बौद्ध : अव्यवस्थित सवारी पार्किङ र फुटपाथको पर्यायवाची

बौद्ध : अव्यवस्थित सवारी पार्किङ र फुटपाथको पर्यायवाची

फुटपाथ तथा सडक किनारमा अव्यवस्थित सवारीसाधन पार्किङ र ठेलागाडा व्यवसाय सञ्चालन गर्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । जोरपाटी चोकबाट दक्षिण ढोकातर्फको फुटपाथ र सडक किनारमा दुबैतर्फ सवारीसाधन पार्किङ गर्दा सर्वसाधरणहरुले सास्ती व्यहोर्नुपरेको हो ।

जोरपाटी चोकबाट सुन्दरीजलतर्फको सडकको फुटपाथ र सडक किनारमा सवारीसाधन पार्किङ गरिरहेका कारण पैदलयात्रीहरु सडकबाट हिँड्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको सर्वसाधरणको गुनासो छ ।

‘स्थानीय ज्योति विकास बैंक अगाडि ठेलगाडामा सामान राखेर व्यापार गर्ने र जथाभावी सवारीसाधन पार्किङ गरिएको कारण हाटबजार लागेजस्तै भीड देखिने गरेको छ,’ स्थानीयले बताए ।

जोरपाटी ओरालोमा फुटपाथ र सडक किनारमा पार्किङ गरिएका सवारीसाधनलाई एक दिन ह्विल लक लगाइएको थियो । त्यस्तै, गोकर्णेश्वर नगरपालिका ५ को कार्यालय अगाडि ट्राफिक प्रहरीले एक लाइन फुटपाथ छुट्ट्याएर सडक किनारतर्फ सवारीसाधन पार्किङ गर्न दिने काम पनि गरेको छ ।

जोरपाटी चोकबाट बौद्धतर्फको फुटपाथ र सडक किनारमा भने जथाभावी सवारीसाधन पार्किङ गरिएका कारण पैदलयात्रीहरु सडकबाट हिँड्न बाध्य भएका छन् । तर सम्बन्धित निकायको ध्यान पुगेको देखिँदैन । यस विषयमा गोकर्णेश्वर नगरपालिका र महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धको ध्यानाकर्षण हुन जरुरी रहेको स्थानीयको भनाइ छ ।

मेयर भन्छन्, ‘छिट्टै नयाँ नियम बनाउँछौं’

फुटपाथमा अव्यवस्थित व्यापार गर्ने र सडक किनारमा जथाभावी सवारीसाधन पार्किङका विषयमा गोकर्णेश्वर नगरपालिकाले पटक पटक सूचना जारी गरेको दाबी गरेको छ । आज जनआस्थासँग कुराकानी गर्दै नगरपालिकाका मेयर सन्तोस चालिसेले सूचना जारी गरिए पनि कसैले नटेरेको स्वीकार गर्नुभयो ।

मेयर चालिसेले नगरपालिकाले फुटपाथ व्यवस्थापनका लागि सक्दो पहल गर्दै आए पनि सडक छेउमा ठेलागाडा राखेर अव्यवस्थित बजार सञ्चालन गरेकाले भीड बढेकोमा सहमति जनाउनुभयो । ‘सडकमा भीड बढ्यो भन्दै सर्वसाधरणहरु गुनासा लिएर आउँछन्, हामीले पनि सक्दो पहल गरेका छौं,’ उहाँले भन्नुभयो ।

सडकबाट फुटपाथ व्यवसायी हटाउन भएको मेयरको भनाइ छ । तर, नगरपालिकाले छिट्टै नियम बनाएर ठेलागाडाबाट हुने भीडभाड न्यूनीकरण गर्ने नगरपालिकाको योजना रहेको बताइन्छ । ठेलागाडामा व्यापार गर्ने अधिकाशंले बालबच्चा लिएर आउने र हटाउन जाँदा बालबच्चा भोकै मर्छन् भनेर दुःख सुनाएपछि आफूहरुले जर्बजस्ती गर्न गाह्रो भएको मेयरले बाध्यता सुनाउनुभयो ।

