विघटन बदर भएको त्यो रात,भीम रावलमाथि समेत अनेक बात

विघटन बदर भएको त्यो रात,भीम रावलमाथि समेत अनेक बात

आफूले प्रधानमन्त्रीको कुर्सी छाड्नुपरे पार्टीका अरु कोही बस्न नमिल्ने गरी भाँचिदिने बताउनुभएका एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त चेतावनी अन्ततः सत्य साबित भएको छ । गत सोमबारको सर्वोच्चको फैसलापछि उहाँ हटेपनि उक्त कुर्सीमा अर्कै दलका नेताले मौका पाउनुभएको छ । तर,आफ्नो दल सबैभन्दा ठूलो हुँदाहुँदै पनि अरुले त्यो कुर्सीमा बस्ने अवसर पाएनन् ।

साइतपछिको पोते भनेझैँ अहिले बेला घर्किएपछि अध्यक्ष ओली निकट कमरेडहरु नै बरु शेरबहादुरलाई प्रधानमन्त्री दिनुभन्दा त माधवलाई दिएको भए के बित्थ्यो ? भनेर थकथकाउन थालेको अवस्था छ । किनकि त्यसो गरिएको भए त्यो सरकार नै वास्तविक र पूर्णरुपमा केपी ओलीको हुन्थ्यो । माधवमाथि केपीको नियन्त्रण सतप्रतिशत कायम हुन्थ्यो । किनभने पार्टी कमाण्ड उहाँमा नै छ । पार्टीसँग सल्लाह नगरी त्यस्तो सरकारले सिन्को पनि भाँच्न सक्दैनथ्यो । तर,कसको रिसले ओछ्यान भिजाउने भन्ने उखान अहिले एमालेमा लागू भएको छ ।

नेतृत्वबीचको चर्को रिस र पानी बाराबारको उत्कर्ष सोमबार दिउँसो मञ्चन भएपछि त्यहि दिन राति बालुवाटारमा बोलाइएको स्थायी समिति बैठकअघि स्वयम् अध्यक्ष ओलीनिकट नेताहरुले उहाँको चर्को आलोचना गरेको तथ्य बाहिरिएको छ ।

दिउँसैदेखि उपाध्यक्ष भीम रावल तथा कार्यदलका सदस्यहरु सुरेन्द्र पाण्डेलगायतले उपमहासचिव तथा ओलीनिकट कार्यदल सदस्य विष्णु पौडेलहरूलाई तारन्तार फोन गर्नुभएको थियो । पाण्डेले सार्वजनिक रुपमै त्यहि दिन साँझ आफूहरूले पौडेलमार्फत् साँझ बोलाइएको स्थायी समिति बैठक स्थगननिम्ति गरिएको आग्रहको जवाफ पर्खेको जानकारी गराउनुभएको थियो ।

किनभने धेरै दिनदेखि वरिष्ठ नेता नेपालले रावलहरुलाई कार्यदलको बैठक एकाध दिन रोक्न आग्रह गर्नुभएको थियो । तर पनि रावल र पौडेलहरुले रातको समयमा भएपनि दिनहुँजसो छलफल गरेर असार २८ गते अगावै एउटा सहमतिमा पुग्ने पहल गर्नुभयो । २७ गते रातिको १० बुँदे सहमतिले नेपाल र ओली दुबैको एजेण्डा सकिएको उहाँहरुको ठहर छ ।

त्यसैले २८ गते अदालतको फैसला लगत्तै नेपालले रावललगायतका नेताहरूसँग पाँच दलको गठबन्धनको बैठकमा गएर आफूले गठबन्धनमा आबद्ध नहुने जानकारी गराउनुभएको थियो । रावलहरुले उक्त बैठकमा नजान अनुरोध गर्नुभएको तर नेपालले बैठकमा उपस्थित भएर आफू गठबन्धनबाट अलग्गिएको घोषणा गर्ने जनाउ दिनुभएको थियो ।

त्यहिबीचमा सोमबार साँझ गठबन्धनले बूढानीलकण्ठमा बैठक डाकेको थियो । तर उहाँले आफू बूढानीलकण्ठमा बोलाइएको बैठकमा नआउने जनाउ दिएपछि काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुले ‘त्यसो भए हामी सबै तपाईंकोमा आउँछौं’ भन्नुभएर कोटेश्वरमा बैठक बसेको स्रोतले बताएको छ ।

तर नेपालको घरमा धेरै जना अटाउने बैठक कोठा नभएपछि नजिकै वन पैदावारको कार्यालयमा बैठक सारियो । उपाध्यक्ष रावललाई दिइएको वचनअनुरुप नै नेपालले बैठकमा उपस्थित भएर आफू गठबन्धनबाट अलग रहेको जानकारी गराउनुभएको हो । अधिकांश नेता तथा कार्यकर्ताले नेपालको उक्त निर्णयलाई ठीकै रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुको निचोड छ, ‘राजनीतिक प्रतिस्पर्धामा एउटा मिसनको लागि चालिएको कदम पूरा भएपछि गर्ने त्यही हो ।’

त्यसपछि नेता रावलले वरिष्ठ नेता नेपालको उक्त सन्देश बालुवाटारमा उपमहासचिव पौडेललाई जानकारी गराउँदै साँझ स्थायी समितिको बैठक नराख्न आग्रह गर्नुभएको बताइन्छ । उहाँले, ‘माधव कमरेडले आज बेलुकी ५ बजेको गठबन्धन बैठकमा आफूलाई त्यसबाट अलग गर्दै हुनुुहुन्छ । त्यसपछि एमालेका दुई जना शीर्षस्थ नेता बसेर सल्लाह गर्दा राम्रो होला,’ भनेर जानकारी गराउनुभयो ।

