पार्टी मिलाउन खोज्दैछौँ,साथीहरुको फोन उठ्दैन-एमाले नेता किरण गुरुङ

पार्टी मिलाउन खोज्दैछौँ,साथीहरुको फोन उठ्दैन-एमाले नेता किरण गुरुङ

गण्डकी प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला मन्त्री किरण गुरुङले एमाले मिल्नुको विकल्प नभएको बताउनुभएको छ । पार्टी विभाजनको तीतो अनुभव ०५४ सालमै भोगिसकेकाले नेतृत्व र कार्यकर्ताको चाहना एकताबाहेक अरु हुनै नसक्ने उहाँको ठहर छ ।

व्यक्तिगत रुपमा आफूसमेत त्यसको लागि सकेको योगदान गर्न काठमाडौं आएको बताउँदै शनिबार जनआस्थासँगको कुराकानीमा एमाले स्थायी समिति सदस्य गुरुङले भन्नुभयो,‘शुक्रबार दिनभर नेताहरूलाई फोन गर्दैमा दिन गयो । कसैले उठाउनुभएन । कसैसँग भेट पनि भएन ।’

‘अहिले एमालेलाई एकताबद्ध हुनबाट जोगाउन सकिएन भने मुलुकबाट कम्युनिष्ट आन्दोलन नै समाप्त हुन्छ ।’

पार्टीमा गठित कार्यदलको कुरोबारे विस्तृत थाहा हुन नसकेको गुरुङको भनाई छ । विवादमा सँधै एकपक्षको मात्र कुरा सुन्न हुँदैन भन्ने मान्यताले साथीहरुको कुरो उहाँहरुकै मुखबाट थाहा पाउन धेरै जनासँग भेट्ने कोशिस गरेको तर शुक्रवार र शनिवार सफल नभएको उहाँले बताउनुभयो ।

यसबीच एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गर्नुभएको एकता आह्वानको वक्तव्य र सम्बन्धित पक्षको प्रतिक्रियाबारे आफूलाई खासै धेरै जानकारी नभएको उहाँको भनाई छ । गुरुङ भन्नुहुन्छ ‘कसले एकता चाहेको हो,कसले नचाहेको भन्ने केही थाहा छैन । अधिकांश स्थायी समिति सदस्यहरू नै रनभुल्ल भएको अवस्था छ ।’

एकताको निम्ति भन्दै पटक पटक नेताहरु वार्तामा बस्नुभएको छ । तर वार्तामा बसे पनि समस्या समाधानको टुंगो नलागेकाले एक पटक वरिष्ठ नेता माधव नेपाल निकट भनिएका नेताहरूसँग भेटेर कुरोको चुरो जान्न आफूले पनि खोजेको उहाँले प्रष्ट पार्नुभयो । त्यसको निम्ति तीन दिनदेखि फोन कन्ट्याक्टमा व्यस्त भएपनि काम नबनेको उहाँको दुःखेसो छ ।

बाबुराम भट्टराई,अशोक राई,राजेन्द्र श्रेष्ठहरूले जसरी कम्युनिष्ट आन्दोलन त्यागेर अन्यत्रको भूमिकामा लाग्नुभएको छ,भोलिका दिनमा एमालेभित्र पनि नयाँ पुस्तासँगै त्यो प्रवृत्ति नबढ्ला भन्न सकिन्न ।

शुक्रवार र शनिवार कसैसँग भेट नभएको र फोन तथा म्यासेजबाट समेत सम्पर्क नभएपछि उहाँले भन्नुभयो ‘खै किन हो साथीहरुले फोन उठाउनुहुन्न । म्यासेजको जवाफ पनि दिनुहुन्न । सुरेन्द्र पाण्डेको लाग्दै लागेन । गोकर्ण बिष्टसँग भने हेल्लोसम्म भयो तर उहाँले पछि रिप्लाइ गर्नुभएन । कसैसँग कुरा हुन सकेको छैन ।’

अनौपचारिक वा औपचारिक भेटघाटमा यसअघि दुबै पक्ष मिल्न हुँदैन भनेर कसैले पनि नभनेको उहाँको अनुभव छ । तर मिल्ने के हो र कसरी मिल्ने भन्नेबारे सबै आफ्नै तालमा देखिनुलाई गुरुङले अनौठो मान्नुभएको छ । यसअघि एमालेको केन्द्रीय समिति र सबै पार्टी संगठन २०७५ जेठ २ को अवस्थामा फर्कने कुरो भएपछि एकता अघि बढ्ने आशा सबैमा पलाएको उहाँको बुझाई छ ।

तर जेठ २ को त्यति सहमति भएपछि त्यहि क्रममा पार्टी एकता हुँदा थपिएका अन्य पार्टीका नेताहरूलाई कसरी समायोजन गर्ने र पछिल्ला दिनमा थपिएका एमालेभित्रैका नेताहरूलाई कसरी मिलाउने भन्नेबारे केहीबेर छलफल गर्दा निश्कर्ष निस्कनेमा उहाँ ढुक्क देखिनुभएको छ ।

उहाँ भन्नुहुन्छ ‘त्यसो हुँदा सबै पुरानै कमरेड मात्र राख्ने भनिएको होइन होला । जेठ २ मा फर्किंदा कतिपयलाई आफ्नो पोजिशन के हुने भन्ने कुराले पनि घर गरेको हुनसक्छ । त्यसले पनि उक्त मार्गमा केही अप्ठेरो पो बनाएको हो कि !’

