जताततै ब्राउन सुगरका कारोबारी र अम्मली

जताततै ब्राउन सुगरका कारोबारी र अम्मली

लागुऔषध कोकिनको कारोबार गर्ने उद्देश्यले नेपाल आएका ३ जना विदेशी समातिएका छन् । उनीहरुले २ केजी ९ सय ६६ ग्राम कोकिन बोकेर ल्याएको प्रहरीले बताएको छ । कतार एयरवेजको उडानद्वारा दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट कतार हुँदै भदौ ३ गते काठमाडौं आएका उनीहरु कोकिनसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा राहदानी नम्बर ए०९२६७५१३ वाहक दक्षिण अफ्रिकी नागरिक ३० वर्षीया शेर्ली गामा,भारत बैङ्लोरको किडाथी, कर्नाटक ठेगाना भएका ३३ वर्षीय विजय सिंह र राहदानी नम्बर टिएइ २५५९८१ बाहक तान्जानियाका नागरिक २६ वर्षीया गेर्तुदे लियोनार्ड किमारो रहेका छन् ।

प्रहरीका अनुसार गामाले कोकिन बिक्री गर्दै गरेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले कमलादीस्थित होटलबाट सोही दिन राति पक्राउ गरेको थियो । साथै विजयलाई कोकिन लिन आएको अवस्थामा भदौ ८ गते कमलादीबाट र उक्त कारोबारमा संलग्न किमारोलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुली खुर्कोटबाट भदौ ९ गते पक्राउ गरिएको हो ।

बरामद कोकिनको अवैध बजारमूल्य ८ करोड ८९ लाख ८० हजार रुपैयाँ रहेको बताइन्छ । उनीहरूउपर जिल्ला अदालत काठमाडौंबाट म्याद थपको अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

राजधानी काठमाडौंमा अवैध लागुऔषध खैरो हेरोइनको कारोबारी र अम्मली जताततै भेटिन थालेका छन् । हालै मात्र प्रहरीले ७ जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ परेकामा बर्दिया मधुवन नगरपालिका–८, का ३२ वर्षीय राजेन्द्र राना र मन्दिप शर्मा, बर्दिया गुलरिया नगरपालिका–२ का ३५ वर्षीय अकलेश यादव, नुवाकोट ककनी गाउँपालिका–५, का पिटर लामा, काठमाडौं टोखा नगरपालिका–६ का ३० वर्षीय जितु भन्ने सागर श्रेष्ठ, धादिङ नेत्रावती गाउँपालिका–४ का ३६ वर्षीय गोकुल तामाङ र धनकुटा खाल्सा शहिदभूमि गाउँपालिका–५ का ३० वर्षीय राजकुमार राई हुन् ।

उनीहरूमध्ये राजेन्द्र, मन्दिप, अकलेस, पिटर र सागरलाई २७ दशमलब ५ ग्राम ब्राउन सुगरसहित भदौ ४ गते र गोकुललाई ४ दशमलब ५ ग्राम तथा राज कुमारलाई ७० दशमलब ५ ग्राम ब्राउन सुगर र डिजिटल तराजुसहित भदौ ८ गते लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले पक्रेको हो ।

टिप्पणीहरू