चितवनमा ‘कोल्डड्रिंक्स’ पछि वाइवाइलगायत चाउचाउ निषेध

चितवनमा ‘कोल्डड्रिंक्स’ पछि वाइवाइलगायत चाउचाउ निषेध

‘कोल्डड्रिंक्स’ मा प्रतिबन्ध लगाएको चितवनको इच्छाकामना गाउँपालिकाले चाउचाउ पनि निषेध गर्ने भएको छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न र सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै ‘कोल्डड्रिंक्स’ मा प्रतिबन्ध लगाएको गाउँपालिकाले तयारी चाउचाउमा पनि निषेधको तयारी थालेको छ । 

स्थानीय किसानका उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको उपाध्यक्ष माया सिलवालले बताइन् । गाउँपालिकाको कार्यालयमा आउने अतिथिलाई गर्मीको समयमा मोही र दहीले स्वागत गर्न थालिएको उनले जानकारी दिइन् । गाउँपालिकामा यो व्यवस्था लागू भएको एक वर्ष भइसकेको छ । 

उनले भनिन्, ‘गाउँपालिकाको कार्यालयमा यो व्यवस्था लागू भएको एक वर्ष भइसक्यो । यहाँ आउने अतिथिलाई हामीले दही र मोहीले स्वागत गर्ने गरेका छौं । वडाहरुमा पनि यो व्यवस्था लागू गर्छौं । त्यसपछि स्थानीय पालिकामा लागू गर्ने तयारी छ । कोल्डड्रिंक्सभन्दा दही र मोहीको प्रयोग गर्न सके स्थानीय उत्पादनको प्रवद्र्धन गर्न सकिन्छ भनेर हामीले यो निषेध गरेका हौं । स्वास्थ्यको दृष्टिकोणले पनि दही र मोही नै राम्रो हुन्छ ।’

हाल गाउँपालिकामा दैनिक १० लिटर दही र मोहीको खपत हुने गरेको छ । उपाध्यक्ष सिलवालका अनुसार जाडो मौसममा अतिथिलाई चिया दिने गरिएको छ । अब गाउँपालिकाभित्र चाउचाउ पनि निषेध गरिने उनले बताइन् । गाउँपालिकाको कार्यालय र विद्यालयमा चाउचाउमा प्रतिबन्ध लगाइसकेको र अब पालिकामा पनि लगाउने उनको जिकिर छ । 

भन्छिन्, ‘विद्यालयमा चाउचाउ दिने गरिएको छैन, निषेध छ । गाउँपालिकामा पनि चाउचाउ निषेध छ । चाउचाउको सट्टा हामी मकै, भट्मास दिन्छौं, खान्छौं । पालिकामै चाउचाउमा प्रतिबन्ध लगाउने तयारी छ । यस विषयमा गाउँपालिकामा छलफल गर्छौं । चाउचाउ स्वास्थ्यका लागि एकदमै हानिकारक छ ।’ 

छिटो–मिठो खाजाको रुपमा परिचित चाउचाउ मन्द विष हो । यसले मोटोपना बढाउने मात्रै नभई मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मुटुसम्बन्धी रोग लाग्ने चिकित्सकहरुले बताएका छन् । विवादास्पद व्यापारी तथा सांसद विनोद चौधरीको सिजी ग्रुपले उत्पादन गरेको ‘वाइवाइ’ चाउचाउमा घातक रसायन भेटिएपछि काठमाडौं महानगरपालिकाले केही दिनअघि जरिवाना तिराएको थियो । 

चाउचाउमा मानिसलाई क्यान्सर हुनसक्ने घातक रसायन भेटिएपछि महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना र ब्याच नम्बर ६० जीएमआरएस २० एआर वाइएल २३ सीएचआइ २०८० को सबै उत्पादन बजारबाट फिर्ता लिन निर्देशन दिएको हो ।

टिप्पणीहरू