पत्रकारिताको भर्चुअल तालिम

पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस ईन्ष्टिच्युटले दुई महिने पत्रकारिता तालिम शुरु गरेको छ ।
सोमवारदेखि शुक्रबारसम्म हप्तामा पाँच दिन अनलाईनमार्फत् तालिम दिइने छ । तालिम सोमबारदेखि शुरु भएको हो ।

आयोजकका अनुसार पत्रकारिता तथा आमसञ्चार, समाचार तथा फिचर लेखन, इन डेप्थ तथा खोज पत्रकारिता, पत्रकारितामा भाषा, रेडियो तथा टेलिभिजन पत्रकारिता, अनलाईन पत्रकारिता, पत्रकार आचारसंहितालगायत सात वटा विधामा तालिम सञ्चालन भइरहेको छ ।

तालिममा विभिन्न जिल्लाका झण्डै सात दर्जनभन्दा बढी प्रशिक्षार्थीहरूले भाग लिइरहेका छन् । गुगल मिट एप्लिकेशन मार्फत बिहान साढे सात बजेदेखि साढे नौ बजेसम्म सञ्चालन हुने प्रशिक्षणमा कर्णाली क्षेत्रका सक्रिय पत्रकारहरूको बाक्लो उपस्थिति रहेको छ ।

पहिलो दिन प्रेस इन्ष्टिच्युटका संयोजक कपिल काफ्लेले तालिम दिएका थिए । सो क्रममा काफ्लेले काउन्सिलले हाल शुरु गरेको प्रशिक्षण ३६औँ चरणको भएको जानकारी दिए ।

तालिमको उद्घाटन गर्दै प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिता विकासका लागि प्रेस काउन्सिल सँधै क्रियाशील रहने भन्दै तालिम फलदायी हुनेमा विश्वास व्यक्त गरेका थिए ।

टिप्पणीहरू