ग्लोबल बैंकका डेढ सयबढी शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल बैंकका डेढ सयबढी शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल आइएमई बैंक लिमिटेडका एक सय ६९ वटा शाखा कार्यालयले एकसाथ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका छन् । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका वर्गलाई लक्षित गर्दै सञ्चालन गरेको साक्षरता कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

बैंकले सातै प्रदेशमा आयोजना गरेको कार्यक्रममा २० हजार जनाभन्दा बढीले सहभागिता जनाएका छन् । कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्राषक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको बैंकले जनाएको छ ।

जसअनुसार कोशीमा दुई हजार पाँच सय, मधेशमा दुई हजार, बागमतीमा पाँच हजार, गण्डकीमा चार हजार पाँच सय, लुम्बिनीमा तीन हजार पाँच सय, कर्णालीमा पाँच सय र सुदूरपश्चिममा दुई हजार पाँच सय जना सहभागी भएका थिए । 

बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मा देशभर रहेका आफ्ना तीन सय ५४ शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस्ता कार्यक्रमबाट आम नागरिकलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी तथा सचेत गराइएको बैंकको भनाइ छ ।

ग्लोबल आइएमई बैंक मुलुकभर शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । यसको देशभर ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीन वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एघार सयभन्दा बढी सेवा केन्द्र छन् ।

बैंकले विभिन्न सेवासुविधासहितका योजनामार्फत् आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । यस्तै, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुक र क्षेत्रबाट रेमिट्यान्स भित्र्याएर मुलुकको अर्थ व्यवस्थामा समेत महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।

टिप्पणीहरू