नाम केपी ओलीको,ठेगाना अन्तैको

नाम केपी ओलीको,ठेगाना अन्तैको

बैशाख ९ गतेदेखि थापाथलीबाट केन्द्रीय कार्यालय सन्चालन गर्दै आएको देशको सबैभन्दा ठूलो पार्टी एमालेले आफ्ना अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम,दस्तखतसहित यसअघि केन्द्रीय कार्यालय रहेको धुम्बाराहीको ठेगानाबाट वक्तव्य जारी गरेको छ ।

आज सामाजिक सञ्जालहरुमा छ्याप्छ्याप्ती बनाइएको उक्त वक्तव्यमा ‘भ्रम फैलाइजस्तो र हल्ला चलाएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गर्दैन । म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ,पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान् कार्यमा सरिक हुन सबैमा आग्रह गर्दछु’ भनिएको छ ।

त्यसैगरी वक्तव्यमा ‘कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार,असन्तुष्टि र ईर्श्या छन् । यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनु हुँदैन’ भनिएको छ ।

पार्टी कार्यालयको नम्बर,पोस्ट बक्स,ठेगाना पहिलेकै लेखिएको उक्त बिज्ञप्तीको आधिकारिकतावारे बुझ्न खोज्दा केन्द्रीय कार्यालय सचिव तथा सिन्धुपाल्चोकबाट निर्वाचित माननीय शेरबहादुर तामाङ्गले नयाँ लेटरप्याड बनाउने ढिलाइले पुरानै नम्बर पर्न गएको र बिज्ञप्ती नक्कली नभएको बताउनुभयो ।

प्रधानमन्त्रीको भनाईसँग दुरुस्त मेल खाने गरी एक ठाउँमा लेखिएको छ ‘कुनैपनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखा परेका छन् । यी प्रवृत्ति कुनै पनि हिसाबले उपयुक्त होइनन् र यी हानिकारक छन् ।’

टिप्पणीहरू