महानगरको नि:शुल्क लोकसेवा तयारी कक्षामा १७७ जना छानिए

महानगरको नि:शुल्क लोकसेवा तयारी कक्षामा १७७ जना छानिए

काठमाडौं महानगरपालिकाले स्थानीयबासीका लागि लक्षित गर्दै शुरु गरेको नि:शुल्क लोकसेवा तयारी कक्षा आजबाट सञ्चालनमा आएको छ । 

महानगरले गत वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन इच्छुकसँग आवेदन मागेको थियो । जसमा २०५ जनाको आवेदन परेको र तीमध्ये १७७ जनालाई छनौट गरेर कक्षा शुरु गरिएको हो । 

कक्षा लिनेमा ७२ जना नायब सुब्बा र खरिदार तथा १०५ जना शाखा अधिकृत पदका लागि रहेको महानगरले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले महानगरबासीमा राष्ट्रसेवक कर्मचारी बन्ने अभिलाषा वृद्धि गराउन र परीक्षामा सफल बनाउन कक्षा सञ्चालन गरिएको बताए । 

चैतन्य एकेडेमीसँगको सहकार्यमा शुरु भएको लोकसेवा तयारी कक्षा आउँदो भाद्रसम्म सञ्चालन हुने महानगरले जानकारी दिएको छ । कक्षामा ४० वर्ष उमेर पूरा नभएका महिला तथा ३५ वर्ष उमेर ननाघेका पुरुष सहभागी भएका छन् ।

टिप्पणीहरू