उदीयमान रासायनिक इन्जिनियरले छाडिन् अमेरिका,रोजिन् चीन

उदीयमान रासायनिक इन्जिनियरले छाडिन् अमेरिका,रोजिन् चीन

अमेरिकाको विश्वप्रख्यात म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा कार्यरत उदीयमान रासायनिक इन्जिनियर चङ युले चीन रोजेकी छन् । बोस्टनको एआइटीबाट फर्केकी उनले राजधानी बेइजिङस्थित विश्वप्रख्यात पेकिङ विश्वविद्यालयको कलेज अफ केमिस्ट्री एण्ड मोलिकुलर इन्जिनियरिङमा सहायक प्राध्यापकको रूपमा जिम्मेवारी सम्हालेकी हुन् ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार अमेरिकामा उनी वेयरेबल र इम्प्लान्टेबल इलेक्ट्रोनिक उपकरणहरू, स्वास्थ्य निगरानीका लागि स्मार्ट ब्याण्डेज विकसित तुल्याउने अनुसन्धानमा केन्द्रित थिइन् ।

अमेरिकाबाट किन चीन फर्किरहेका छन् वैज्ञानिकहरू?

अमेरिकालगायत विभिन्न विकसित मुलुकमा लामो समय अध्ययन र अनुसन्धान गरेपछि चङ जस्ता धेरै युवा वैज्ञानिकहरू हाल चीन फर्किरहेका छन्। यसको पछाडि केही प्रमुख कारण रहेको बताइन्छ ।

अत्याधुनिक लगानी र सुविधा : 

चीनले नयाँ प्रविधि, बायोटेक र विज्ञानका विभिन्न क्षेत्रमा ठूलो लगानी गरिरहेको छ । प्रायः विश्वविद्यालय र सरकारी अनुसन्धान केन्द्रले प्रयोगशालाका लागि अत्याधुनिक उपकरण र पर्याप्त अनुसन्धान अनुदान उपलब्ध गराइरहेको अवस्था छ ।

उच्च अनुसन्धान अवसर र करियर प्रोत्साहन :

चिनियाँ विश्वविद्यालयहरूले युवा वैज्ञानिकहरूलाई सहायक प्राध्यापकको पद, आफ्नै ल्याब खोल्ने अवसर र प्रतिस्पर्धात्मक तलब÷अनुदानको सुविधा दिएका छन् ।

मातृभूमिमा योगदानको भावना :

धेरै युवा वैज्ञानिकहरू आफ्नो देशको वैज्ञानिक क्षमतामा योगदान दिन इच्छुक देखिन्छन्। चीनले उनीहरूलाई घरेलु अनुसन्धान परियोजनामा नेतृत्वको असंख्य अवसर प्रदान गरेको छ ।

अमेरिकामा अनेक झमेला :

पछिल्ला वर्षहरूमा अमेरिका–चीन सम्बन्ध एक हदसम्म तनावपूर्ण रहेको छ । भिसा प्रणाली कडा बनाइएको, अन्य प्रशासनिक झमेला थपिएका कारण चिनियाँ झैँ अन्य विदेशी अनुसन्धानकर्ता पनि अमेरिकाबाट चीन फर्कन बाध्य वा आकर्षित भएका हुन् ।

विशेषज्ञहरु भन्छन् :

अमेरिकामा प्रशिक्षित धेरै युवा वैज्ञानिकहरुमा चीन फर्केर आफ्नै देशका लागि योगदान दिने भावना बिस्तारै बढेको पाइन्छ । यसले चीनको वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनलाई अझ सशक्त बनाउने निश्चित छ ।

पेकिङ विश्वविद्यालयले पनि हालै यस्तो रणनीति लागू गरेको छ । जसअन्तर्गत विदेशमा तालिम प्राप्त विशेषज्ञहरूलाई आकर्षित गर्ने योजना सञ्चालनमा ल्याएको छ । चङ यू उक्त योजनाबाट आकर्षित पछिल्लो उदाहरण बनेकी छन् ।

टिप्पणीहरू