नेता पौडेलले अध्यक्ष ओलीलाई उक्त कुरा सुनाउँदा १ प्रतिशत पनि नपत्याएपछि सबैलाई फसाद पर्यो । ओलीको भनाई उद्धृत गर्दै स्रोत भन्छ, ‘कहाँ हुन्छ त्यो,माधव नेपाल आफैँ सरकारमा जान्छन् । आफ्ना मान्छेलाई पनि मन्त्री बनाउँछन् । मलाई पत्यार छैन ।’

ओलीको त्यस्तो कुरो सुनेपछि कार्यदलमा रहेका ओलीनिकट वार्ताकारहरुलाई पनि समस्या पर्ने नै भयो । यी कुरा बालुवाटारस्थित प्रधानमन्त्री निवासको माथिल्लो तलाको किचेन बाहिरको बैठक कोठामा ओली निकट ८ जनाबीच भएको हो ।
त्यत्ति नै बेला ओलीले सोध्नुभयो, ‘ल भन्नुस् स्थायी समितिको बैठक के गर्ने ?’

अध्यक्षको प्रश्नको जवाफ दिँदै सबैभन्दा पहिले महासचिव ईश्वर पोखरेलले ‘अहिले तात्तातोमा नगरौं’ भन्दै थप्नुभयो, ‘बरु एक पटक दुई जना नेता बसेर सल्लाह गरौं,आज यो तात्तातोमा नगरौं ।’
लगत्तै नेता सुवास नेम्वाङ,विष्णु पौडेल,शंकर पोखरेल,पृथ्वीसुब्बा गुरुङ,प्रदीप ज्ञवाली र विष्णु रिमालले पनि त्यहि लाइनमा आफ्ना धारणा राख्नुभयो । बरु तीमध्ये ज्ञवालीको धारणा भने अरुको जस्तो स्पष्ट थिएन । अरु सबैले ‘आज बैठक नबोलाऔं’ भनेर किटानीसाथ भन्नुभएको थियो ।

सबै जना आफ्नो पक्षमा नदेखेपछि जुरुक्क उठेर ओली कड्किनुभयो । ओलीको भनाई जस्ताको तस्तै उल्लेख गर्दै भनिएको छ, ‘तपाईंहरू मलाई संकटको बेलामा साथ नदिने ? ठीक छ,म लुगा फेरेर आउँछु, तपाईंहरु सबै तलको हलमा जानुस् भनी हकार्दै जुरुक्क उठ्नुभयो ।’

सबैलाई जानुस् भनेपछि नेताहरू मुखामुख गरेर ओर्लन बाध्य हुनुभए । जानुस् भनेपछि अटेर गरेर बस्न पनि मिलेन ।

त्यसपछि बोलाइएको अनौपचारिक बैठकमा नेता नेम्वाङले सरकारी क्वार्टर बालुवाटारमा बसेर प्रधानमन्त्री अर्को नियुक्त नभएको अवस्थामा यस्तो बोल्न मिल्दैन भन्दै ओलीलाई सम्झाउनुभएको थियो । उहाँले ‘अहिले पनि देश हामीले नै चलाएका छौं,नयाँ प्रधानमन्त्री नियुक्त भइसकेको अवस्था छैन । त्यस्तो बेलामा प्रधानमन्त्रीले यसरी कडा बोल्दा दुनियाँले के भन्छ ?’भन्नुभयो ।

स्थायी समितिको अनौपचारिक बैठकपछि नेम्वाङले कूटनीतिक हिसाबले ‘अदालतको निर्णयप्रति हाम्रो सहमति छैन तर अदालतको फैसलालाई स्वीकारेर त्यसलाई कार्यान्वयन गर्छौं’ भन्नुभएकै हो । प्रधानमन्त्रीको योजना र भनाईबाट पार्टीको इमेज बिग्रने सम्भावना बढेपछि उहाँले तत्काल मिडियामा त्यो विषय जानकारी गराउनुभएको उहाँनिकट श्रोतले जनआस्थालाई बतायो ।

त्यसअघि अध्यक्ष ओलीको इच्छाबमोजिम हलमा बैठक शुरु भयो । त्यसबीच नेता भीम रावलले आफू कार्यदलको प्रतिवेदन बुझाउन आएको तर यो बैठकमा भाग लिएको होइन है भनिकन उठेरै प्रतिवेदन बुझाउनुभयो । रावल त्यहाँ हुँदाहुँदै ओलीले एमालेका २३ जनाले गर्दा आज यस्तो भयो,उस्तो भयो भनेर चर्को असन्तुष्टि पोख्नुभयो जबकि शीतल निवासलाई दिइएको निवेदन र अदालतमा हालिएको रिटमा स्वयम रावलको समेत हस्ताक्षर छ । त्यसका बावजुद पार्टी एकतामा लागिरहँदा पनि उहाँलाई खेद्ने क्रम रोकिएको छैन,बरु बढेको छ ।

त्यसबेला अध्यक्षले २३ जनालाई देखाउँदै ‘अपमानजनक’ शब्द प्रयोग गर्दा पनि रावलले संयमता अपनाउनुभएको एक जना स्थायी समिति सदस्यले बताउनुभएको छ । उहाँले ‘रावलले कुनै प्रतिक्रिया नजनाएको कारण अवस्था सोचेभन्दा सहज बनेको,’उल्लेख गर्नुभयो । बरु रावलले त्यस अवसरमा अध्यक्ष ओलीलाई प्रतिवदेन बुझाउँदै ‘यो सहमतिको दस्तावेज हो,पहिले तपाईंहरू (नेपाल र ओली) नबसी कुनै पनि कमिटीको बैठक नगर्नुस्’ भन्दै त्यहाँबाट बाहिरिनुभएको थियो ।

टिप्पणीहरू