राजेन्द्र श्रेष्ठ नेकपामा मिसिनुअघि अशोक राईलाई अर्को झड्का
जेनजी आन्दोलनपछि राष्ट्रिय राजनीतिमा तीव्र ध्रुवीकरण भैरहँदा पार्टी परित्याग र प्रवेशको सिलसिला चलिरहेको छ ।
साना र क्षेत्रीय पार्टीहरू एक अर्कामा मर्ज हुनेदेखि पार्टी छोड्ने र नयाँ रोज्नेक्रम बढेको छ । यसैक्रममा अशोक राई नेतृत्वको जसपाका अर्का एक नेताले पार्टी छोडेका छन् ।
मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादवले जसपाबाट बाहिरिने घोषणा गरेका हुन् । उनले आज अध्यक्ष राईलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा पार्टीको साधारण सदस्यसमेत नरहने सम्पूर्ण जिम्मेवारी परित्याग गरेको उल्लेख छ ।
मुलुकको वर्तमान राजनीतिक अवस्थामा देश र मधेशको विकास तथा अधिकारको रक्षा मधेश केन्द्रित दलहरूबाट सम्भव नहुने उनको निष्कर्ष छ ।
'मधेशी जनाधिकार फोरम नेपालबाट राजनीति शुरु गरी हाल जनता समाजवादी पार्टीसम्म आउँदा सँधै अन्याय,अत्याचार, शोषण तथा विभेदविरुद्ध आवाज उठाउँदा कैयन पटक थुना, जेल र मुद्दा मामिलाहरू भोग्दै आफ्नो ज्यानको समेत पर्वाह नगरेको म अशोक कुमार यादव आजको मितिबाट सम्हाल्दै आएको पार्टीको जिम्मेवारी तथा पार्टीको साधारण सदस्यसमेतबाट राजीनामा दिएको छु', यादवले लेखेका छन् ।
केही समयअघि सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्र खड्कालाई फोनमा गालीगलौज गरेको विषयमा पक्राउ परेका उनी धरौटी तिरेर छुटेका थिए । यसलाई अन्याय, अत्याचार र भ्रष्टाचारको विरोध गर्दा राज्यले आफूविरुद्ध मुद्दा दायर गरेको यादवले दाबी गर्ने गरेका छन् ।
आजै राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपाको बिद्रोही समूह माओवादी केन्द्र र एकीकृत समाजवादीसहित १२ वटा वामपन्थी घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदैछ । अशोक राईले भने रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीसँग मिलेर यौटै चुनाव चिन्हमा निर्वाचन लड्ने निर्णय गरेका छन् ।
टिप्पणीहरू