प्रधानमन्त्री र माधव नेपालवीच किन हुँदैछ लगातार भेट ?

प्रधानमन्त्री र माधव नेपालवीच किन हुँदैछ लगातार भेट ?

जनता समाजवादी पार्टी (जसपा) नेपालको विभाजन र त्यसपछि विकसित राजनीतिक परिस्थितिमा नेकपा एकीकृत समाजवादीको सरकारमा निरन्तरताबारे अनेक चर्चा चलिरहँदा सो पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अस्तिदेखि दिनहुँ भेटवार्ता गरिरहेका छन् । 

अध्यक्ष माधवकुमार नेपालसहित सो पार्टीबाट सरकारमा सामेल दुई मन्त्री र सांसदहरुले आज अपरान्ह पनि सिंहदरबारमा प्रधानमन्त्रीसँग भेट जारी राखेका छन् । दिउँसो ३ बजेदेखि साढे ४ बजेसम्म चलेको डेढ घण्टा लामो भेटवार्तामा अध्यक्ष नेपाल,उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री तथा सांसद प्रकाश ज्वाला, शेरबहादुर कुँवर,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जैसी,शहरी विकासमन्त्री धनबहादुर बूढा,अर्का सांसद मेटमणि चौधरी र जयन्तीदेवी राई सहभागी थिए । 

जसपा फुटेपछि संसदको अंकगणित फेरिएको छ भने एकीकृत समाजवादी र उपेन्द्र नेतृत्वको जसपाले सरकारमा निर्णायक हैसियत गुमाएका छन् । यी दुई दलबाहेक पनि बहुमत पुग्ने नयाँ परिस्थिति उत्पन्न भएको छ । यो स्थितिमा नेकपा एसका नेताहरुले लगातार प्रधानमन्त्रीसँग भेटघाट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हिजो पनि अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग संक्षिप्त भेट गर्नुभएको थियो ।

आफू प्रधानमन्त्री हुने योजनाका साथ माधवले उपेन्द्रसमेतको समर्थनमा काँग्रेससँग वैकल्पिक गठबन्धन बनाउन खोजेको र त्यही पृष्ठभूमिमा जसपा फुटेको एमालेजनले दाबी गरिरहेका छन् । सोही कारण एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्ड ती दुई दललाई सरकारबाट हटाउने तयारीमा रहेको चर्चासमेत चलाइएको छ ।  

विशेष सूचना स्रोतका अनुसार एमाले अध्यक्षले उपेन्द्र र समाजवादीका मन्त्रीहरुलाई तत्काल हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको सूचना कोटेश्वर पुगेपछि यस्तो दौडधुप बढेको हो । एकीकृत समाजवादीको टोलीसँग भेटवार्ता सकेलगत्तै आज क्याबिनेट बैठक बसेको थियो । उक्त बैठकमा उपेन्द्र सहभागी नहुनुले पनि भित्रभित्रै केही पाकिरहेको स्रोतको दाबीमा ‘दम’ रहेको आकलन गर्न सकिन्छ ।

झट्ट हेर्दा अहिले सबैभन्दा ‘कम्फर्ट जोन’ मा प्रधानमन्त्री प्रचण्ड देखिनुहुन्छ । तर, प्रधानमन्त्री हुनुलाई मात्रै राजनीतिक सफलता नठान्ने हो भने सबैभन्दा असुरक्षित पनि उहाँ नै हुनुहुन्छ । ओलीले प्रतिनिधिसभा विघटन गरेयता निरन्तर साथ दिएका माधव र उपेन्द्र चिढिँदा राजनीतिक रुपले माओवादीलाई घाटा हुनसक्छ । 

यद्यपि समाजवादीका एक नेताले भने प्रधानमन्त्रीसँगको भेटमा सरकार छोड्नेबारे कुनै चर्चा नभएको बताएका छन् । सुदूरपश्चिम सरकारबारे आफूहरुले चासो राखेको र मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाउनेमा प्रधानमन्त्रीले आश्वस्त पारेकाले आशंका गर्नुपर्ने कारण नरहेको ती नेताले जनआस्थासँगलाई बताए । 

‘विश्वासको मत नदिने भए पनि प्रष्ट भन्नुस्’,नेकपा एसका नेताहरुको सोधनीमा ‘समय अझै बाँकी छ,हतार नगर्नुस्, विश्वासको मत दिने हो,’ एमाले अध्यक्षको सन्देश प्रधानमन्त्रीले सुनाउनुभएको थियो । एकीकृत समाजवादी र उपेन्द्र पक्षलाई सत्ता समीकरणबाट आफैँ निस्कन बाध्य पार्ने एमाले अध्यक्षको रणनीतिअन्तर्गत प्रधानमन्त्री अघि बढिरहेको अनुमान गर्ने नेताहरु भन्छन्, ‘कुरा सकारात्मक नै छ,तर ढुक्क छैनौँ !’

