धनुषामा निर्वाचन लक्षित अनुगमन तीव्र
जिल्ला प्रहरी कार्यालय,धनुषाले निर्वाचन लक्षित अनुगमनलाई तीव्रता दिएको छ । कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवर आफैं अनुगमनमा खटिएका छन् । माघ २ गतेदेखि निरीक्षण शुरु गरिएको उनले बताए ।
जिल्लाभित्रका सबै प्रहरी युनिटमा अनुगमन गरिने जानकारी पनि दिए । जनआस्थासँग भने,‘निर्वाचन नजिकिँदै छ । यहाँ चार वटा निर्वाचन क्षेत्र छ । माघ २ गतेदेखि निर्वाचन कार्यालय स्थापना भएको छ । मुलुकको अवस्था के छ ? सुरक्षाको अवस्था के छ ? सुरक्षाकर्मीको भनाइ के छ ? यही बुझ्नका लागि प्रहरी युनिटहरुको अनुगमन गरिएको हो ।’
एसपी कुँवरका अनुसार सुरक्षा निकाय, जिल्ला सुरक्षा समिति,राजनीतिक दललगायतसँग निरन्तर छलफल पनि भइरहेको छ । आज पनि बैठक बस्ने उनको भनाइ छ । अगाडि थपे,‘निर्वाचनलाई निष्पक्ष,भयरहित बनाउन सरोकारवाला निकाय सबै लागिपरेका छौं । अनुगमनसँगै हामी छलफल पनि गरिरहेका छौं । आज पनि बैठक बस्दैछौं ।’
यता, सीमानाकाको अनुगमनलाई पनि तीव्रता दिइएको छ । फागुन २१ गतेको निर्वाचनका लागि धनुषामा चार हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिँदैछ । जसमध्ये चार हजार दुई सय प्रहरी र ३२७ सशस्त्र प्रहरी बल, नेपालतर्फको हो । प्रहरीमा ६ हजार आठ सयभन्दा बढी आवेदन परेको एसपी कुँवरले बताए ।
त्यसैगरी,सशस्त्रतर्फ तीन सय आवेदन परेको छ । भोलिदेखि भर्ना प्रक्रिया शुरु हुनेछ ।
टिप्पणीहरू