पानीमा डुबेर दुईको मृत्यु

पानीमा डुबेर दुईको मृत्यु

कैलाली र पश्चिम नवलपरासीमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–९ रामनगर टोलका शिवराज बिष्टको छोरा डेढ बर्षीय अनमोल बिष्टको पानी जमेको खाल्डोमा डुबेर सोमबार बिहान मृत्यु भएको हो ।

आफ्नै घर अगाडि पानी जमेको खाल्डोमा डुबेर अशक्त भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२ तिलौलीका टोपनारायण राय चौधरीका छोरा ८ वर्षीय विकास राय चौधरीको माछा पोखरीमा डुबेर सोमबार बिहान मृत्यु भएको छ ।

साथीहरुसँग खेल्ने क्रममा घरदेखि करिब १ सय मिटर टाढाको उक्त पोखरीमा खसेर डुब्दा अशक्त भएका उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।
ब्राउनसुगर सहित २ जना पक्राउ

कैलालीमा ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । भजनी नगरपालिका–५ दुधुवाफाँटाबाट ५ ग्राम ब्राउनसुगरसहित उनीहरु सोमबार बिहान पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा स्थानीय गौनियाका २८ वर्षीय गणेश कोली र रजवाराका ३२ वर्षीय मनोज मल्ल रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको से.७ प ८६४७ नम्बरको स्कुटरलाई इलाका प्रहरी कार्यालय सूर्यपुरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित स्कुटर चालक कोली र स्कुटरमा सवार मल्ललाई पक्राउ गरेको हो ।

आज ३ शव फेला

काठमाडौं, कैलाली र कास्कीमा गरी आज तीन वटा शव फेला परेका छन् । काठमाडौं महानगरपालिका–१९, मरुस्थित डेरा गरी बस्ने धनकुटा सहिदभूमि गाउँपालिका–७ का ३८ वर्षीय सुरेन राई आफ्नै कोठामा सुतिरहेको अवस्थामा सोमबार मृत फेला परेका छन् ।

यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–११ बेलाका ५३ वर्षीया कन्थीदेवी कठायत शिवशक्ति सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । आइतबार घरबाट हिँडेकी उनको खोजी गर्ने क्रममा वनमा शव फेला परेको हो ।

उता कास्कीको पोखरा महानगरपालिका–२३ स्थित तगारोमा डेरा गरी बस्ने चितवनका ३५ वर्षीय श्री विक वाम्दी हर्पन खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

टिप्पणीहरू