मेयर साहेब,के पाइन्छ गरिव मारेर ?

मेयर साहेब,के पाइन्छ गरिव मारेर ?

पछिल्लो समय सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ । सबैको मन कुटुक्क पार्ने उक्त भिडियो गत शनिबार साँझ ५ बजेको हो । भिडियोमा फुटपाथ छेउ ठेलागाडामा सुन्तला बेचिरहेका एक पुरुषमाथि काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले बलजफ्ती गरेको देखिन्छ ।

फुटपाथमा सामान्य व्यवसाय गरेर पेट पाल्नेमाथि यसरी बलजफ्ती गर्नु अपराध भएको त्यहाँ वरपरकाले बताइरहेको भिडियोमा देख्न सकिन्छ । ऐनकानुन पालना गराउने नाममा यसरी हातपात गर्न नमिल्ने सर्वसाधारणको भनाइ छ ।

यता, कतिपयले चुनावको मिति नजिकिँदै आएकाले मेयर विद्यासुन्दर शाक्यले नगर प्रहरीहरुलाई ताण्डव गर्न लगाएको आरोपसमेत लगाएका छन् । फुटपाथ सर्वसाधारण हिंड्नको लागि बनाइएको हो, व्यापार गर्नका लागि होइन । पैदलयात्रीलाईअवरोध गर्नेगरी फुटपाथमा व्यवसाय सञ्चालन गर्न नपाइने भनेर कानुनमा उल्लेख गरिएको छ । तर, नेपालमा यस्ता हजारौं परिवार छन् जसले फुटपाथ व्यवसाय गरेर परिवारको पेट पालिरहेका छन् । उनीहरुको वैकल्पिक व्यवस्था नगरी बलजफ्ती गर्नु कति जायज होला ?

दुई छाक टार्नका निम्ति फुटपाथमा पसल थाप्नुपर्ने बाध्यता धेरैको छ । आयस्रोतको अन्य बाटो नभएकाले के गर्ने ? भोकभोकै बस्न सकिँदैन । रोजगारी गर्न जान हातमा सीप छैन, टन्न पढाइ लेखाइ पनि छैन । यता, पढाइ लेखाइ भएका त बेरोजगारको ट्याग लिएर बसेका छन् । पैदलयात्रीलाई असहज हुनेगरी सडक छेउछाउ पसल थाप्नु उनीहरुको रहर होइन बाध्यता हो भन्ने कुरा काठमाडौँका मेयरले बुझ्नुपर्छ ।

“सिधै हात र लात प्रहार गर्नु कहाँको मानवीय धर्म हो ? काठ्माडौं कुरुप बनाएको यिनै गरिबहरुले हो ?”

महानगरपालिका पछिल्लो समय फुटपाथ व्यवसायी हटाउन अग्रसर बनेको छ । तर,त्यसअघि उनीहरुलाई व्यवस्थित गरेर व्यापार सञ्चालन गर्न दिनेतर्फ महानगरले वैकल्पिक योजना बनाउनुपर्छ । चुनाव जितेर आएको पाँच वर्षसम्म शिलान्यास र उद्घाटनमै व्यस्त मेयर शाक्यले कार्यकाल समाप्तितिर पुग्दा काम गरेको देखाउन फुटपाथ व्यवसायीमाथि अत्याचार गरेको व्यवसायीहरुको आरोप छ । यसलाई व्यवस्थापन गरेर व्यापार गर्न दिने सोच मेयरमा कहिल्यै नआएको उनीहरु गुनासो गर्छन् ।

गाडामा फलफूल बेच्ने एक व्यवसायीले मेयर शाक्यले गरिबको पेटमा लात हानेको बताए । लुटेर खानेमाथि चुइँक्क पनि बोल्न नसक्ने स्थानीय सरकारले आफ्नो काम गरेर खाने गरिबमाथि थिचोमिचो गरेको उनले आरोप लगाए । ‘सडकको छेउमा धुलो खाएर बस्नु कसैको रहर होइन भन्ने यी जनप्रतिनिधिहरुले बुझ्नु पर्दैन’, उनले भने ।

