देउवा निवासमा पाँच नेताको गोप्य बैठक

देउवा निवासमा पाँच नेताको गोप्य बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा देउवासँगै अहिले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाबीच गोप्य बैठक भएको छ । सभापति देउवाको पहलमा महाधिवेशनको विषयमा निकास निकाल्न गोप्य बैठक राखिएको बताइन्छ । 

शुरुमा खड्का, थापा र शर्मालाई मात्र डाकिए पनि देउवाले पछि आफूनिकट नेताद्वय निधि र सिटौलालाई पनि बोलाएका थिए। निधि र सिटौला दिउँसो नयाँ बानेश्वरस्थित आनन्दभूमि इभेन्ट्समा जारी संस्थापन पक्षीय नेताहरूको भेलामा थिए। भेलाबाट निस्केर उनीहरू देउवा निवास, महाराजगञ्ज पुगेका हुन्। 

कांग्रेस सभापति देउवाले बिहीबार पनि आफूनिकट पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूसँग महाधिवेशनको विवाद सुल्झाउन छलफल गरेका थिए। हिजै पूर्वपदाधिकारीसहितका नेताहरूसँगको छलफलपछि देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग छुट्टै छलफल गरेका थिए । तर छलफल कुनै टुंगोमा नपुगेको बताइन्छ । 

यता, सहमति खोज्न आज बोलाइएको केन्द्रीय समितिको बैठक पर्सिका लागि सारिएको छ। महाधिवेशन आगामी चुनावअघि कि पछि भन्ने विषयमा कांग्रेसभित्र मतभेद यथावत छ। संस्थापन र इतरपक्षका गुटगत भेलाबीच नेताहरूबीच सहमति जुटाउने प्रयास जारी छ ।

टिप्पणीहरू