कान्तिपुर बसेको घरमा नयाँ काण्ड

कान्तिपुर बसेको घरमा नयाँ काण्ड

थापाथलीस्थित आलिशान बिजनेश पार्कको भवन गुठीको जग्गामा ठड्याइएको रहस्य बाहिरिएको छ । अहिले त्यहि भवनमा मुलुककै अग्रणी दाबी गर्ने कान्तिपुर मिडिया ग्रुप,चर्चित कानुन व्यवसायी वरिष्ठ अधिवक्ता शम्भु थापा तथा ग्याँस नेता शिव घिमिरेहरूका कार्यालय छन् ।

भवनमा देखिने गरी एकथरिको लगानी भए पनि नदेखिने गरी धेरैजनाको सम्लग्नता रहेको बताइन्छ । बालुवाटारस्थित ललिता निवासको जग्गा अतिक्रमणझैँ थापाथलीको सिंह महलसँग जोडिएको उक्त जग्गा १ सय २८ वर्ष पुरानो शिलालेखमा लक्ष्मीनारायणको मन्दिर र सोको गुठी रहेको उल्लेख थियो । तर, २०२० मंसिर ५ गते बिहीबारका दिन पर्सा मालपोत कार्यालयमा गरिएको किर्ते पारितको लिखत र ढड्डामा चारैतिर पर्खालले घेरिएको फूलबारी उल्लेख गरिएको छ ।

त्यहि जग्गामा केही वर्षअघिदेखि आलिशान बिजनेश पार्क ठड्याइएको हो । किर्ते गरेर झण्डै पचास वर्षअघि नै व्यक्तिको बनाइएको भनिएको उक्त जग्गामा अहिले बिजनेश हाउस ठड्याइएको छ भने वरिष्ठ अधिवक्ता थापासहित पेट्रोलियम पदार्थ र ग्याँसका ठूला डिलर शिव घिमिरेको कार्यालय अर्को तलामा छ । काठमाडौं महानगरपालिका–११ स्थित सिट नम्बर १०२–११४५–१८ कित्ता नम्बर–४७ को क्षेत्रफल ३ रोपनी ६ आना ३ पैसा २ दामको लक्ष्मीनारायण गुठीको जग्गा किर्ते गरेर पर्सा मालपोतबाट लिएका गोपाल श्रेष्ठको निधनपछि उनकी श्रीमती इन्दिरा श्रेष्ठ र जयपाल श्रेष्ठको संयुक्त नाममा कित्ता नम्बर ५५ मा नामसारी भएको देखिन्छ । तर, उक्त मन्दिरमा गुठी संस्थानका पुजारीले नित्य पूजाआजा गरेको अभिलेखसमेत संस्थानमा रहेको स्रोतको दाबी छ । ती सबै प्रमाण हुँदाहुँदै पनि आजभन्दा झण्डै ५७ वर्षअघि अनाधिकृत तवरले गुठीको जग्गा अन्यत्र जिल्लाको मालपोतबाट रजिष्ट्रेशन पास गरेको रहस्य गुठीका जग्गा खोज्ने क्रममा खुलेको हो ।

भूमिसुधार मन्त्रालयबाट बनाइएको सरकारी टोलीको छानबिन प्रतिवेदनमा लक्ष्मीनारायण मन्दिरको गुठीको जग्गा व्यक्तिले हत्याएको सप्रमाण उल्लेख गर्दै गुठी संस्थानले बदर गर्नुपर्ने सिफारिश गरिएको छ । प्रतिवेदनमा भनिएको छ ‘उक्त विवादको निरूपण गर्न नेपाल सरकारबाट गुठी संस्थानलाई निर्देशन हुनुपर्ने र अनाधिकृत रूपमा व्यक्तिको नाममा गुठीको जग्गा पारित गर्ने मालपोत कार्यालय,पर्साका राष्ट्रसेवक कर्मचारीहरू र जमिनको स्वामित्व ग्रहण गर्ने व्यक्तिउपर भ्रष्टाचारतर्फ अख्तियारप्राप्त निकायबाट कारबाही अघि बढाउन नेपाल सरकारसमक्ष देहायबमोजिमको सुझाव छ ।’

प्रतिवेदनमा किटानीसाथ गुठीको लागतको जग्गालाई व्यक्तिको नामबाट बदर गरी गुठीकै नाममा कायम गर्न नेपाल सरकारबाट संस्थानलाई निर्देशन हुनुपर्ने भनिएको छ । त्यसैगरी, गुठीको जग्गा व्यक्तिको नाममा किर्ते गर्नेहरूउपर भ्रष्टाचारको कसुरतर्फ थप अनुसन्धान हुन अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा लेखी पठाउनसमेत सरकारलाई सुझाव दिइएको छ । सँगैको नेपाल राष्ट्र बैंकको सिंह महलले चर्चेको जग्गाको चार किल्ला र संँधियारको सोधखोजबाट समेत उक्त जग्गा गुठीकै रहेको प्रमाणित भएको स्रोतले बताएको छ ।

हाल बिजनेश पार्कको मूलद्वार तथा पश्चिमतर्फको थुम्कोमा कुमारी मन्दिर छ । व्यक्तिले बिजनेश पार्क ठड्याउने क्रममा तीनतिर कुमारी थानको जमिनसमेत अतिक्रमण भएको स्थानीयले बताएका छन् । त्यहि भवन बनाउने क्रममा राष्ट्र बैंकको निकाश बन्द गरिदिएपछि सिंह महलको आकर्षक बगैँचा डेढ दशकदेखि डुबानमा परेर शताब्दी अघि रोपिएका कतिपय रुख सबै मरेका थिए ।

टिप्पणीहरू