सपना जलेको छैनः खातुन
- श्याम रिमाल
तेजाबपीडित मुस्कान खातुनले गालाको छाला जले पनि आफ्नो सपना नजलेको बताएकी छन् । नेपाली कम्युनिस्ट पार्टी तथा जसपा एकीकरण समूह, जनजागरण नेपाल एवं नेकपा (बहुमत) र नेकपा(माओवादी) विद्रोहबिच आज भएको पार्टी एकता घोषणासभामा उनले आफूजस्ता जेन्जीबिचको एकताले भ्रष्टाचार अन्त्य भई मुलुक प्रगतिमा जाने विश्वास व्यक्त गरिन् ।
सभामा नेकपाका सहसंयोजक माधवकुमार नेपालले खातुनले हिंसापीडित महिला, बालबालिकाका पक्षमा अभियान चलाउँदै गरेको र अन्तरराष्ट्रिय समर्थनसमेत प्राप्त गरेको जनाउँदै उनलाई पार्टी केन्द्रीय सदस्यमा मनोनयन गरिएको जानकारी दिए । एक युवकले पाँच वर्षअघि उनलाई वीरगन्जस्थित आफ्नो विद्यालय बिहान जाँदै गरेका अवस्थामा एकतर्फी प्रेम अस्वीकार गरेको रिसमा तेजाबले मुहारमा आक्रमण गरेको थियो र त्यसको प्रभाव अहिले पनि देख्न पाइन्छ ।
एक्काइस वर्षीया खातुनसहित मुमताज खान तथा टङ्क धामीलगायत १४ जना जेन्जी, नेकपा (एमाले) काठमाडौँ जिल्ला समिति सदस्य सानुरत्न पनि आजै नेकपामा प्रवेश गरे ।
संयोग कस्तो भने, कार्यक्रममा नेकपा नेत्री जयपुरी घर्तीले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने जयन्ती राईले स्वागत मन्तव्य दिएकी थिइन् । मञ्चको अग्रभागमा नेत्री पम्फा भुसालको सहभागिता थियो ।
तस्बिरहरू






टिप्पणीहरू