विश्व प्रेस काउन्सिलको ३२ औं स्थापना दिवस सम्पन्न
आज विश्व प्रेस काउन्सिलको ३२ औँ स्थापना दिवस मनाइएको छ । दिवसको अवसरमा भर्चुअल बैठक आयोजना गरिएको थियो ।
प्रोफेसर डा.सुले अकरको अध्यक्षतामा सम्पन्न बैठकमा प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेत र म्यान्मारका नवनियुक्त अध्यक्ष डा.म्यो थान्तलाई पनि स्वागत गरिएको थियो ।
कार्यक्रमलाई विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष Aflatun Amashov (अजरबैजान प्रेस काउन्सिल) र महासचिव किशोर श्रेष्ठ (छापामाध्यम राष्ट्रिय सञ्जाल, नेपाल) लगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै महासचिव श्रेष्ठले भौतिक रूपमा बैठक बस्न नसकिए पनि विश्वव्यापी रूपमा पत्रकारितामा देखिएका चुनौति समाधान गर्न काउन्सिल सक्रिय रहने बताउनुभयो । भर्चुअल बैठकबाट पनि विश्व प्रेस काउन्सिलले स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान गरेको भन्दै उहाँले बैठकमा सहभागीलाई आभार व्यक्त गर्नुभयो ।
बैठकमा विश्व प्रेस काउन्सिलका अध्यक्ष डा.अकरले प्रेस स्वतन्त्रता मानवअधिकारसँग समेत जोडिएको हुँदा यसको रक्षार्थ आफूहरू सधैँ क्रियाशील रहने बताउनुभयो । उहाँले जिम्मेवार पत्रकारिताका लागि सदस्य राष्ट्रका काउन्सिलसँग समन्वय गर्ने प्रतिबध्दता जनाउनुभयो ।
विश्व प्रेस काउन्सिलका अन्तर्राष्ट्रिय संयोजक सिके नायक (भारत) ले सहजीकरण गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष प्रा. डा. Tamar Atabarut (Turkish Press Council)ले धन्यवाद मन्तव्य दिनुभएको थियो । विश्व प्रेस काउन्सिलको स्थापना सन् १९८९ मा भएको हो ।
आजको बैठकमा केन्या,तान्जानिया,अफगानिस्तान,भूटान,श्रीलँका,भारत,इराक,म्यासेडोनिया,कोसोभो,साइप्रसलगायत विभिन्न देशको सहभागिता थियो ।
टिप्पणीहरू