संगत प्रधानमन्त्रीको,लोभ गमलाको
सुरक्षा निकायको उपल्लो तहमा कार्यरत एकजना अधिकृतले भूपू भएर सरकारी निवासबाट भक्तपुर घर सर्दा त्यहाँ भएका काम लाग्ने सामान ओसारेको पाइएको छ । सरकारी क्वार्टरबाट त्यसरी लगिएको अफिसको फ्रिज र गमला भने पूर्व प्रमुख हुतराज थापाबाट अहिले फिर्ता ल्याइएको घटना राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) मा चर्चाको विषय बनेको छ ।
उता काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा कार्यरत अनुसन्धान विभागका एसपी दिपक खड्का विभागका कर्मचारीहरुमाझ हिजैदेखि चियागफको केन्द्र बनेका छन् ।
एमाले नेतृ सुनिता बरालसँगको निकटताका कारण उनी सोही च्यानलबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयसम्म पहुँच पुर्याउन सफल भएका थिए । ओली अघिल्लो पटक प्रधानमन्त्री छँदा खड्काले बालुवाटारमा रहेर काम गरे । त्यसपछि प्रधानमन्त्री ओलीको सचिवालयका धेरै जनासँग उनको सम्बन्ध एकाएक कसिलो बन्दै गयो ।

एसपी दिपक साँझ परेपछि प्रायः खानपिनमा रमाउने स्वभावका भएको विभागका कर्मचारीहरु बताउँछन् । उनको सोही बानीमा हुने धेरैको सहभागिताले पनि सबैतिर फड्को मार्न सहयोग पुगेको हुनुपर्छ ।
पहिले बारामा छँदा उठ्तीपुठ्तीमा संलग्न भएको आरोप लाग्यो । तर नक्कली शैक्षिक प्रमाणपत्रदेखि उठ्तीपुठ्तीका सबै आरोप तत्कालीन प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको साथ सहयोगका कारण पखालिन पुग्यो ।
मधेश प्रदेशका खड्का "लक्ष्मीपुर पतरी "नामक फेसबुक आइडीमा हिजो दुई घण्टाको अवधिमा सेयर गरेका फोटा र स्टाटसपछि थप चर्चामा आएका छन् । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका कुरा र फोटा सेयर गर्दै ‘अब सुशासनको सरकार’ भनेर लेखेका छन् ।
टिप्पणीहरू