प्रहरीको रहस्यमय मरण

प्रहरीको रहस्यमय मरण

गत साता मंगलबार दिउँसो ललितपुरको लेले नजिकै खत्री गाउँमा भएको सवारी दुर्घटनामा बर्दिया घर भएका प्रहरी जवान रवि सुनारको मरण थप रहस्यमय बनेको छ । निजी गाडी चढेर गएका फर्सिडोल महानगरीय प्रहरी प्रभागका इञ्चार्ज सई दिनेश मैनालीसहित तीन जना घाइते घाइते छन् ।

बा २च ५९४९ नम्बरको निजी पजेरोमा माछा खान भन्दै मैनाली र २८ वर्षे सुुनारसँगै अन्य तीन जना त्यता गएका थिए । गाडी रञ्जित लामाले चलाएका थिए भने अन्य दुई जनामा सिञ्जाली मगर र आशिष लामा पनि सँगै थिए । अहिले चालक लामाको पनि बीएण्डबी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

“शरीरबाट रगत चुहिरहँदा पनि रविलाई नजिकैको सुरभी अस्पतालमा नलगी निकै टाढाको ग्वार्कोस्थित बीएण्डबी अस्पताल लगिएपछि घटना रहस्यमय भएको हो । “

स्रोतका अनुसार गैंडाको खाग तस्करी र कारोबारमा संलग्न प्रहरी र कारोबारीबारे जानकारी भएकाले जवान रविलाई सुईंकाइएको भन्नेहरु पनि निस्केका छन् । त्यस दिन ती जवानलाई सम्झाउँदै माछा खान भनेर त्यता लगिएको तथ्य खुल्न थालेको छ । लेलेमा पिसाब फेर्ने ठाउँमा पुर्याएपछि आफैँ चढेर गएको मोटरले पछाडिबाट हिर्काएको बताइन्छ ।
घाइते अवस्थामा रहेका जवानलाई नजिकैको अस्पताल नलगी धेरै बेरपछि मात्र बीएण्डबी अस्पताल,ग्वार्को ल्याइएको थियो । स्थानीयले पनि मारिने प्रहरी राम्रो मान्छे भएको बताउनुले घटनालाई रहस्यमय बनाएको हो । उनीहरु भन्छन् ‘गैंडाको खाग तस्करीसँगको कारोबार र सम्पर्क च्यानल थाहा पाएपछि उसलाई सिध्याइएको हुनसक्छ ।’

तर,गाडीमा गएका सईले माछा खान भनेर गएको निजी गाडी उकालोमा चढ्न नसकेपछि ब्याक भएर पल्टिँदा दुर्घटना भएको बताएका छन् । स्थानीयका अनुसार शरीरबाट रगत चुहिरहँदा पनि रविलाई नजिकैको सुरभी अस्पतालमा नलगी निकै टाढाको ग्वार्कोस्थित बीएण्डबी अस्पताल लगिएपछि घटना रहस्यमय भएको हो । स्थानीयले घटना ढाकछोपको सम्भावना बढ्दै गएको बताएका छन् । तर उपत्यका प्रहरीले डीआईजी उमेश रञ्जितकारको नेतृत्वमा छानबिन गरिरहेको जनाएको छ ।

ललितपुरको फर्सिडोल फास्ट्रयाकस्थित उक्त प्रहरी चौकी त्यस क्षेत्रमा रहेका अवैध क्रसरहरुको पनि तारो बन्दै आएको थियो । त्यसक्षेत्रमा ठूलाबडाका छोरा र गोदावरी नगरपालिका–८ का वडाध्यक्षको समेत धेरैवटा क्रसर उद्योग छन् । मृतक प्रहरीलाई राम्रो मान्छे भएको भन्दै यसअघि सरुवा भएर जाँदा पनि वडा अध्यक्षकै पहलमा त्यहाँ फर्काइएको बताइन्छ । मृतक स्थानीय काँग्रेस नेता इन्द्र लामाको घरमा डेरा बस्थे भने त्यसदिन इन्द्रकै भतिजोले पजेरो चलाएका थिए ।

टिप्पणीहरू