पीएचडीमा गडबडी गर्नेलाई जागिर दिनेहरू अख्तियारको फन्दामा

पीएचडीमा गडबडी गर्नेलाई जागिर दिनेहरू अख्तियारको फन्दामा

त्रिभुवन विश्वविद्यालयका चार जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । विद्यावारिधि (पीएचडी) को नक्कली प्रमाणपत्रका आधारमा सहपरीक्षा नियन्त्रक नियुक्त गराएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । 

मुद्दा चलाइएकामा त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सहप्राध्यापक डिल्लीराम प्रसाईं, सहपरीक्षा नियन्त्रक छनोट समितिका संयोजक प्रा.डा.जयालक्ष्मी प्रधान, सदस्यहरु प्रा.डा.मोतिलाल शर्मा र प्रा.डा मेघराज पोखरेल छन् । 

त्रिवि रजिष्ट्रारको कार्यालयले एक वर्षअघि परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चलका लागि सहपरीक्षा नियन्त्रक पदको विज्ञापन निकालेको थियो । जसमा आधा दर्जनको आवेदन परेकोमा सहप्राध्यापक डिल्लीराम प्रसाईंले पनि दरखास्त दिएका थिए । 

अख्तियारका अनुसार प्रसाईंले आवेदन दिने बेला पीएचडी गरेको शैक्षिक प्रमाणपत्र पनि पेश गरेका थिए । र, त्यसबापत उनले अन्य प्रतिस्पर्धीको तुलनामा आठ अंक बढी पाएका थिए । सो अंकका कारण उनी मेरिट लिस्टको पहिलो नम्बरमा नाम निकाल्न सफल भए । 

तर, उजुरीपछि छानबिनका क्रममा प्रसाईंले पेश गरेका पीएचडी सर्टिफिकेट नक्कली भेटिएको अख्तियारको ठहर छ । अख्तियारका अनुसार उनले सहपरीक्षा नियन्त्रकमा नियुक्त भएपछि मात्र पीएचडीको उपाधि हासिल गरेको पाइएको छ । 

यसरी पदीय लाभका निम्ति योग्यता ढाँटेर नियुक्ति लिएको भन्दै अख्तियारले प्रसाईंविरुद्ध मुद्दा चलाएको हो । यो कार्यमा छनौट समितिका तीन जनाले सहयोग गरेको पाइएकोले उनीहरुविरुद्ध पनि मुद्दा दर्ता गरेको अख्तियारको भनाइ छ ।

टिप्पणीहरू