‘महानगरभित्र सडक छेउछाउमा ठुल्ठूला स्टल राखेर व्यवसाय गर्नेपनि धेरै छन् । तर, नगरप्रहरी उनीहरुलाई देखेपनि आँखा चिम्लेर हिंड्छ । ठूलालाई केही गर्न नसक्ने नगरप्र हरीले साना व्यवसायीलाई यसरी रुवाएर फलफूल लुट्नु र दुःख दिनु उचित हो ?’ आक्रोश पोख्दै अर्का ठेला व्यवसायीले भने । उनले नगरप्रहरीले फुटपाथ व्यवसायीलाई जहिलेपनि त्रासमा बस्नुपर्ने अवस्था सिर्जना गरेको बताए । ‘नगर प्रहरी देख्नेबित्तिक्कै अब सामान गयो भन्ने पर्छ’, उनी भन्छन्, ‘महानगरले हटाउनै चाहेको हो भने हामीलाई विकल्प दिनुपर्छ । प्रहरी लगाएर यसरी आतंकित पार्नु त अपराधै हो ।’

महानगरपालिकाले वर्षौदेखि फुटपाथ व्यवसायीलाई हटाउने योजना बनाउँदै आएको छ । बेलाबखत यसरी नै जबर्जस्ती हटाएको पनि छ । तथापि फुटपाथ व्यवसायीहरुले पसल राख्न छोडेका छैनन् । महानगरले उनीहरुलाई व्यापार गर्न निश्चित ठाँउ तोकिदिने हो भने यो समस्या आफै समाधान हुन्छ ।

‘दुःख गरी पसिना बेचेर खानेमाथि यसरी दादागिरी देखाउनु नै गलत हो । सडकको छेउछाउ बसेर व्यापार गरिरहेकोमाथि सिधैं हात र लात प्रहार गर्नु कहाँको मानवीय धर्म हो ? काठ्माडौं कुरुप बनाएको यिनै गरिबहरुले हो ? यो प्रश्न तिनै नगरप्रहरीलाई । सानालाई चाहिँ ऐन, ठूलालाई चैन’, सर्वसाधारणहरुले काठ्माडौंका मेयरतर्फ औंला उठाएका छन् ।

काठमाडौँ महानगरका नगरप्रहरी इन्चार्ज धनपति सापकोटाले बलजफ्ती गर्न कुनै रहर नभएको बताए । ‘पहिले सम्झाएको हो, नमानेपछि बलजफ्ती गर्नुपरेको हो । हामीले ३० वर्षदेखि सोही काम गर्दै आएका छौं,अहिले पनि त्यही नै गरेको हो,उनी भन्छन् । माथिबाट आएको आदेशअनुसार काम गरेको हो’, उनले भने ।

तर, यसका सरोकारवालाहरुले भने फुटपाथ व्यवसाय हटाउने भन्दा पनि व्यवस्थापन गर्नुपर्ने बताउने गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमल्सिनाले यसरी हातपात गर्नु दादागिरी नै भएको बताए । उनले भने, ‘यो घटनाले राज्यले आफ्ना नागरिकप्रति दायित्व नलिएको देखिन्छ ।’

सरकारले कतै पनि ठाँउ नदिँदा उनीहरु सडकमा आएर व्यापार गर्न बाध्य भएको उनको बुझाइ छ । ‘फुटपाथ व्यवसायलाई सरकारले पहिचान नगर्दा बारम्बार यस्तो घटना दोहोरिएको हो’, तिमल्सिनाले भने । साथै, उनले महानगरसँग फुटपाथ व्यवसायनिम्ति निश्नित ठाउँ तोकिदिन मागसमेत गरे ।

टिप्पणीहरू