सरकारलाई दिएको समर्थन कायमै राखेका यी दुई दलको भने आफैँ नबाहिरिने रणनीति छ । प्रधानमन्त्रीले मन्त्रीहरुलाई बर्खास्त गरे त्यसले अर्कै सन्देश दिने भएकाले उनीहरुले त्यस्तो रणनीति अपनाएका हुन् । 

यता,कोशी प्रदेशमा एमाले र माओवादीले मिलेर आज साँझ सरकार बनाउँदा चार सिट रहेको एकीकृत समाजवादीलाई बाहिरै राखिएको छ । मधेसमा जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्र र एमालेका नेताहरु आन्तरिक छलफलमा रहेको खबर आइरहेको छ । विकसित पछिल्ला सबै घटनाक्रमले पनि एमाले अध्यक्षको रणनीतिअनुसार प्रधानमन्त्री अघि बढिरहेको आशंकालाई बल पुर्याएको छ । 

भनिन्छ,कमजोर गणित लिएर सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्डको काँधमा राजनीतिक हतियार राखेर ओलीले काँग्रेस, एकीकृत समाजवादी र जसपातिर एकैचोटी पड्काउन खोजेका छन् । विश्लेषकहरु भन्छन्,जसपा र एकीकृत समाजवादीलाई फुटाएर त्यहाँबाट बाहिरिने शक्तिलाई आफूमा बिलय गर्ने र संसदको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा सत्तामा उक्लिने एमाले अध्यक्षको रणनीति छ । अहिले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल काँग्रेसको ८९ र एमालेको ७८ सिट छ । जसपाबाट फुटेर बनेको नयाँ दलका सात सांसद मिसिँदा एमाले ८५ सिटसहित काँग्रेसको हाराहारीमा पुग्छ । पहिलो दल बन्न आवश्यक थप ५ सिटका लागि एकीकृत समाजवादी फुटाउने प्रयास भैरहेको दाबी पनि सूचना स्रोतको छ । 

त्यसका लागि पूर्वमन्त्री प्रेम आले र किसान श्रेष्ठहरु अहिले पनि बालकोटको सम्पर्कमा रहेको प्रचार गरिएको छ । जसपा विभाजनकै वरपर उनीहरुले ओलीसँग भेटेको सूचना पाएका एकीकृत समाजवादीका एक शीर्ष नेताले आफ्नो दल विभाजन हुनसक्ने खतरालाई घुमाउरो पाराले स्वीकार गरेका छन् ।    

बालकोटको उक्त रणनीति सफल भए काँग्रेस,एकीकृत समाजवादी र जसपामात्र होइन, कालान्तरमा प्रचण्डको समेत राजनीति असुरक्षित हुने देखिन्छ । किनभने एमाले संसद्को सबैभन्दा ठूलो पार्टी बनेपछि ओलीलाई प्रचण्ड बोकिरहने बाध्यता नरहन सक्छ । त्यस्तो स्थितिमा ‘लार्जेस्ट’ पार्टीको नेताका हैसियतमा ओली आफैँ धारा ७६ को उपधारा ३ अन्तर्गत प्रधानमन्त्री बन्ने वैधानिक बाटो खुल्छ । अन्यथा,चुनावलगत्तै ‘मिसन–८४’ का नाममा अर्को चुनावको तयारीमा रहेको एमालेले मध्यावधिको प्रयास गर्ने सम्भावना पनि उत्तिकै छ । एमाले नेतृत्वले सुझबुझका साथ चालिरहेको यस्तो कदममा प्रधानमन्त्री प्रचण्ड भने जानि–नजानी फसेको भन्दै माओवादी केन्द्रकै कतिपय नेताले चिन्ता व्यक्त गरेका छन् ।

झट्ट हेर्दा अहिले सबैभन्दा ‘कम्फर्ट जोन’ मा प्रधानमन्त्री प्रचण्ड देखिनुहुन्छ । तर,प्रधानमन्त्री हुनुलाई मात्रै राजनीतिक सफलता नठान्ने हो भने सबैभन्दा असुरक्षित पनि उहाँ नै हुनुहुन्छ । ओलीले प्रतिनिधिसभा विघटन गरेयता निरन्तर साथ दिएका माधव र उपेन्द्र चिढिँदा राजनीतिकरुपले माओवादीलाई घाटा हुनसक्छ । 

अर्कोतिर वाह्य शक्ति केन्द्रको चासो र सत्ता साझेदार सबैभन्दा ठूलो दलका नेताको रणनीतिक चालबाजीले जुनसुकै बेला सरकारबाट बाहिरिनुपर्ने स्थिति छँदैछ । यसले अन्ततः प्रचण्ड र सिङ्गै माओवादी पार्टीलाई कमजोर बनाउने एकथरीको विश्लेषण छ ।


 

टिप्पणीहरू