पार्टी संगठनभित्र देखिने उतारचढावको बेलामा कोही आफ्नो पोजिशन तल झर्ने चिन्तामा हुने र कोही यही मेसोमा फुत्त माथि उक्लने बहाना खोज्ने भएकाले त्यसले पनि समस्या समाधानमा भन्दा उल्झनमा सहयोगीको भूमिका निभाउनसक्ने उहाँ बताउनुहुन्छ । गुरुङ अगाडि भन्नुहुन्छ ‘सबै कुरा मान्छेपिच्छे फरक हुन्छ,सबैसँग कुरा गरेपछि मिलाउन सकिन्छ भन्ने विश्वास लिएको छु ।’

उहाँले अहिलेको विवादलाई पार्टीभित्रको सैध्दान्तिक तथा वैचारिक विचलन नभएको रुपमा लिनुभएको छ । कम्युनिष्ट आन्दोलन टुक्रिन्छ,भाँड्नुपर्छ भन्नेमा कोही पनि नरहेको उहाँले देख्दै आउनुभएको छ । अहिलेको विवादलाई मिलाएर जान सकिने विश्वास सबैले लिएका छन् । उहाँ भन्नुहुन्छ ‘अलिकति हठ र अलिकति पेलानको बारेमा सम्बन्धित पक्षले बुझिदिने हो भने समस्या समाधान भइहाल्छ ।’

कम्युनिष्ट पार्टीका नेताहरुबीच रिसाएर चुर भएको बेलामा आरोप-प्रत्यारोप लगाउने अन्तर्राष्ट्रिय मान्यता नै हो । त्यसको प्रभाव हाम्रोमा पनि यसपटक राम्रैसँग परेको उहाँको बुझाई छ । एमालेभित्रको पछिल्लो विवादसँगै पार्टी अहिले जुन ठाउँमा आइपुगेको छ,अब ठण्डा भएर सोच्नुपर्ने बेला आएको उल्लेख गर्दै गुरुङले भन्नुभयो ‘अहिले एमालेलाई एकताबद्ध हुनबाट जोगाउन सकिएन भने मुलुकबाट कम्युनिष्ट आन्दोलन नै समाप्त हुन्छ ।’

अन्य क्षेत्रमा झैँ राजनीति र कम्युनिष्ट पार्टीमा लागेका नयाँ पिँढीलाई पनि नेपाली कम्युनिष्ट आन्दोलनको त्यो बेलाको कठिन घडीबारे धेरै जानकारी छैन । हिजो पञ्चायती निरंकुशता र राजाको शासनविरुध्द लड्दै भूमिगत भएका नेताहरूको शेषपछि कम्युनिष्ट आन्दोलन पनि सकिने डर र चिन्ता बढेको छ । उमेरको हिसाबले पहिलो पुस्ताका सबैजसो नेता बूढो भइसक्नुभएको छ ।

तेस्रो पुस्तालाई कम्युनिष्ट आन्दोलनको चुरो कुरो थाहा हुन छाडेको छ । दोस्रो पुस्तासम्म जेनतेन बिँडो थामिने आश छ । यसबीच बाबुराम भट्टराई,अशोक राई,राजेन्द्र श्रेष्ठहरूले जसरी कम्युनिष्ट आन्दोलन त्यागेर अन्यत्रको भूमिकामा लाग्नुभएको छ,भोलिका दिनमा एमालेभित्र पनि नयाँ पुस्तासँगै त्यो प्रवृत्ति नबढ्ला भन्न सकिन्न । त्यसैले अहिले एमालेको पहिलो पुस्ताका नेताहरुले सबैलाई मिलाएर संगठनलाई अघि नबढाउने हो भने भोलिको भविश्य उहाँले झन् डरलाग्दो देख्नुभएको छ ।

नेतृत्वले परिस्थितिलाई आत्मसात् गर्दै अलिकति त्यागको भावना देखाउनैपर्ने अवस्था आएको उहाँको ठहर छ । पार्टीभित्रका दुबै पक्षको स्पष्ट धारणा आएमा समस्या समाधान र त्यसको सहजताको लागि केही गर्न सकिन्थ्यो भन्ने ठूलो पार्टीपंक्ति देखिएको छ । त्यसको लागि पनि दुबै पक्षले खुल्ला हृदयले कुरा राख्नुपर्ने नेता गुरुङ बताउनुहुन्छ । ‘वरिष्ठ नेताको कुरो के हो र अध्यक्षको कुरो के हो बसेर छलफल गरौं न’,उहाँ भन्नुहुन्छ ।

पार्टी र नेतृत्वको बारेमा उहाँको धारणा यस्तो छ ‘अहिले पार्टीभित्र नेता भनेको अध्यक्ष ओली,वरिष्ठ नेता नेपाल र खनाल तथा वामदेव गौतम हुनुहुन्छ । अरु त्यो तहमा स्थापित हुनुभएको छैन । दोस्रो तहका नेताहरूले आफूलाई स्थापित गर्न अझै मेहनत गर्नुपर्ने अवस्था देखिँदैछ । त्यसैले चार जना नेता मिल्नुको फेरि पनि विकल्प छैन ।’

पछिल्लो र भावी राजनीतिक अवस्थाको आँकलन गर्दै गुरुङले प्रतिनिधिसभा पुनर्स्थापना भए पनि नेतृत्व मिल्न पर्यो,चुनाव भए पनि मिल्न पर्यो भन्नुभएको छ । हालको व्यवस्थाविरुद्ध प्रतिगमनले टाउको उठाउन खोजेमा पनि मिल्नुपर्ने र सबै मिलेर जानुमा मुलुक,जनता, एमाले र कार्यकर्ताको भलो रहेको उहाँको ठहर छ ।

टिप्पणीहरू