बारा एमालेमा उम्मेदवारभन्दा विजयी धेरै

बारा एमालेमा उम्मेदवारभन्दा विजयी धेरै

यो महिनाको अन्तिममा काठमाडौंमा हुन लागेको एमालेको ११ औं महाधिवेशन का निम्ति प्रतिनिधि छनौटमा रमाइला किस्सा जोडिएका छन् । कतै सहमति त कतै निर्वाचनको आवरणमा आफू अनुकूल प्रतिनिधि छानेको आरोप संस्थापन पक्षमाथि लागेको छ ।

सोही क्रममा बारामा भएको निर्वाचनमा उम्मेदवारी हालेकाभन्दा धेरै जना चुनिएको पाइएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवशेनमा अध्यक्ष पदमा ओलीलाई चुनौती दिने घोषणापछि प्रतिनिधि छनौटमा अनेकता देखिन थालेको छ ।  

क्षेत्र नम्बर २ मा गत शनिबार भएको प्रतिनिधि छनौटमा पहिले पाँच जनाले उम्मेदवारी हालेको सूचना प्रकाशित गरिएको थियो । निर्वाचन अधिकृतले खुलातर्फ कौशलकुमार सिंह,जलन्धर सिंह जैसवाल र भुलन चौधरी र युवातर्फ रंदिपकुमार चौधरी र लक्ष्मी यादव रहेको सूचना जारी गरेका थिए । 

तर,मतदानको परिणाम घोषणामा खुलातर्फ सिंह, जैसवाल र चौधरीबाहेक राजेशप्रसाद साह पनि विजयी भएको उल्लेख गरियो । जसमा उम्मेदवार नै नरहेका साहले ५३ मत पाए भनिएको छ ।  

बाराको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेको संगठित सदस्य संख्या एक हजार ३८३ रहेको र ६९८ जनाले निर्वाचनमा भाग लिएको लिँदा ७ मत बदर भएको थियो ।

टिप्पणीहरू