नेपाली काँग्रेसको एकता अपिल र आगामी रणनीति

नेपाली काँग्रेसको एकता अपिल र आगामी रणनीति

नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समिति बैठकले पार्टी एकताको पक्षमा उभिन देशभरका नेता–कार्यकर्तालाई अपिल गरेको छ । सभापति गगन थापाको अध्यक्षतामा बसेको बैठकले एकता र सद्भाव कायम गर्दै पार्टीलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित देशभर अपिल गर्ने निर्णय गरेको छ । 

प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै औपचारिक रूपमा आभार व्यक्त गर्ने निर्णयसमेत गरेको छ। उनले भने, ‘हामीले उहाँको अभिभावकीय भूमिका आगामी दिनमा पनि निरन्तर रहने विश्वास गरेका छौँ। यो बैठकले उहाँको योगदानको सम्मान गरेको छ। उहाँलगायत अन्य अग्रज नेताहरूले पनि पार्टीलाई अझ बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गरेका छौँ।’

नेपाली कांग्रेसको यो निर्णय पछिल्लो नेतृत्व परिवर्तनपछि देखिएका आन्तरिक असन्तुलन र गुटगत चर्काचर्कीलाई न्यून तुल्याउने प्रयासका रूपमा भएको हो । विशेषगरी निवर्तमान सभापति देउवाको योगदानलाई औपचारिक रूपमा सम्मान गर्नु र उहाँको ‘अभिभावकीय भूमिका’ निरन्तर रहने सन्देश दिनु पार्टीभित्रको शक्ति सन्तुलन कायम राख्ने रणनीति भएको स्वतः अनुमान गर्न सकिन्छ । 

पार्टी एकताको अपिल केवल भावनात्मक वक्तव्यमा सीमित नरही व्यवहारमा कार्यान्वयन हुनुपर्ने चुनौती कांग्रेससामु छ। विगतका अनुभवले पनि टिकट वितरण, नेतृत्व चयन र निर्णय प्रक्रियामा काँग्रेसभित्र विवाद दोहोरिने गरेका छन् । त्यसैले संसदीय बोर्डको तत्काल बैठक बोलाउने निर्णय गरिएको छ ।

टिप्पणीहरू