ओलीको क्षेत्रमा प्रचण्डको भेला

मोरङको सुन्दर दुलारीमा ओली पक्षको युवा भेला भएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमकमा नेकपाका अध्यक्ष प्रचण्ड–नेपाल समूहले विद्यार्थी भेला गरेर त्यसको जवाफ दिएको छ ।

भेलामा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, नेकपा केन्द्रीय सदस्य महेश रेग्मी, भाष्कर काफ्ले, शिवकुमार मण्डल, अनेरास्ववियुका केन्द्रीय सहसंयोजक रञ्जित तामाङ, पूर्वकेन्द्रीय सचिव वसिम आलम, अनेरास्ववियुका केन्द्रीय सदस्य सुदेश पराजुलीलगायतले बोलेका थिए ।

राजनीतिक रूपमा ओली पक्षकै बहुमत रहेको प्रदेश १ मा एकले अर्को पक्षलाई काउन्टर दिने राजनीतिक कार्यक्रम आयोजना हुन थालेका छन् । यस कुराले अबको अवस्था झन् जटिल हुने अनुमान गर्न सकिन्छ । पहिले ओली पक्षले कार्यक्रम गर्ने र त्यसलगत्तै प्रचण्ड–नेपाल पक्षले काउन्टर दिने गरी कार्यक्रम गरेका हुन् । पार्टीको गुट मात्र नभएर भ्रातृ संगठनका भेलाको असर पनि क्रमशः गाउँदेखि शहरमा देखिन थालेको छ । हालै प्रधानमन्त्री केपी ओली आफैं सहभागी भई केहीअघि प्रदेश १ मा भएको गुटको भर्चुअल भेलालगत्तै प्रचण्ड–नेपाल समूहले इटहरीमा भौतिक उपस्थितिसहितको राजनीतिक कार्यक्रम आयोजना गरेको हो ।

त्यसबेला पूर्वमन्त्री तथा हालका संघीय सांसद शिवकुमार मण्डलको प्रमुख आतिथ्यमा प्रचण्ड–नेपाल निकट नेता–कार्यकर्ता सहभागी छलफल कार्यक्रम स्थायी कमिटी र सचिवालय बैठकमा नेतालाई एकताको लागि दबाब दिन आयोजना गरिएको भनियो ।

यसअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीपक्षीय विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले विराटनगर आएर आफूपक्षीय भेला राखेका थिए । त्यो कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको पनि सहभागिता थियो । सोमबार विराटनगरमा अध्यक्ष तथा प्रधानमन्त्री ओली समूहनिकट विद्यार्थीको भेला सम्पन्न भयो ।

पूर्वका धेरै जिल्लामा मदन भण्डारी फाउण्डेसनका जिल्ला समिति लामै समयदेखि क्रियाशील छन् । त्यस संस्थामार्फत गुटगत गतिविधि भइरहेको समयमा प्रतिवाद हुने गरी झापामा हालै पुष्पलाल मित्रता केन्द्र निर्माण भएको छ । नेकपा जिल्ला सदस्य मणि भण्डारीको संयोजकत्वमा यो समिति गठन गरेर प्रचण्ड–नेपाल समूहको गतिविधि भइरहेको छ । भण्डारी दमककै बासिन्दा हुन् ।

टिप्पणीहरू