चिह्नले मात्रै जितिन्छ र चुनाव !

चिह्नले मात्रै जितिन्छ र चुनाव !

भनिन्छ नि, सूर्य चिह्न जता– एमालेहरु त्यता ! तर, इतिहासलाई हेर्दा चिह्नले मात्रै सबथोक नहुने रहेछ ।

चुनाव चिह्नले मात्रै जितिने भए ०६४ मा किन एमाले तेस्रो पार्टीका रुपमा खुम्चियो ? त्यसबेला पनि ऊ सूर्य चिह्न लिएरै चुनावमा गएको हो । अनि, कहिल्यै चुनावमा भाग नलिएको माओवादीको गोलाकारभित्र हँसिया–हथौडाले किन सर्वाधिक सिट हासिल गर्‍यो ? त्यसैले चुनावमा कस्तो राजनीतिबाट जाने भन्ने कुराले परिणामलाई निर्भर गर्छ तर एमालेहरुका लागि एउटा अकाट्य सत्य के हो भने, आउने चुनावमा उनीहरु एक्लाएक्लै गए भने साफ हुन्छन् । माओवादीको त झन् कुरै भएन । किनभने, ०७४ को चुनाव पनि मोर्चाबन्दीमा गएर एमाले र माओवादी केन्द्रले त्यत्तिका सीट जितेका हुन् । नत्र न एमाले, न माओवादी यो संख्यामा आउने थिएनन् । त्यसमा पनि वाम गठबन्धनको उम्मेद्वार हुँदा दुई हजारभन्दा कम भोटले जितेका झण्डै २० जना छन् । उनीहरुले आफ्नो लोकप्रियताले मात्र हैन, गठबन्धनको बलमा जितेका हुन् । ०५४ मा एमाले फुट्दा संसद्मा पुग्न नसके पनि मालेको तारा चिह्नले ६ लाख मत पाएकै हो । यस्तो स्थितिमा अहिले प्रधानमन्त्रीले भन्नुभएजस्तो १९ महिनापछि दुई तिहाई ल्याएर सिंहदबार छिर्ने कुरा कसरी सम्भव हुन्छ ?

केपी ओलीलाई प्रचण्ड–माधवहरुले पाँचै वर्ष प्रधानमन्त्री चलाउन भनेकै हुन् । अध्यक्षबाट राजीनामा दिँदा र माधवलाई अध्यक्ष बनाउँदा उहाँको केही जाने थिएन । मन्त्री, विभिन्न संवैधानिक र राजनीतिक नियुक्तिहरुमा पार्टीभित्र छलफल चलाइदिएको भए पनि केही बिग्रने थिएन । बरु, माधव र प्रचण्डबीच प्रकारान्तरमा मतभेद हुन्थ्यो र आज केपीले भन्ने गर्नुभएजस्तो एमालेहरुको एक किसिमको मोर्चाबन्दी सम्भव हुन्थ्यो ।

हिजो माधव नेपाल प्रधानमन्त्री हुनुहुँदा पार्टीका तीन गुटबाट दुई–दुई जनाका दरले मन्त्री बनाइएको हो, स्थायी कमिटीको बैठकबाट नाम अनुमोदन गरेर । झलनाथको तर्फबाट सुरेन्द्र पाण्डे अर्थमन्त्री हुनुहुन्थ्यो, माधवको तर्फबाट भीम रावल गृहमन्त्री र रविन्द्र श्रेष्ठ सामान्य प्रशासनमन्त्री र रकम चेम्जोङ शान्तिमन्त्रि हुनुभयो भने केपीको तर्फबाट शंकर पोखरेल सञ्चार मन्त्री र विद्या भण्डारी रक्षामन्त्री बनाइनुभयो । झलनाथ खनाल प्रधानमन्त्री हुनुभयो । त्यो कार्यकालमा पनि भरतमोहन अधिकारी (अर्थ), गंगालाल तुलाधर (शिक्षा) र विष्णु पौडेल (रक्षा) मा यसरी नै मन्त्री छानिनुभयो । तर, अहिले सबै कुरा मनलाग्दी हुँदा पार्टी नै सकिने स्थितिमा पुगेको छ । भर्खरैको निर्णय हेरौँ, राष्ट्रबैंकको डेपुटी गभर्नरमा नियुक्त बमकुमार मिश्र र डा.नीलम ढुंगाना तिम्सिना एकदमै जुनियर, त्यसमा पनि झापाली हुनुको विशेष फाइदा ।

टिप्पणीहरू