा बन्न सफल बनिन् । पुरुषको दबदबामा चलेको नेपाली समाजमा महिलालाई माथि उठ्न त्यति सहज नभए पनि परिवारजनको सहायताले उनी पाइलट बनरै छाडेकी हुन् ।

घरधन्दामै सीमित नारीलाई सोनीले घरबाहिर पनि संसार छ भन्ने अवगत गराइन् । नेपालको पहिलो व्यवसायिक महिलाको रुपमा राष्ट्रिय इतिहास रचेकी सोनीले हालसम्म उडानका क्षेत्रमा थुप्रै रेकर्ड कायम गरिसकेकी छन् ।

जहाज उडाउने सपना बोकेर अमेरिका पुगेकी सोनीले नेपालबाट पहिलो महिला पाइलटको लाइसेन्स हासिल गरिन् र सन् १९९० सम्म कल्पनामै सीमित नेपाली महिला पाइलटको सपनालाई साकार पार्न सफल भइन् । पछिल्लो समय महिला पाइलटको लाइसेन्स कसले पहिले लिएको भन्ने विषय विवादित बनेको छ । यो विषयमा नागरिक उड्डयन प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्याण्डर्ड डिपार्टमेण्टका प्रमुख राजु श्रेष्ठले अमेरिकाबाट पाइलटको लाइसेन्स लिएर आउने पहिलो नेपाली महिला रक्षा राणा भएको बताउनुभएको छ । त्यसैगरी,नेपालमै लाइसेन्स लिएर पहिलो उडान भर्ने महिला भने पाइलट सोनी राणा भएको उहाँको भनाइ छ ।

“यो पेशा रोज्नेको मुटु निकै नै दह्रो हुनुपर्दछ । साथै,आर्थिक स्रोत पनि बलियो हुनुपर्छ । नेपालमा पाइलटको अध्ययन गर्ने व्यवस्था नभएकाले यो निकै खर्चिलो छ ।”

कुन एयरलाइन्समा कति महिला पाइलट ?
मुलुकका विभिन्न आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा महिला पाइलटहरुले सानादेखि ठूला हवाइजहाज उडाइरहेका छन् । नेपालमा सबैभन्दा धेरै महिला पाइलट भएको एयरलाइन्सको रुपमा यति एयरलाइन्सलाई चिनिन्छ । उक्त एयरलाइन्समा हाल १० जना महिला पाइलट छन् भने तीन जना लाइसेन्स लिएर पालो पर्खिरहेका छन् ।

त्यसैगरी,नेपाल वायुसेवा निगममा नौ जना महिला पाइलट छन् । बुध्द एयरका आठ महिला पाइलटले आकाशमा जहाज उडाइरहेका छन् । हाल गुण एयरलाइन्समा दुई जना महिला पाइलट कार्यरत छन् । त्यसैगरी,सीतामा दुई र श्री एयरलाइन्समा पनि दुई जना महिला पाइलट छन् ।

गुण एयरलाइन्सका अपरेशन अपरेटर पवन थापाले पछिल्लो समय हवाइजहाज उडाउनेमा महिलाको संख्या बढेको बताउनुभयो । ‘पहिले एकाध महिला पाइलट हुनुहुन्थ्यो, अहिले एयरलाइन्सपिच्छे हुनुहुन्छ,’ उहाँले भन्नुभयो ।

त्यसमध्ये पनि बुध्द एयरमा सबैभन्दा धेरै महिला पाइलट छन् । बुध्दमा हाल छ जना क्याप्टेन छन् भने दुई जना कोपाइलट छन् । त्यसैगरी, यतिमा तीन जना पाइलट र सात जना कोपाइलट छन् । गुण एयरलाइन्समा दुई जना महिलाले कोपाइलट बनेर उडान भरिरहेका छन् । यता,श्री एयरलाइन्समा एक जना पाइलट र एक जना कोपाइलट छन् । सीता एयरलाइन्समा कार्यरत दुबै जना कोपाइलटको रुपमा कार्यरत छन् ।

पाइलट बन्नलाई के गर्नुपर्छ ?
पाइलट एकदमै साहसिक पेशा हो । यो पेशा रोज्नेको मुटु निकै नै दह्रो हुनुपर्दछ । साथै,आर्थिक स्रोत पनि बलियो हुनुपर्छ । नेपालमा पाइलटको अध्ययन गर्ने व्यवस्था नभएकाले यो निकै खर्चिलो छ । पाइलट बन्नको लागि प्लस टुमा विज्ञान विषय लिएर अध्ययन गरेको हुनुपर्छ । त्यसअन्तर्गत पनि गणित र भौतिक विज्ञान अनिवार्य छ । यो विषय लिएर पढेकाले नागरिक उड्डयन प्राधिकरणले तोकेको मुलुकको तोकिएका संस्थामा गएर अध्ययन गर्नुपर्छ ।

फ्लाइट सेफ्टी स्ट्याण्डर्ड डिपार्टमेण्टको लाइसेन्स इकाइ प्रमुख जानुका खनालका अनुसार बाहिरबाट प्राइभेट पाइलट लाइसेन्सको कोर्स गरेर आएका पाइलटहरुले झण्डै दुई सय घण्टा तालिम लिनुपर्छ । दुई सय घण्टा लिएपछि प्राधिकरणले लिने परीक्षामा उत्तीर्ण हुनेले मात्रै कमर्सियल पाइलट लाइसेन्स (सीपीएल) को लाइसेन्स पाउँछन् । यो लाइसेन्स लिएका व्यक्तिलाई मात्रै एयरलाइन्स कम्पनीहरुले आवश्यकताका आधारमा अवसर दिने गरेका छन् ।

टिप्पणीहरू