रात्रिकालीन दोहोरीदेखि मदिरा र व्यापारको चर्चा
‘आफ्नो थैलीको मुख राम्ररी बाँधे त्यत्तिकै अरुलाई चोर दोष लाउनुपर्ला र ? दिन आफ्नो रात अर्काको भनिन्छ होइन ?’
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको चौथो दिन हिजो भरतपुरमा सामरी उत्थान सेवा, माइती नेपाल र होटल व्यवसायी संघ चितवनको आयोजना अनि जिल्ला प्रहरी कार्यालय चितवन, जिल्लास्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनको सहआयोजनामा सचेतना तथा अन्तरक्रियात्मक कार्यक्रम भएको थियो ।
सिएमटी होटलमा कार्यक्रमको अन्य औपचारिकतापछि अन्तरक्रियाका क्रममा कहिल्यै त्यसरी नबोल्ने एकजना पत्रकारले पालो माग्दै माइक समातेर यसै भनिदिए– ‘राति राति जाँडरक्सी खाने, खुवाउने अखडामा विभिन्न हाउभाउले पुरुष ग्राहकलाई उत्तेजित पार्ने अनि उनैलाई लैंगिक हिंसा भयो भनेर हुन्छ ?’ उनीहरुले लगाउने छोटा कपडादेखि, हाउभाउबारे कटाक्ष गरिएको थियो ।
महिलाहरुलाई सार्वजनिक यातायातहरुमा पनि लैगिक हिंसा हुने गरेको कुरा कार्यक्रममा उठाइएको थियो । ‘सार्वजनिक यातायातमा दिउँसो होस् या राति अगाडि क्याबिनमा बसेर यात्रा गर्नेदेखि अन्य विषय पनि उठाइयो । भरतपुरमा म्याजिकमा दिनदिनै यस्तै छ, पछाडि यात्रुतर्फसमेत ३–३ जनाको सिटमा चार–चार जना अनिवार्यजसरी र बीचमा २–३ वटा मुढा समेत राखेर यात्रु बसाउँदा महिलापुरुष सबै अचेटमचेट गरी एकअर्काको काखमै जसरी बसेर यात्रा गर्नुपर्ने स्थिति छ भने अगाडि चालकतर्फ पनि अर्काे एकजनामात्र अट्ने सिटमा दुई–दुईजना गएर ज्यादा बस्न हुर्रिने पनि महिलाहरु नै होइनन् ? यस्तोमा केही दिनअघि एउटी महिलाले चालकबारे उजुरी गर्दै ट्राफिक प्रहरीमार्फत् म्याजिक चालकलाई नारायणगढमा गोडा ढोगाएको हिजै बिहान अर्का म्याजिकचालक सुनाउँदै थिए ।
भरतपुर चितवनमा प्रायः जताततै म्याजिक, मिनीबस र अटोसमेत मिनेट–मिनेटमा नआउने होइन ? पैसा उठाउने कन्डन्टर र खलासीले युवती किशोरी र महिलालाई ढाड र गर्धनमा हातले समातेर हत्केला र औंलाले घचेट्दै गाडीतिर धकेल्ने प्रवृत्ति सामान्य बन्दै गएको देखिन्छ । कतै जाने मान्छेले आफू जाने गन्तव्यको बस लाग्ने ठाउँमा गएर आफैं सोधखोज गरी सवारी साधन रोजेर यात्रा गर्ने स्वतन्त्र स्थिति भन्दा पनि कतै नजाने वा बजार घुम्न सानो झोला बोकेर अन्य कामले हिँडेका बटुवाहरुलाई समेत यातायात क्षेत्रका बिचौलिया र दलालहरुले नारायणगढ पुचलोक, बसपार्क, चौबीसकोठी लगायत ठाउँका सडकमा कहाँ जाने कहाँ जाने भन्दै झ्याम्मिँदै गएर झोला समात्दै मान्छे नै तानेर गाडीभित्र हुल्ने प्रवृत्ति पनि यता धेरै देखिने भोगिने गरेको छ । प्रहरी प्रशासन गम्भीर भएर यसमा अत्यन्त कडाइ, निगरानी र कारबाही समेत गर्नुपर्ने अवस्था छ ।
अर्काेतर्फ, वयस्कहरु मनोरञ्जनको नाममा दोहोरीसाँझ, नाइट क्लबहरुमा नारीहरुलाई नै व्यापारको साधनझैँ प्रयोग गर्छन् । दोहोरी साँझहरुमा आधा रातसम्म रमाइलो चल्ने गरेको छ । दोहोरीमा निकै छिल्लिएका, उत्ताउला गीतहरु पनि गाएको सुनिन्छ । त्यहाँ जाने ग्राहक प्रायः पुरुष नै बढी हुन्छन्
हुनतः चितवनमै न्युरो टिपेर बेचेर पेट पाल्ने महिला पनि त धेरै छन् । होटलमै भाँडा माझेर वा खानेकुरै पकाएर पनि त पेट पाल्न सकिन्छ भन्नेहरु कति छन् कति । दोहोरी साँझका नाममा सञ्चालित व्यवसायहरुमा प्रायः छाडा गीतहरु नै बढी चल्नुलाई पनि विश्लेषण गर्नुपर्ने अवस्था छ ।
आधुनिक समाजमा कतिपय अवस्थामा महिलाको व्यवहार र कानुनले पनि अचेल धेरै पुरुषजन पीडा र अन्यायमा परेको पाइन्छ । लिभिङ टुगेदर अहिले ठूलो समस्या हुँदै गएको छ ।
मानव बेचविखनलगायत सबैभन्दा बढी विकृतिविसंगति होटल व्यसायमै हुने गरेको छ । जुवातास, जाँडरक्सी, होटल रेष्टुरेन्टमै धेरै फेला पर्छन् । ती होटलमा बालकहरुलाई समेत दुई छाक भात र केही सय, हजारमा काम लगाएर होटलहरुमा चर्काे श्रम शोषण पनि गरिँदै आएको भेटिन्छ ।
प्रहरीले बेलाबेलामा कतिपय होटल रेष्टुरेन्टमा छापा मारी होटल मालिक र विकृतजन्य कार्यमा संलग्नहरुलाई नियन्त्रणमा लिएर मुद्दा चलाउने गर्दै आएको पनि छ । तर के होटल व्यवसायी स्वयमको कुनै जिम्मेवारी हुँदैन ?
हिजो कार्यक्रममा चप्पल लाएका पत्रकार माइक समातेर बोल्दा तालीको गडगडाहट पनि सुनिएको थियो । आफू बोलेर उनी निस्कँदा एकजना प्रहरी कर्मचारी पछिपछि बाटोमै पुगेर आफ्नो प्रश्नको उत्तर पनि सुनेर जानू नि भन्दै फेरि भित्रै लगेका थिए । त्यो बेला भित्र एकजना दोहोरी साँझका सञ्चालक बोल्दै थिए । उनीहरुको कुरा सुन्दा सुन्दा थाकेर, कान पाकिसक्यो भन्दै ती पत्रकार फेरि नबसी हिँडिहाले ।
– अजय गोर्खाली
टिप्पणीहरू