सडकबाहेक अन्य खुल्ला क्षेत्रमा ठेलागाडा व्यापारीलाई स्थानान्तरण गर्न नगरपालिकाले ठाउँ दिनेभन्दा पनि उनीहरुले नगरपालिकाले तोकेको बजारमा आफूहरुको व्यापार नहुने बताएका छन् । उनीहरुले सडकमा चिच्याउँदै हिँड्दा मात्र दिनमा दुई तीन सयको कारोबार हुने स्वीकारेका छन् ।

नगरपालिकाले निश्चित ठाउँ र समयमा त्यस्तो व्यवसाय सञ्चालन गर्ने विषयमा मापदण्ड बनाएर अघि बढ्न लागिएको मेयर चालिसेले जानकारी दिनुभएको छ । सडक किनारमा सवारीसाधनको अव्यवस्थित पार्किङका विषयमा उहाँले ट्राफिक प्रहरीसमेत हायलकायल भएको बताउनुभयो ।

यस विषयमा नगरपालिकाले ट्राफिक प्रहरीसँगको सहकार्यमा सक्दो प्रयास गरेको बताइन्छ । तर सार्वजानिक यातायात तथा दुई पाङ्ग्रे सवारी साधनहरु सडक किनारमा अव्यवस्थित रुपमा रोकेर राखिदिने गरेकाले भीडभाड बढेको नगरपालिकाको निश्कर्ष छ ।

नागरिकको चेतनास्तरमै समस्या : ट्राफिक प्रहरी

महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धले सडकमा अनावश्यक पार्किङ गर्ने तथा फुटपाथमा ठेलागाडा सञ्चालन गर्नेलाई कारवाही गर्दै आएको जनाएको छ । आज जनआस्थासँगको कुराकानीमा महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धका इन्सपेक्टर सुरज बहादुर खड्काले नागरिकको चेतनास्तर कमजोर भएका कारण जति कारवाही गर्दा पनि नर्टेने गरेको दुःखेसो पोख्नुभयो ।

‘जथाभावी र अव्यवस्थित पार्किङ हुन दिएका छैनौं । ट्राफिक प्रहरी नभएको मौका छोपेर सडक किनारमा पार्किङ तथा फुटपाथ व्यवस्याय सञ्चालन गर्छन् । पटक पटक कारवाही गर्दा पनि टेर्दैननु,’ इन्सपेक्टर खड्काले भन्नुभयो ।

फुटपाथ व्यवसायीको विषयमा नगर प्रहरीले ध्यान दिनुपर्ने ट्राफिकको भनाइ छ । ‘आफूहरुले सकेजति कारवाही गरेको र उनीहरुको सामान बरामद गरेर नगरपालिका पठाउने गरेका छौं,’ खड्काले भन्नुभयो । पछिल्लो समय सडकमा भीडभाड बढ्नुको कारण चुच्चेपाटीदेखि नारायनटार पुलसम्म अपाङ्गमैत्री फुटपाथ बन्दै गरेको र सडक छेउछाउमा राखिएको निर्माण सामग्री रहेको उहाँको निश्कर्ष छ ।

त्यस क्षेत्रको सडकको संरचना नै साघुँरो भएकाले भीड हुनु स्वाभाविक हो । केही स्थानमा सिंगल पार्किङ्गको व्यवस्था भए पनि ट्रफिक नियम उल्लघन गर्दै जथाभावी पार्किङ गर्नेलाई कारवाही गरिएको ट्राफिक प्रहरीको दाबी छ । फुटपाथ व्यवसायीहरुको विषयमा भने नगरपालिकाले बढी ध्यान दिनुपर्ने खड्काको धारणा छ । गोकर्णेश्वरका मेयर सन्तोस चालिसेले भने आफूहरु ट्राफिक प्रहरीसँगको सहकार्यमा अगाडि बढेको बताउनुभयो ।

टिप्पणीहरू