सेनामा उजुरीको सिलसिला

सेनामा उजुरीको सिलसिला

संविधान विपरित आफूलाई धर्म र संस्कृतिविरुद्धको कार्यमा मिस्सिन बाध्य बनाउँदै सैन्य सेवाबाट हटाइएको आरोपसहित नेपाली सेनाका एक जना प्युठले नम्बर ४,बाहिनी अड्डा, नेपालगञ्जका तत्कालीन सहायक बाहिनीपतिलाई संविधानबमोजिम कारबाहीको लागि राष्ट्रिय मानवअधिकार आयोगमा उजुर हालेका छन् ।

तीन वर्षअघि आयोगको क्षेत्रीय कार्यालय, नेपालगञ्जमा हालिएको निवेदनमा सहायक बाहिनीपति रामचन्द्र केसीलगायतका सैनिक अधिकृतहरूले मुस्लिम समुदायको प्युठमाथि धामिक र सांस्कृतिक परम्पराविपरित मेसमा सुंगुर र बंगुरको मासु खान बाध्य पारेको,२६ दिनसम्म मेसमा खान नपाएको,डर,धाक र त्रास देखाएको,मानहानीको मुद्दामा दुई वर्ष जेल हालिदिने धम्कीसहित लगातार मानसिक यातना दिएको प्युठ मोहम्मद जाबिर खानले उल्लेख गरेका छन् ।

मुस्लिम समुदायको सैनिकलाई सुंगुर र बंगुरको मासु खान बाध्य नपारियोस् भन्दै जाबिरले गरेको आग्रहलाई सबैभन्दा पहिले केसी र सुवेदार मेजर कर्णबहादुर रानाले बेवास्ता गरिदिएको उनको दावी छ । पटक पटक अनुरोध गर्दा उल्टै केसीले आफूलाई सैन्य सेवाबाट हटाइदिने धम्कीका साथै मानसिक यातना दिएपछि बाध्य भएर २०७४ कात्तिक ८ गते राजिनामा लेखेको उनले बताएका छन् । तर, श्रीमतीको आग्रहमा राजिनामा स्वीकृत नगरिदिन पुनः आफूले अर्को निवेदन हालेपछि जागिरले निरन्तरता पाएको समेत जाबिरको निवेदनमा उल्लेख छ ।

त्यसपछि कर्तव्यपालनाका साथ सैन्य सेवामा कार्यरत रहेकै बखत उनलाई सोही वर्ष माघ २३ गते मध्यपश्चिम पृतनाले सोधपुछको लागि बोलाएको देखिन्छ । त्यहि दिन स्पष्टीकरण दिन पृतना पुगेका मुस्लिम समुदायका प्युठले भोलिपल्ट सहायक पृतनापति तथा सहायक रथी विज्ञानदेव पाण्डेलाई केसीले गरेका दुर्ब्यवहारबारे लिखित अवगत गराएका थिए । पाण्डेको सकारात्मक आश्वासनका साथ राति ८ बजे आफ्नो अड्डा फर्केर काममा सामेल पनि भए ।

जागिर थमौति भएर काममा रहेकै बखत फागुन २० गते उनलाई सामूहिक तालिममा सहभागी हुन कौशिलानगर पठाइयो । तालिममा रहेकै बखत जाहिरलाई फागुन ३० गते आफ्नो बाहिनी अड्डाबाट प्राप्त खबर भन्दै साथमा रहेको हतियार तत्काल बुझाउन लगाई ४ नं. बाहिनी अड्डा, नेपालगञ्ज पठाइएको थियो । अड्डा पुगेपछि सेनानी भीमसेन ढुंगानाले राजीनामा स्वीकृत भएको जानकारी गराउँदै अपमानित तवरले आफूलाई त्यहाँबाट पठाएको जाबिरले आयोगलाई लेखेको उजुरीमा उल्लेख छ । त्यसक्रममा केसीका सहयोगीहरू जमदार धनराज कार्की,सुवेदार सुरेन्द्र जोशी र सुुवेदार मनबहादुर सुनारले समेत मानसिक यातना दिएको उनले बताएका छन् ।

ती सबै घटनाक्रम उल्लेख गरेर आफूले संवैधानिक अधिकार तथा मानव अधिकारको प्रत्याभूतिका लागि २०७४ चैत ५ गते सेनाको प्राड विभाग,भद्रकालीमा लिखित निवेदन पेश गरेको,प्रधान सेनापति कार्यालयमा पुग्ने गरी चैत ७ गते हुलाकमार्फत् लिखित निवेदन पेश गरे पनि आजसम्म उचित सुनुवाई नभएको बताइएको छ ।

उनले प्रतिशोधको मनसायले रोक्का राखिएको आफ्नो राजिनामा स्वीकृत गरिएको, संवैधानिक अधिकार खोसिएको उल्लेख गर्दै निवेदनमा भनेका छन् ‘मानवअधिकार हननसम्बन्धी कसुर गर्ने अन्यायी रामचन्द्र केसीलाई नेपालको संविधान एवम् प्रचलित ऐन, नियम र कानुनबमोजिम उचित र प्रभावकारी कारबाही गरी मलाई साबिककै नोकरीमा बहाली हुने वातावरण मिलाइ पाउँ ।’

टिप्पणीहरू