ताप्लेजुङका जनता कोरोना फैलिएर त्राहिमाम
-कमल भट्टराई
ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङ बजारमा बैशाख १० गतेसम्म कोरोना भाइरसको कुनै आशंका थिएन । अचानक त्यसदिन फुङलिङ नगरपालिका काँग्रेस नगर समिति सभापति शिवकुमार गुरुङको बिएण्डसी विर्तामोडमा मृत्यु भयो ।
त्यसपछि कोरोना परीक्षण शुरु भयो । पहिलो लटमा २० जना संक्रमित देखिए । बैशाख १८ गते २४ घण्टाभित्र २ जनाको ज्यान गयो,१९ गते १ जना बिते,ज्यान जानेमा फुङ्लिङ ४ तोक्मे क्षेत्रका कपडा व्यापारी प्रेम हाङगाम लिम्बू हुन् तर उनको परीक्षण नै नगरिएका कारण कोरोना हो भन्न नपाए पनि सबै लक्षण कोरोनाको भएको स्वास्थ्य प्राविधिकहरुको भनाइ छ ।
उनलाई उपचारको लागि झापातर्फ लैजाने क्रममा मेची राजमार्गको दोखु क्षेत्रमा पुग्दा निधन भएको थियो । उनको दाहसंस्कार कोरोनाको मापदण्डअनुसार स्थानीयहरुले गरेका थिए ।
ताप्लेजुङमा अचानक कोरोनाबाट ४ जनाको मृत्यु भएको अवस्थामा चेकजाँच तीब्र बनाउन खोजियो । पहिलो लटको परीक्षणबाट २० जनामा संक्रमण देखियो भने दोस्रो लटको रिपोर्ट बैशाख २२ गते आउँदा ३२ जना थपिए । २३ गते ५८ जनाको परीक्षण जाँच गर्दा ४८ जनामा कोरोना देखिएको छ ।
२२ र २३ गतेका परिणाम हेर्दा ताप्लेजुङमा कोरोना संक्रमित अत्यन्तै बढिरहेको छ । २२ गते आएको रिपोर्टमा १८१ जनामा ३२ जना र २३ को रिपोटमा ५८ जनामा ४८ जना संक्रमित देखिएपछि जम्मा २३९ जनामा ८० जना संक्रमित भएका छन् । स्वाब लिएर विराट्नगर पठाई रिपोर्ट आउन ३,४ दिन लाग्ने भएका कारण २० गतेसम्मको यो तथ्याङ्क मान्ने हो भने १० दिनमा मात्र ताप्लेजुङ बजारमा कोरोना संक्रमणले भयावह रुप लिएको देखिन्छ ।
यता स्वास्थ्य सेवाको लागि जिल्लामा भरपर्दो सेवा नभएका कारण यहाँका बिरामीहरु झापा, मोरङ र सुनसरी जानुपर्ने बाध्यता छ । यही क्रममा कोरोना फैलदै गएमा कैयौं मानिसले आर्थिक अभावका कारण औषधी र अक्सिजनसम्म नपाएर अकालमै ज्यान गुमाउने अवस्था आउन सक्ने आँकलन स्थानीयहरुले गर्न थालेका छन् ।
टिप्पणीहरू