एमालेभित्र छिर्न खोज्यो दक्षिण

नेपालमा भारतीय योजनाका त्यस्ता केही विषय बाँकी छैनन्, जो उसले कुनै न कुनै बाटोबाट छिराएको नहोस् । तर, एउटा विषयलाई कहिले यो त कहिले त्यो बाटोबाट छिराउने प्रयास असफल हुँदै आएको छ ।

संसद्भित्र ‘टङस्लिप’ भएर माधव नेपालले पार्टी एकलकाँटे शैलीको आलोचनामा बोलेको कुराबाट हौसिएका दक्षिणी खेलाडीले हिसाब–किताब निकालेरै हुनुपर्छ, प्रणव मुखर्जीको नेपाल भ्रमणका बेला जम्मा दुई जनालाई मात्र भारत भ्रमणको निम्तो दिइयो र दुबै एमालेका थिए । राष्ट्रपतिलाई एमालेभित्र नजोड्दा एक मात्र एमाले नेता निम्तिए तर गएनन् । उनी हुन्, मुखर्जीका पुराना मित्र माधव नेपाल । यस्तो निम्तो पाएपछि अनुशासनमा पक्का मानिने नेपालले आफू प्रमुख रहेको पार्टीको विदेश विभागमा छलफल चलाए । अध्यक्ष केपी ओलीलाई पनि सुनाए । ती दुबै ठाउँबाट नजानु उपयुक्त हुने राय पाएपछि गएनन् । स्पष्ट छ, भारत एमालेभित्र खेल्न खोज्दै छ । राम्रै मनसायले माधव नेपाल भारत गए भने पनि त्यसको सन्देश एमालेका निम्ति राम्रो हिसाबले जाँदैन । भारतले माधवलाई एमाले नेताका रूपमा नभएर ‘पूर्वप्रधानमन्त्री’ का रूपमा बोलाएको भन्दै दोहो¥याई–तेहे¥याई भ्रमण तालिकाबारे सोधेको उनले विदेश विभागको छलफलमा सुनाए ।

माधव नेपाललाई भ्रमण गराउने प्रयास सफल नभएपछि भारतीय योजनामै एमालेको २ नं. प्रदेशका सांसदहरूलाई ‘चलाउने’ प्रयास भयो । उक्त प्रदेशका एक सांसदले हिजो बिहान जनआस्थालाई सुनाएअनुसार संविधान संशोधनका विषयमा एउटा कुनै भेला वा बैठक मात्रै बसे पनि लागे, परेको व्यहोर्ने र केही फाइदा पनि हुने सन्देश आएको थियो । यो कुरा जनआस्थालाई भन्नेबाहेकका सांसदसँग पनि भएको रहेछ । एक जना सांसदले त ‘गरे के हुन्छ र’ भन्दै भेला बोलाउनेबारे सल्लाह पनि गरेछन् । तर, बहुसंख्यक सांसदले मानेनन् । भेला भएन । तर, हाईरेटिङका अनलाइन न्युजपोर्टलदेखि ब्रोडसिट दैनिकसम्मले भेला हुँदैछ भनेर समाचार हाले । समाचार पढेर उपाध्यक्ष भीम रावलले दुई नम्बर प्रदेशका सबै सांसदलाई पालैपालो फोन गरेर सोधे । ‘हो’ कसैले भनेनन् । एक जनाले चाहिँ ‘प्रेसर त आएकै हो कमरेड’ भनेर सुनाए ।

टिप्पणीहरू