ठूलाको रिस सानामाथि,१० घण्टामै बालकको उध्दार

ठूलाको रिस सानामाथि,१० घण्टामै बालकको उध्दार

कोशी गाउँपालिका ७ नेपाल-भारत सीमा नजिकैबाट अपहरणमा परेका १३ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्दार गरेको छ । साथै अपहरणमा संलग्न रहेको अभियोगमा भारत सुपौल ग्राम पन्चायत बलबदैपुर ६ बैरियाकमाल बस्ने मुकुम मियाँलाई समातिएको छ ।

बालक अपहरणमा परेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतीय प्रहरीसमेतको सहयोगमा अपहरण गरी राखिएको घरबाटै बालकको उद्दार गरेको हो । मियाँ नेपालबाट भारततर्फ ज्याला मजदुरी गर्ने कामदार लैजाने ठेकेदार रहेको बताइएको छ ।

उनलाई नेपाली कामदार १५ र २० जनाको संख्यामा उपलब्ध गराई दिन्छु भनी सुनसरी कोशी गाउँपालिका ७ बस्ने भुल्टन सदा लगायत ५ जनाले अग्रिम २ लाख भुक्तानी लिएर कामदार पठाउने भनेका थिए ।

तर उनीहरुले कामदार नपठाएपछि मियाँ लगायतको समूहले भुल्टन सदाको गाउँकै ती बालकलाई अपहरण गरी कुटपिटसमेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

अपहरणमुक्त बालकलाई अभिभावकको जिम्मा लगाउनुका साथै मियाँउपर अपहरण तथा शरीर बन्धक कसूरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

टिप्पणीहरू