इश्वरको हातबाट हृदयेश
आफ्ना जनता जोगाउन अहिले २४ सै घण्टा अलर्ट रहनुपर्ने हो मन्त्रिपरिषद् । तर हामीकहाँ मिनी क्याबिनेटझैं छ संकट व्यवस्थापन सञ्चालन केन्द्र अर्थात सिसीएमसी,उसले तीन दिनअघि निर्णय गरी क्याबिनेटमा पठाएर बल्ल निर्णय हुँदा कोभिड रोकथाम तथा नियन्त्रण प्रभावकारी बन्न नसकेको गुनासो मात्र व्याप्त छैन सीसीएमसीको खारेजीकै माग उठिरहेकै बेला अक्सिजन वितवरण प्रभावकारी गर्न नसकेर हात उठाएपछि बल्ल त्यो अधिकार स्वास्थ्य मन्त्रालयको हातमा आइपुगेको छ ।
अहिले अधिकांश अस्पतालहरुमा अक्सिजन नपाएर बिरामीहरुले अकालमै ज्यान गुमाइरहेका छन् । अक्सिजन वितरण गर्ने जिम्मा सीसीएमसीले गर्दै आएको थियो।
उसले कोटा प्रणालीअनुसार अक्सिजन वितरण थाल्यो । उपत्यकामा मात्र रहेका ११ वटा अस्पतालले अक्सिजन अभावको कारण देखाउँदै संक्रमितको उपचार गर्न नसकिने बताइरहेका छन् ।
सीसीएमसीको संयोजक छन् ईश्वर पोखरेल । जहाँ गृहमन्त्री रामबहादुर थापा बादलदेखि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी,अर्थमन्त्री विष्णु पौडेलसम्म सदस्य छन् । सीसीमएमसीले अक्सिजन वितरण प्रभावकारी ढंगले गर्न नसकेपछि उसले हात उठाएको हो ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार विहिबारदेखि नै अक्सिजन प्रवन्ध गर्ने अधिकार उसले स्वास्थ्य मन्त्रालयलाई नै दिएको छ ।
मन्त्रालयले २४ सै घण्टा अक्सिजन आपूर्ति सहजिकरणका लागि मोबाइल हटलाइन नम्बर उपलब्ध गराएको छ ।
आजै मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले सहज तरिकाले अक्सिजन लिनका लागि दुईवटा नम्बर दिएको छ । अस्पताललाई मोबाइल हटलाईन नम्बर ९८५१३१०५८१ र ९८५१३१०५८४ को व्यवस्था गरेको स्वास्थ्य मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ ।
यस अघि अक्सिजन व्यवस्थापनका लागि भन्दै सीसीएमसीले कार्यदल बनाएको थियो । कार्यदलको संयोजकमा उद्योगका सह सचिव प्रेम कुमार श्रेष्ठ,गृह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव, नेपाली सेनाका वीरेन्द्र अस्पताल छाउनी, सशस्त्र प्रहरी बल अस्पताल र नेपाल प्रहरी अस्पतालका एक–एक जना चिकित्सक थिए । सीसीएमसीका सचिवालयका अनुसार अक्सिजन वितवरणको जिम्मा पुगेपछि सो कार्यदल खारेज भएको छ ।
सीसीएमसीले अक्सिजनमा कोटा प्रणाली तोकेपछि अधिकांश अस्पताल मालिकहरु रुष्ट बनेका थिए ।
टिप्पणीहरू